काम अल्झाउने ठेकेदारको विवरण गृहमन्त्रालय पठाइयो

काम अल्झाउने ठेकेदारको विवरण गृहमन्त्रालय पठाइयो

दैलेख, २२ जेठ – ठेकेदारको लापरवाहीले समयमै सम्पन्न नभएका दैलेखका योजना र ठेकेदारको तथ्याङ्क संकलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले समयमै काम सम्पन्न नगर्ने ठेकेदारहरुको विवरण संकलन गरेर गृहमन्त्रालयमा पठाएको छ । तोकिएको समयमा काम नसक्ने दैलेखका २० ठेकेदार कम्पनीको विवरण गृहमन्त्रालय पठाइएको हो ।

सम्झौता भएको मितिमा काम नसक्ने कम्पनीको विस्तृत विवरण गृहमन्त्रालय पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । ‘हामीले सम्झौता अनुसार काम नगर्ने २० ठेकेदार कम्पनी, उनीहरुले पाएको काम, काम सुरु गरिएको मिति, सम्पन्न गर्नुपर्ने मिति लगायतको विवरण गृहमन्त्रालय पठाएका छौँ’, उनले भने ।
न्यौपानेका अनुसार २ वटा ठेक्कामा धेरै नै ढिलाई पाइएको छ । ‘२ वटा ठेक्कामा धेरै नै ढिलाई भएको भेटियो अन्य १८ वटा निर्माण कम्पनीले म्याद थप गरेर काम सञ्चालन गवरिरहेका छन्, थपिएको समयभित्रै काम सक्न म आफैँले फोनमार्फत ठेकेदार कम्पनीलाई निर्देशन दिएको छु’, उनले भने ।

फोटो – प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने ।

नौमूले गाउँपालिकामा रहेको स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०६७ सालमा जिम्मा लिएर हालसम्म पनि निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । आफैँले उक्त कम्पनीलाई फोन सम्पर्क गरेर समयमै काम थाल्नुपर्ने अथवा पक्राउको प्रकृया सुरु गर्ने चेतावनी दिएपछि ठेकेदार कम्पनीले असार सम्मको समय माग गरेको न्यौपानेले जानकारी दिए ।
यस्तै राकमकर्णाली र अछाम जोड्ने पुल निर्माणमा पनि समस्या देखिएको छ । पुलको नयाँ डिजाइन गर्नुपर्ने अवस्था आएकाले काम रोकिएको छ । ठेकेदार कम्पनीले पुलको डिजाइन नै परिवर्तन गर्नुपर्ने जानकारी दिएको छ । पेटीमा ठेक्का बेच्ने प्रचलनले काममा ढिलाई भएको निश्कर्ष जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको सर्वेक्षण अनुसार ठेक्का बेच्ने प्रवृत्तिका कारणपनि निर्माणमा ढिलाइ भइरहेको छ ।

‘ठेकेदार कम्पनी पि क्यूका आधारमा ठूलो कम्पनी हुने र ठूलो कम्पनीको आधारमा पुनः अर्को कम्पनीलाई मुनाफा जोडेर कामको जिम्मोवारी दिने, जिम्मेवारी पाएकोले पनि पुनः अर्कोलाई जिम्मा दिने प्रवृती धेरै भएकाले दैलेखका बिभिन्न भौतिक पुर्वाधारका कामहरु समयमै सम्पन्न हुन सकेका छैनन्’, प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने ।
कमिशन बचाउँदै ठेक्का विक्रि गर्ने प्रचलनले गर्दा धेरै पिक्यू भएका ठेकेदारसँग मिलेर कामको जिम्मा लिएका अन्य साना ठेकेदार कम्पनीको बदमासीले पनि निर्माण कार्यमा समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ ।

प्रतिक्रिया