जनप्रतिनीधिलाई महिलाको पश्नै पश्न

जनप्रतिनीधिलाई महिलाको पश्नै पश्न

दैलेख जेठ २४
जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ की अमृता भण्डारीले डुङ्गेश्वर बजार देखि गाउँपालिकाको केन्द्र डाँडापराजुल जोड्ने सडकको अवस्था नाजुक भएपनि गाउँपालिकाले चासो नदिएको गुनासो पोखिन् । सडक खण्डमा पानीको निकास नहुँदा डुङ्गेश्वर बजारका स्थानीयको घरमा पानी पस्ने गरेको भन्दै उनले आक्रोस पोखिन् । डुङ्गेश्वर गाउँपालिका १ को चुप्रामा गरिएको सेवाग्राही र सेवा प्रदायकहरु विच अन्तरसंवाद कार्यक्रममा उनले गुनासो पोख्दै भनिन “गाउँपालिकाका हरेक नागरिकहरुले विकास भएको हेर्न चाहेका छन् ।” तर हामीले त विकासका नाममा दुःख पाइरहेका छौ ।
अमृता जस्तै सोही गाउँपालिका वडा नं १ कि लता सुनारले वडामा रहेको समला नागरिक सचेतना केन्द्रमा संचालित शिशु स्याहार केन्द्रको भवन नभएको बताइन् । उनले भाडामा शिशु स्याहार केन्द्र संचालन भइरहेको बताउदै बर्षातमा भत्किन सक्ने सम्भावना भएकाले बालबालिकालाई कहाँ राखेर पढाउने भन्दै पश्न गरिन् । सोहि ठाउँकी रुपा सुनारले आफ्नो टोलमा खानेपानीको समस्या भएको गुनासो पोखिन् । यस्तै मन कुमारी वि.क. वडा नं. २ को समला टोलमा खनिएको सडकको कारण खेत बगाएको गुनासो पोखिन् ।
सोहि ठाउँका सुरेन्द्र प्रसाद शर्माले दुग्ध संकलन केन्द्रमा जाने सडक व्यवस्थीत गर्न नसकिएको गुनासो गरे । दुग्ध संकलन केन्द्र र वडा नं. २ को वडा कार्यालय एउटै ठाउँमा भएपनि वडा र गाउँपालिकाले उक्त सडकको वेवास्ता गरेको दुःखेसो पोखे । उनले वडाको सम्पूर्ण नागरिकहरु सेवा लिन आउने बाटो नै जिर्ण भएकोले त्यस प्रति वडा कार्यालय र गाउँपालिका जिम्मेवार बन्न आग्रह गरे ।


अन्तरसंवादमा बोल्दै डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ले वडा र गाउँपालिकासंग सम्बन्धित गुनासोहरु एक वर्ष भित्रै समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, हामी गाउँपालिकाका सम्पूर्ण नागरिकलाई गुणस्तरिय सेवा प्रदान गर्न जिम्मेवार छौं । डुङ्गेश्वर बजार देखि गाउँपालिकाको केन्द्रमा जोड्ने सडकमा बर्षात सुरु हुनु भन्दा अगावै व्यवस्थीत गर्ने प्रतिबद्धता जनाएदै अध्यक्ष मल्लले शिशु स्याहर केन्द्रलाई आवश्यक व्यवस्थापन गर्ने बताए ।
पहिरोको जोखिममा रहेका स्थानमा हरुमा तारजालीको व्यवस्थापन, गाउँपालिकाका सबै विद्यालयहरुमा जोड्ने सडक निर्माण, विद्यालयको शैक्षिक सुधार, गाउँपालिका भित्रका सबै नागरिकहरुलाई खानेपानी सुविधा पु¥याउने छौ । उनले भने “ गाउँपालिकाको विभिन्न स्थानमा छात्रा शौचालय, सार्वजनिक शौचालय निर्माणका लागि आगामी आर्थीक बर्षमा बजेट विनियोजन गर्नेछौ ।
गाउँपालिकालाई बाल मैत्री स्थानीय तह घोषणाका लागि तयारी थाल्ने भन्दै अध्यक्ष मल्लले लक्षित वर्गको लागि विनियोजित रकमबाट क्षमता अभिबृद्धी तालिम तथा सिप विकास तालिमहरु संचालन भइरहेको बताए । उनले लक्षित वर्गको रकमबाट दलित, महिला, युवाहरुलाई रोजगार सृजना गर्न आगामी बर्ष निती बनाएर लागु गर्ने बताए । हामी निर्वाचित भएको पहिलो बर्ष सकिनै लाग्यो, केहि प्राविधिक कठिनाईका कारण चाहेजति काम गर्न सकेका छैनौ, उनले भने ।
अन्तरसंवादमा वडा नं. २ का वडा अध्यक्ष लोेक बहादुर डांगीले वडा तहका नागरिकहरुको समस्याहरुलाई क्रमश समाधान गर्दै जाने प्रतिबद्धता जनाए । यस्तै वडा नं. ६ का वडा अध्यक्ष बम बहादुर विसीले डुङ्गेश्वर बजारको सडक छेउछाउको घरहरु सडकको नाममा नापी भएको र त्यस बापत स्थानीयले राज्य बाट मुआव्जा लिइसकेको भएपनि उक्त स्थान नछोडेको पाइएकोले मुआव्जा लिइसकेका घर धनीहरुले तत्काल घर भत्काउन आग्रह गरे । नागरिकहरुको सहजताका लागि गाउँपालिका र वडापालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, पूर्वाधार निर्माण लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेर काम अघि बढाएको विसीले बताए । स्थानीय महिलाहरुले राखेको पश्नमा वडा र कार्यपालिका सदस्यहरुले जवाफ दिएका थिए । अन्तरसंवादमाको आयोजना अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको हो ।

प्रतिक्रिया