विकास र समृद्धिको विपक्षमा काम गर्ने समुहले कानुनबाट उन्मुक्ति पाउदैनन्

विकास र समृद्धिको विपक्षमा काम गर्ने समुहले कानुनबाट उन्मुक्ति पाउदैनन्

सुर्खेत-संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको विपक्षमा काम गर्ने कुनैपनि समुहले कानुनबाट उन्मुक्ति नपाउने बताएका छन्।

विभिन्न क्षेत्रमा भएका सिण्डिकेट, गुण्डागर्दी, तस्करीलगायतका अपराधिक गतिविधिले देश विकास हुन नसकेको भन्दै उनले सरकार सुशासन र पारदर्शी कार्यान्वनमा रहेको बताए।

३३ किलो सुन तस्करी गिरोहका मुख्य नाइके चुणामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उनले विकास र समृद्धिका विरुद्धमा काम गर्ने कोही÷कसैले पनि छुटकारा नपाउने बताए।

‘सबै क्षेत्रको सिण्डिकेट अन्यमा सरकार लागेको छ, सुशासन र पारदर्शीता विना जनताले चाहेको विकास सम्भव छैन्’ उनले भने,‘देश विकास र समृद्धिका लागि सबै क्षेत्रका गोरेहरु बाँकी रहदैनन्। उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ, सरकार त्यसतर्फ अग्रसर छ।’

उनले सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका मुख्य नाइके ‘गोरे’ पक्राउ पर्नुले सरकार सफल भएको बताए। ‘सुन काण्ड र सनम शाक्य हत्याका मुख्य दोशी गोरे पक्राउ परेका छन्’ उनले भने,‘अबका दिनमा अन्य अपराधमा संलग्न गोरेहरु (व्यक्ति) पक्राउ पर्छन्।

समाजमा विकास विरोधी गतिविधिलाई बढवा दिनेलाई संरक्षण हुदैन्।’ सुन काण्डमा पक्राउ परेका प्रहरी माथि मुद्दा खुकुलो छ भन्नु गलत भएको भन्दै उनले मुद्दा अदालतमा दर्ता भइसकेकाले कानुन बमोजिम सजाय हुने बताए। देशमा मौलाएको लागुऔषध कारोवार, तस्करीलगायतका अपराधिक गतिविधि रोक्न सरकारले अभियानकै रुपमा लाग्ने उनको भनाई छ।

गृहमन्त्री थापाले नेपालकोे सुरक्षामा नेकपा (विप्लप) र सिके रावतको समुह मुख्य चुनौती भएको बताए। ‘राजनीतिक क्षेत्रबाट र तराईका केही विखण्डनकारी समुहबाट सुरक्षा जोखिम देखिएको छ’ उनले भने,‘संघीयता स्वीकार नगर्ने अतिवादी तत्व राजनीतिमा छ भने, मधेश छुट्टै राज्य हो भन्ने समूह र धार्मिक तथा जातिय नारा लगाउनेहरु सुरक्षाको प्रमुख चुनौती बनेका छन्।’ गैर-राजनीतिक पक्ष अन्तरगत समाजमा हुने हत्या, हिंसा, चोरी डकैती, लागु औषधको कारोबार पनि सुरक्षामा चुनौती भएको उनले बताए।

फरक प्रसंगमा उनले नेपालमा दुई वटा असाधारण घटना घटेको बताए। ‘संविधानको कार्यान्वयनसँगै देशमा संघीयता आएको छ, जेठ–३ गते बामपन्थीहरु एक जुट हुनु असाधारण घटना हुन्’ उनले भने,‘अव देशमा राजनीतिक अस्थिरता अन्त्यसँगै विकास र समृद्धिको बाटो खुलेको छ।’ उनले आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको निती तथा कार्यक्रमले विकास र समृद्धि बोध गराएको बताए।

उनी कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका हुन्। एमाले माओवादीबीच एकीकरण भएपछि नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्तालाई भेटघाट तथा प्रशिक्षण दिने कार्यक्रममा पनि गृहमन्त्री थापा सहभागि हुनेछन्।

प्रतिक्रिया