विद्यालयको भवन निर्माण अलपत्र

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ १३, २०७५     ::: 240 पटक पढिएको   |  

दैलेख — जिल्लाकाे गुराँस गाउँपालिका ८ स्थित मालिका माध्यमिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ ।  ठेकेदारको लापरवाहीका कारण भवन  निर्माणको काम अलपत्र परेको हो ।१२ कोठे भवन निर्माणका लागि पाँच वर्षअघि सम्झौता भएपनि अझैसम्म पुरा नहुँदा पठनपाठनमा समस्या भएको छ । तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरि भवन निर्माण सुरु गरिएको थियो ।

भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएको भवनको ढलानमात्र पुरा भएको छ । खानी निर्माण सेवा, बानेश्वर काठमाडौंले ठेक्का लिएको भवन अझै निर्माणाधीन अवस्थामा छ । ठेकेदार कम्पनीकै लापरवाहीले निर्माणमा ढिलाई भएको हो । ठेकेदार पक्षले भने जिल्ला समन्वय समितिले भुक्तानी नदिदा ढिलाई भएको दाबी गरेको छ । भवन निर्माणको प्राविधिक जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ ।

जिससका नायब सुब्बा पूर्णबहादुर योगीले ठेकेदारले निर्माणमा ढिलाइ र गुणस्तरहीन काम गरेकाले भारतीय दूतावासले रकम निकासामा ढिलाइ गरेको बताए । उनका अनुसार काम सम्पन्न गरेको कागतजात उपलब्ध भए मात्र दूतावासले रकम उपलब्ध गराउने जनाएको छ । भारतीय दूतावासको तीन करोड ८४ लाख सहयोगमा भवन निर्माण सुरु गरिएको थियो । भवन निर्माणमा ढिलाइ हुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए ।

उनका अनुसार भवन निर्माण अपूरो भएपछि दूताबासले केही रकम निकासा दिएको छैन । काम सम्पन्न भएपछि मात्र दुतावासले रकम निकासा हुने जनाएको उनको भनाइ छ । ‘ठेकेदार पक्षले रकम निकासा नभएकाले निर्माणमा ढिलाइ भएको जनाएको छ, दूतावासले पुरै सकेपछि मात्र रकम दिने जनाएकाले निर्माणमा समस्या भएको हो,’ उनले भने ।

विद्यालयका शिक्षक खगेन्द्र खत्रीका अनुसार पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माणका लागि दूताबासलाई सहयोग मागिएको थियो । पठनपाठन भइरहेको भवनसमेत जीर्ण भएकाले समस्या भएको उनले जनाए । ‘पुरानो भवन जीर्ण भएकाले विद्यार्थी बस्नै मान्दैनन्,’ उनले भने, ‘त्यसैले कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई ९ वटा कोठामा कोचाकोच गरेर पठनपाठन गराइरहेका छौं ।’



Leave a comment

Your email address will not be published.


*