एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि रारा

एउटै खुट्टाले साईकल चलाएर कैलालीदेखि रारा

सुर्खेत- एउटै खुट्टाले साइकल चलाएर प्रदेश नंम्बर ७ बाट कर्णाली प्रदेशको राराको यात्रामा एक साइकल यात्री निश्किएका छन् । लम्कीदेखि राराको एकल साइकल यात्रा सुरु गरेका लम्की चुहा नगरपालिका १ लम्कीका यमराज रसाइली एकल यात्रा सुरु गरेको तीन दिनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आइपुगेका हुन । उनले यही जेठ ४ गते लम्कीबाट साइकल यात्रा सुरु गरेका थिए । अपांगता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन भन्ने सन्देश दिनका लागि आफूले एकल साइकल यात्रा सुरु गरेको रसाइलीले बताए । ‘मैले लम्कीबाट रारासम्म एक खुट्टाले साइकल चलाएर यात्रा गर्दैछु’ मंगलबार सुर्खेतमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने,‘यो यात्राबाट सबैको ध्यान आकर्षित भई अपांगता भएकाले पनि केही गर्न सक्छन भन्ने भावना जागोस भन्ने उद्देश्य हो ।’ प्रधानमन्त्री केपी शर्मा वलीले राराबाट भर्ना अभियान सुरु गर्नेक्रममा एक जना अपांगता भएका बालकलाई अपांग मैत्री विद्यालयको अभावमा भर्ना गर्न नसकेको समाचार पढेछि रारा जाने सुर जागेको उनले सुनाए । रारा पुगेर प्रधानमन्त्रीले भर्ना गर्न नसकेका बालक पुन्नबहादुर कुलालाई भेट्ने र विद्यालय भर्नाका लागि पहल गर्ने योजना रहेको पनि रसाइलीले जनाए ।

४० वर्षिय रसाईलीले चार वर्षको उमेरमा आफ्नो दायाँ खुट्टा गुमाएका थिए । उनले विगत २१ वर्षदेखि साईकल यात्रा गरिरहेको सुनाए । अहिलेसम्म नेपालका ३८ जिल्लाको साईकलबाटै भ्रमण गरेको र एक दिनमा दुई  सय किलोमिटरसम्मको यात्रा गरेको रसाइलीले बताए । उनले २०५९ मा महाकालीदेखि मेची सम्मको साइकल यात्रा समेत गरेका थिए ।

प्रदेश सरकारद्धारा सहयोग

आफ्नै उद्देश्यले साइकल यात्रामा हिडेका एक अपांग साइकल यात्री रसाइलीलाई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै कर्णाली प्रदेश सरकारले सहयोग गरेको छ ।

आफ्नो रारा यात्राका बारेमा जानकारी गराउन मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसंग पुगेका रसाइलीलाई प्रदेश सरकारले ३० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
भेटमा मुख्यमन्त्री शाहीले साइकल यात्राले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने भन्दै यात्राको सफलताको शुभकामना दिएका छन् । भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश शान्त र सुरक्षित प्रदेश भएकाले ढुक्क भएर यात्रा गर्न उनलाई आग्रह गरे ।

सहयोगी हातहरु जुट्दै

व्यक्तिगत खर्चमा रारा पुग्ने अठोटका साथ सुर्खेत पुगेका रसाइलीलाई सुर्खेतमा सहयोगी हातहरु जुटेका छन् । उनलाई सुर्खेतमा खाना तथा वासको व्यवस्था होटेल अर्गनाईजेशन सुर्खेतका अध्यक्ष तथा भ्याली भ्यू होटलका सञ्चालक तर्कबहादुर शाहीले गरेका छन । यस्तै युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देबकोटा र व्यवसायी बर्षा रावतले नगद तीन हजार सहयोग गरेका छन् । साइकल यात्री रसाइलीलाई कारोबार पत्रिका संवादाता गोविन्द खत्रीले रारासम्मको समन्वयमा सहयोग गरिरहेका छन । कैलालीमा ट्रि«ङ्स वाइक (साइकल ) कम्पनीले साइकल उपलब्ध गराएको छ भने अपांग चेतना समाज लम्की लगायत विभिन्न नागरिकहरुले सहयोग गरिरहेको रसाइलीले बताए ।

प्रतिक्रिया