बाल विवाहको मुख्य कारण ‘गरिबी’

बाल विवाहको मुख्य कारण ‘गरिबी’

दैलेख जेठ १७- नेपालका विभिन्न जिल्लामा बढ्दै गएको बालविवाहको मुख्य कारण गरिबी भएको एक तथ्यांकले देखिएको छ । नेपालका १४ जिल्लाहरुमा गरिएको आधारभुत संर्वेक्षणले बाल विवाह हुनुको मुख्य कारण गरिबी रहेको देखिएको हो । तराईका ६ जिल्ला सुनसरी, बारा, धनुषा, बर्दिया, कपिलबस्तु र कंचनपुर तथा पहाडी क्षेत्रका ८ जिल्ला दैलेख, सुर्खेत, डडेल्धुरा, पर्वत, कास्की, सिन्धुली, मकवानपुर र उदयपुरमा गरिएको आधारभुत संर्वेक्षणमा यस्तो पाइएको हो ।
गर्ल नट ब्राइड्स (बालिका दुलही होइनन्) संजाल नेपालले दैलेख सदरमुकाममा आयोजना गरेको बाल विवाह अन्त्य गर्ने सम्बन्धमा नितीगत अन्तरपुस्ता संवाद कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त सर्वेक्षण गर्ल नट ब्राइड्स संजाल नेपालका सदस्य संस्थाहरुले गरेका थिए । सार्वजनिक तथ्यांकमा गरिबीका कारण बाल विवाह गर्नेको संख्या ८१.७ रहेको छ । यस्तै दाइजोका कारण बाल विवाह गर्नेको संख्या २५.८ प्रतिशत रहेको छ भने धार्मीक मुल्य र मान्यताको कारण बाल विवाह गर्नेको संख्या ५९.३ प्रतिशत रहेको तथ्यांक छ । यस्तै सामाजिक दवाव, छोरीको महत्व कम हुनु, भागी विवाह, स्कुल शिक्षाबाट बञ्चित भएका र विद्यालय छाडेकाहरुले बाल विवाह गर्ने गरेको तथ्यांक छ ।


सर्वेक्षण गरिएका जिल्लाहरुका सरोकारवालाहरुले बाल बिवाह र दाइजो प्रथा अन्त्य गर्न प्रतिबद्धता जनाएका गर्ल नट ब्राइड्स संजाल नेपालका केन्द्रिय सदस्य नगेन्द्र रिजालले जानकारी दिएका छन् । उनका अनुसार सरोकारवालाहरुले बाल बिवाह र दाइजो प्रथा अन्त्य गर्नको लागि रणनीतिक कार्ययोजना भएको बताएका छन् । यस्तै यस विषयलाई सम्बोधन गर्न बजेट छुट्याएको भएता पनि सरोकारवालाहरु मध्ये धेरै अनुपातमा बालबिवाह र बालविवाहसंग सम्बन्धित समस्याहरु सम्बोधन गर्न छुट्टै बजेट छुट्टाउन सकिने बारेमा बिश्वस्त रहेको रिजालको भनाई छ ।
दैलेख सदरमुकाममा आयोजित अन्तरपुस्ता संवादमा सहभागी किशोरी र बालिकाहरुले बाल विवाहका घटनामा कसैलाई कार्बाही हुने र कसैलाई नहुनुको कारण केहो भन्दै पश्न गरेका थिए । उनिहरुले छोरीलाई कम महत्व दिने र छोरा र छोरीमाथी विभेद कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरेका छन् । डुङ्गेश्वर गाउँपालिका वडा नं. १ की बालिका सृजना भण्डारीले बाल विवाहको सम्बन्धमा राष्ट्रिय रणनितिमा आधारित बाल बिवाहको कार्ययोजनाको बिकास र कार्यान्वयनलाई छिटो गर्न र बाल बिवाहको कानुनी र नितिगत मुद्दाहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायहरुलाई सुझाव समेत दिइन ।
बालिका र किशोरीहरुको प्रश्नको जवाफ दिदै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले बाल विवाह लगाएत सामाजिक समस्याहरुको चाङ स्थानीय तहमा थुप्रिएको बताए । उनले यस्ता समस्याहरु न्यूनिकरण गर्न आफुहरु योजना बनाएर अगाडी बढेको बताए । आफु नगरपालिकामा निर्वाचित भइसकेपछि सम्बन्ध विच्छेदका मुद्धाहरु केटा पक्षबाट बढी आउने गरेको उनको भनाई छ । लहर र रहरले बाल विवाह गर्छन, बाल विवाह गरेको कारण जन्मदर्ता दिन समस्या भएको छ, नगरप्रमुख खड्काले भने ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी हवल्दार नर्जुन शाहीले प्रहरीको सक्रियता हुँदा हुँदै पनि राजनीतिक दल र सामाजिक दवाव आउने गरेको कारण बाल विवाह रोक्न समस्या भएको बताए । उनले बाल विवाहमा स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुले नै संलग्न हुने भएका कारण पनि थप चुनौती थपिएको प्रष्ट पारे ।
संवाद कार्यक्रममा पत्रकार अमर सुनारले भागी विवाहको अवस्था कहाली लाग्दो रहेको बताउदै पछिल्लो समय बाल विवाहका मुद्धाहरु होस्टाइल हुने गरेको औल्याए । बाल हेल्पलाइन दैलेखकी संयोजक रमा श्रेष्ठले बाल विवाहका घटनामा मुद्धा दर्ता गर्नै समस्या भएको उल्लेख गरिन् । नेपालमा बाल विवाह न्यूनिकरणका लागि प्रत्येक स्थानीय तहका टोल र बस्तीहरुमा कानुनमा उल्लेख भएका विषयहरुलाई छलफल र बहस गर्न जरुरी रहेको बताइन् । उनले जिल्लामा संचालन भएको बाल हेल्पलाइनले बालबालिकाको क्षेत्रमा गरेको कामहरु समेत जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया