प्रस्तावित मदानेचौर विमानस्थल निर्माण अन्योलमा

प्रस्तावित मदानेचौर विमानस्थल निर्माण अन्योलमा

सुर्खेत — सरकारले बजेट विनियोजन नगर्दा प्रस्तावित मदानेचौर विमानस्थल निर्माण अन्योलमा परेको छ । दुई वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक सर्भे गरी क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी थालेको थियो ।

ठूला जहाज अवतरण गर्न सकिने विमानस्थल निर्माणका लागि सुर्खेतका तीन स्थानमा सम्भाव्यता अध्ययन गरिएको थियो । वीरेन्द्रनगरको उत्तरगंगा, पूर्वी सुर्खेतको रामघाट र छिन्चुको मदानेचौरमध्ये कुनै एक स्थानमा विमानस्थल निर्माणका लागि स्थलगत सम्भाव्यता अध्ययन गरिएको थियो ।वीरेन्द्रनगरमा मंगलबार आयोजित अन्तरक्रियामा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले तीन स्थानमध्ये मदानेचौर सबैभन्दा उपयुक्त रहेको बताए ।

‘मदानेचौरमा २ हजार ६ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रनवेको विमानस्थल निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘ड्राफ्ट रिपोर्ट प्राप्त भएको छ, डीपीआर बनिसकेको छैन ।’प्राधिकरणले मदानेचौरमा विमानस्थलको ‘क्षेत्रीय हब’ निर्माण गर्ने तयारी गरेको छ । महानिर्देशक गौतमका अनुसार अन्तर्राष्ट्रिय मापदण्डको निर्माण गर्न कम्तीमा ८ वर्ष र लागत १० अर्बभन्दा बढी लाग्नेछ । समयमै काम सुरु भए ३/४ वर्षमै सयसिटे जहाज अवतरण गर्न सक्ने खालको विमानस्थल निर्माण गर्न सकिने उनको भनाइ छ ।यता सरकारले बजेटकै कारण देखाएर अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माणमा बेवास्ता गरिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीले बजेट अभावका कारण अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माणलाई रोक्न नहुने बताए । ‘मदानेचौरमा जग्गा किन्नुपर्दैन, भौगर्भिक हिसाबले पनि उपयुक्त छ भन्ने रिपोर्ट आइसक्यो,’ मन्त्री खत्रीले भने, ‘बजेटको समस्याले पछि हटदा दीर्घकालीन समस्या निम्तिन्छ, यसका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।’

प्रदेशसभा सांसद ठम्मर विष्टले तत्काल डीपीआरको काम थाल्न आग्रह गरे । ‘सम्भाव्यता अध्ययनले मात्रै पुग्दैन, अब डीपीआर अगाडि बढाउनुपर्यो,’ उनले भने । मुगुका सांसद चन्द्रबहादुर शाहीले मुगुमा २६ वर्षसम्म एउटा एयरपोर्ट बनेको बताउँदै स्तरोन्नति गर्न ध्यानाकर्षण गराए ।पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रदेशसभा विपक्षी दलका नेता जीवनबहादुर शाहीले विमानस्थल निर्माणलाई राजनीतिक एजेन्डा नबनाउन आग्रह गरे । ‘अन्तर्राष्ट्रिय मापदण्डको बनाऔं, जरुरी परेका बेला सीधै अन्तर्राष्ट्रिय उडानहरू पनि भर्न सकियोस्,’ उनले भने । त्यस्तै अर्का पूर्वपर्यटनमन्त्री यामलाल कँडेलले काँक्रेबिहार पुनर्निर्माण सुस्त गतिले भएको भन्दै निगरानी बढाउन आग्रह गरे । सुर्खेत २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले प्रस्तावित क्षेत्रीय विमानस्थल र काँक्रेबिहार पुनर्निर्माणले बजेटमा प्राथमिकता नपाएको गुनासो पोखे ।

‘विमानस्थलहरूको ‘रि–म्यापिङ’ गर्दै छौं’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयले देशभरका विमानस्थलहरूको ‘रि–म्यापिङ’ गर्न लागिरहेको बताएका छन् । उनले बढी आवश्यकताका विमानस्थल पहिल्याउने, स्तरोन्नति गर्नुका साथै नियमित सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकता दिएको बताए । ‘यसअघि पहुँचका भरमा चुनाव जित्नैका लागि विमानस्थल निर्माण गरिए, अब त्यस्तो हुँदैन,’ मन्त्री अधिकारीले भने, ‘रि–म्यापिङ गरेर मात्र सरकारले विमानस्थलको विस्तार गर्छ, जहाँ बढी आवश्यक छ, त्यहाँ विमानस्थल सञ्चालन गरिन्छ ।’उनले बजेट अभावकै कारण मदानेचौरको विमानस्थल निर्माणको काम नरोकिनेमा आश्वस्त पारे । कम्तीमा सयसिटे जहाज अवतरण गर्न सक्ने विमानस्थल बनाउन आफूहरू स्थलगत अध्ययनमा आएको बताए । सुर्खेत विमानस्थल बढाएर ठूलो क्षमताको जहाज सञ्चालन गर्न समस्या रहेको भन्दै विकल्पमा मदानेचौरको प्रारम्भिक सर्भे भइसकेको उनको भनाइ थियो ।

हालै खरिद गरिएका चिनियाँ जहाजलाई कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतबाट सेवा दिने तयारीमा पुगेको बताए । मन्त्री अधिकारीले कर्णालीको हिमाली क्षेत्रमा अर्को ठूलो विमानस्थलको खाँचो औंल्याए । यसका लागि छिट्टै सम्भाव्यता अध्ययन प्रक्रिया सुरु गर्ने आश्वासन दिए । Kantipur.

प्रतिक्रिया