खालीडाँडा बस्तीमा खानेपानी समस्या हट्यो

खालीडाँडा बस्तीमा खानेपानी समस्या हट्यो

हिक्मत नेपाली, दैलेख
एक गाग्री पानी लिन जान २ घन्टा लाग्ने यहाँको भगवतीमाई गाउँपालिका ७ वडाभैरबको खालीडाँडाका स्थानीयबासीको दैलो अगाडि पानीको धारा पुगेको छ । उक्त बस्तीमा २० बर्ष देखि खानेपानीको हाहाकार हुने गरेको थियो ।२ घण्टा टाढाबाट खानेपानी बोकेर पानी खान बाध्य खालीडाँडाका स्थानीयबासी घर दैलोमा खानेपानी पाएपछि खुसी भएका छन् । बस्तीमा ३७ घरधुरीका १ सय ९० जना स्थानीय बासिन्दा खानेपानी योजनाबाट लाभान्वीत भएका छन् । ३७ घरधुरी रहेको उक्त बस्तीमा १६ घरधुरी दलित बस्तीको हो भने २१ घरधुरी अन्य जातजातीको हो ।खालीडाँडा बस्तीमा हिउँद होस या वर्षा दुवै समयमा पानी लिन २ घण्टा टाढा जानुपर्र्ने बाध्यता रहेको थियो । पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई दैलेखले यहाँका स्थानीयहरुको पहिलो आवश्यकता खानेपानी देखेर आयोजना संचालन गरेको जिल्ला आयोजना संयोजक कमल आचार्यले बताए ।

खडेरीमा परेको स्थानीय समुदायलाई शुद्ध पिउने पानीको परिपुर्ती गर्नुको साथै खेर गएको पानीको सदुपयोग गरि तरकारी खेतीबाट आय आर्जन गर्ने उदेश्यले संचालन गरिएको आयोजना शिखरद्धारी कृषि तथा पशुपालन समूहको मागका आधारमा संचालनमा ल्याएको संयोजक आचार्यले बताए । आयोजनाले पहिलो पेश्कि रकम ३ लाख १८ हजार ५५ रुपैँया भुक्तानी गरिसकेको छ भने बाँकी रकम भुक्तानी गर्न बाँकी रहेको संयोजक आचार्यले बताए ।

२०७४ फागुन १५ गते सम्झौता भई काम सुरु गरिएको उक्त खानेपानी आयोजना २०७५ जेठ १४ गते सम्पन्न भएको आयोजनाका सामाजिक परिचालक अबिलाल जैसीले बताए । आयोजनाभित्र समेटिएका ३७ घरधुरीमा ६ वटा धारा जडान गरिएको जैसीले बताए । गाउँपालिकाको वडा नं. ७ बडाभैरवकोे मछाइना खोलाबाट १२ सय ३० मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने आयोजनाका प्राविधिक चन्द्रप्रकाश केसीले बताए । मुख्य लाईनबाट ल्याइएको पानी जम्मा गर्नका लागि ६ हजार लिटरको ट्यांकी निर्माण गरिएको प्राविधिक केसीले बताए ।

खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पुगेकी कृषिका लागि अन्तराष्ट्रिय विकास कोष आइफ्याडका कार्यक्रम अधिकृत आयुषा टियुरेले खानेपानी आयोजनाबाट ग्रामिण क्षेत्रका स्थानीय बासी प्रभावित भएकोमा खुसी व्यक्त गर्दै स्थानीय समुदायलाई बधाई दिइन् । नेपाल सरकार, वन तथा बातावरण मन्त्रालयका सहसचिव एंव पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आशा) का संयोजक पशुपतिनाथ कोइरालाले यहाँका स्थानीय समुदायले गरेको काम मन्त्रालय सम्म पु¥याउने र अन्य स्थानमा सिकाईको रुपमा लिन उत्प्रेरित गर्ने बताए ।

श्रमदानदेखी दैनिक ज्यालामा स्थानीयहरुले नै काम गरेको खानेपानी योजनाको कोषाध्यक्ष सिता शाहीले बताइन् । खानेपानी लिन टाढा जानु पर्दा महिलाहरुलाई कामको बोझ थियो, गाउँमै खानेपानी आएपछि महिलाहरुलाई सहज भएको छ, शाहीले भनिन् । धाराबाट खेर गएको पानीबाट तरकारी खेती गर्ने योजना रहेको उनले सुनाइन् ।

गाउँमा खानेपानीको सुविधा पनि आउदैन भन्ने लागेको थियो, खालीडाँडा खानेपानी निर्माण आयोजनाका अध्यक्ष नगेन्द्र बहादुर बुढाले भने, अहिले त खानेपानी आयो । खानेपानीका लागि दुई घण्टा सम्म टाढा गएर पानी बोकेर खानुपथ्यो, बाटो हिड्ने बटुलालाई खानेपानी दिन पनि समस्या थियो, दलित बस्तीमा मात्रै ३ वटा धारा निर्माण गरेका छौ, योजनाका अध्यक्ष बुढाले भने, खेर गएको पानीबाट तरकारी खेतीका लागि प्रयोग गर्ने बुढाको भनाई छ ।

भगवतीमाई गाउँपालिका ७ का वडा अध्यक्ष रत्न बहादुर शाहीले खानेपानी योजनालाई दिगो रुपमा संचालन गराउनका स्थानीय समुदायलाई जागरुक हुन आग्रह गरे ।

खानेपानी आयोजनाका लागि पहाडी साना किसानका लागि अनुकुलन आयोजनाको ७ लाख ९५ हजार १ सय ३७ रुपैया अनुदान र स्थानीय समुदायको १ लाख ९८ हजार ७ सय ८४ रुपैयाँको जनश्रमदान गरि कुल ९ लाख ९३ हजार ९ सय २१ रुपैयाँको लागतमा खानेपानी योजना सम्पन्न भएको हो । पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई दैलेखले आर्थीक तथा प्राविधिक सहयोग, सोसेक दैलेखको सहजिकरण तथा भगवतीमाई गाउँपालिका वडा नं. ७ को समन्वयमा योजना सम्पन्न गरिएको हो ।

प्रतिक्रिया