बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने पनि बताएका छन् ।

चालू आवमा भने सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर, चालू आवमा ५.९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ ।

गत आव २०७३/७४ मा सरकारले ७ दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेकामा यस्तो अंक ६.५ मा सीमित भएको थियो । जुन विगत अढाई दशक यताकै उच्च आर्थिक वृद्धिदर थियो । गत आवदेखि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिँदै आएको छ । पछिल्लो एक दशकको आर्थिक वृद्धिदर औसत ४.३ प्रतिशत छ ।

गत ७ जेठमा सरकारले जारी गरेको आव २०७५/७६ को बजेटका नीति तथा कार्यक्रममा आगामी पाँच वर्षमा दोहोरो अंकनजिकको र पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख गरेको थियो । नेपालीको हालको प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षमा दोबर बनाउने, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्ने र निर्धारित समयअगावै दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य उक्त नीति तथा कार्यक्रममा उल्लेख थियो ।

 

प्रतिक्रिया