गाउँमा खानेपानी ल्याउन जुटे स्थानीय

गाउँमा खानेपानी ल्याउन जुटे स्थानीय

दैलेख १० जेठ
खानेपानीको समस्या झेल्दै आएका जिल्लाको ठाटीकाँध गाउँपालिका स्थानीयले एक बर्ष भित्र चौवीसै घण्टा पानी पाउने भएका छन् । आगागी एक बर्ष भित्र काम सम्पन्न गर्ने गरि योजनाको काम तिब्र पारिएको छ । योजना सम्पन्न भएपछि गाउँपालिकाका ३ वटा वडाका स्थानीय नागरिकहरुको घरघरमा धारा जोडिने भएको छ । खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरु गाउँमा खानेपानी ल्याउन जुटेका छन् ।
गाउँपालिकका १, २ र ६ वडाका स्थानीयहरु आयोजनाबाट प्रभावित हुनेछन् । त्यहाँ खानेपानीको हाहाकार हुने गर्दछ । ठाटीकाँध बजार र आसपास हिउँद या वर्षा दुवै समयमा पानी लिन निकै टाढा जानुपर्र्ने बाध्यता रहेको छ । गाउँपालिकाले यहाँका स्थानीयहरुको पहिलो आवश्यकता खानेपानीका लागि ठुलो रकम खर्चेर आयोजना निर्माणको काम थालेको हो । ०७४ चैत्र २० गते सम्झौता भई काम सुरु भईसकेको छ । खानेपानी आयोजना २०७६ असार मसन्तासम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले पहिलो पेश्कि रकम ८९ लाख ११ हजार १ सय ९ रुपैँया भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।

फोटो -खानेपानीको मुललाईन तयार खन्दै ठाटीकाँधका स्थानीयहरु ।

खानेपानी योजनाबाट प्रभावित वडाहरु १, २ र ६ का ठाटीकाँध बजार, लामामेला टोल, काँडाचौर र पिपलचौरा टोलका २ सय ६७ घरधुरी समेटिने छन् । आयोजनाभित्र समेटिएका २ सय ६७ घरमै धारा जोडिने खानेपानी आयोजनाका फिल्ड संयोजक हरिकृष्ण थापाले बताए । २ सय ६७ घरधुरीका १७ सय २२ जनसंख्या प्रत्यक्ष रुपमा लाभ लिनेछन् । गाउँपालिकाको २ नम्वर वडाको जौचौरबाट ११ हजार ४ सय ५७ हजार मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने जलस्रोत प्राविधिक केशर शाहीले बताए । मुख्य लाईनबाट टंकीमा पानी झारीसकेपछि २३ हजार ६ सय १७ मिटर वितरण लाईन मार्फत ३ वटा वडाका २ सय ६७ वटा धारा बनाईने शाहीले बताए । जम्मा ३५ हजार १ सय १४ मिटर पाईपलाईन विछ्याईने जनाईएको छ । गाउँमा पानी सुविधा पनि आउदैछ, ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष मनबहादुर मगरले भने, गाउँमै रोजगारी श्रृजना पनि भएको छ । श्रमदानदेखी दैनिक ज्यालामा स्थानीयहरुले नै काम गरिएको आयोजनाका सचिव खड्कबहादुर विष्टले बताए । जनताको प्रमुख आवश्यकता खानेपानी भएकाले पहिलो प्राथमिकता दिएर खानेपानी आयोजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।
खानेपानी आयोजनाका लागि ठाटीकाँध गाउँपालिकाले दुई आर्थिक वर्षको १ करोड १८ लाख १ सय ३ रुपैयाँ र ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजनाले प्राविधिक सहयोगका साथै साझेदारी रकम ६० लाख २२ हजार १ सय १७ रुपैँयामा खर्च गर्ने भएको हो । ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजनाका लागि अनुदान रकम १ करोड ७८ लाख २२ हजार २ सय १९ रुपैयाँ रहेको छ । स्थानीयको जनश्रमदान ६५ लाख ३२ हजार ९ सय ९६ रुपैँया हुने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया