‘रारा पर्यटन वर्ष’काे अाय-व्यय सार्वजनिक

‘रारा पर्यटन वर्ष’काे अाय-व्यय सार्वजनिक

जेठ २५, सुर्खेत

कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रमको आय-व्यय विवरण सार्वजनिक गरेको छ। आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभा बैठकको सुरुमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रतिपक्षी दल नेपाली का‌ंग्रेसका नेता जीवनबहादुर शाहीले उठाएका प्रश्नको जवाफ दिँदै उक्त आय-व्यय विवरण पेश गरेका हुन्।

मन्त्री ज्वालाले कर्णाली रारा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा जम्मा ६३ लाख ८१ हजार  ७९५ रकम खर्च भएको जानकारी दिएका छन्। जसमा लोगो छापिएको झोलामा २ लाख, खानामा १७ लाख ७६ हजार १२०, ५ लाख ५४ हजार ३००, पत्रकारको यातायात खर्च ६४ हजार ९००, जि‌ंगलको उत्पादन र प्रचार-प्रसार खर्च ४ लाख १२ हजार ६८४,अन्य प्रचार-प्रसारमा २ लाख ५७ हजार, पोष्टर-पम्प्लेटमा २ लाख २७ हजार, हवाई खर्च १० लाख २९, स्थलगत यातायातमा ७६ हजार, सभा तथा मञ्च सजावट र पत्रकार स्थलगत खर्च ११ लाख, आवास खर्च ४ लाख,मुगु जिल्लालाई दिएको २ लाखको खर्च विवरण पनि देखाइएको छ। खर्च जम्मा रकम मध्ये १४ लाख ४० हजार नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको र अन्य सबै ४९ लाख ४१ हजार ७९५ प्रदेश सरकारको खर्च भएको मन्त्री ज्वालाले जानकारी दिए।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार संसदप्रति उत्तरदायी रहेकोले कर्णाली सरकारको निर्णायअनुसार कर्णाली रारा पर्यटन वर्षको उदघाटन भएको र काम गर्दा खर्च हुने स्वाभाविकै भएको पनि बताए। सरकारले प्रस्तुत गरेको मार्गमा नै सरकार हिडिरहेकाले मन्त्री ज्वालले सरकारले खर्चमा मितव्ययिता अपनाएको बताए। सरकारले कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरेपछि रारामा पर्यटकको संख्यामा बृद्धि भइरहेकाले मन्त्री ज्वालाले बजेट कही कतै अनियमितता भएको, दुरुपयोग भएको आशंका गर्न सक्ने ठाउँ नभएकाले महाेत्सवमा भएकाे खर्च सार्वजनिक गर्न केही ढिला भएकोमा कम्जोरी भएको स्वीकार गरे।

विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री ज्वालाले पहिलो बजेट हतारमा ल्याउनु परेको र कार्यान्वयन गर्ने समय कम भएकाले बजेट कार्यान्ववयन हुन्छ कि हुँदैन भन्ने अन्याेलताका बीचबाट रातो किताब बनाउन र उपलब्ध गराउन नसकिएको पनि स्पष्ट पारे। उनले भने, ‘हतारमा अाएकाे बजेट कार्यान्वयन हुने कि नहुने अन्याेलतामा रहेकाले पनि रातो किताब निकाल्ने र उपलब्ध गराउने कुरामा केही कन्फ्युजन भएको हो।’ ‘बजेट खासै खर्च गर्न नसकिने अवस्था भयो’, उनले भने, ‘केही काम सुरु भएको छ। तर कार्यान्वयनका संरचना र बजेट सदुपयाेग गर्न नसकिने अवस्था हुँदा बजेट कार्यान्वयन गर्न नसकिने तर योजना र महत्वका‌ंक्षा हुने अनि कार्यान्वयन गर्न नसकिने भएकाले रातो किताब नआएको हो।’ अबको नीति तथा कार्यक्रममा घनीभूत रुपमा छलफल गर्नु पर्ने र असार १ भित्र बजेट ल्याउनु पर्ने भएकाले सबै त्यतातिर जुट्नु पर्ने बेला भएको भन्दै सबै माननीयहरूले यो वर्षको बजेटलाई  आउँदो बजेटमा सम्बोधन गर्न सकिने बताए।

कर्णाली रारा पर्यटन वर्षको उद्घाटन सभाको आय-व्यय विवरण र रातो किताबका बारेमा असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबारको बैठक अवरुद्ध गरेको थियो। रारा पर्यटन वर्षको खर्च विवरण र रातो किताबका बारेमा संसदमा जवाफ दिने सहमतिपछि अाजकाे प्रदेश सभा बैठक संचालन भएको थियो।

शुक्रबारको प्रदेश सभाको बैठकले स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक संघ संस्था संचालन र व्यवस्थापन विधेयक तथा गाउँ सभा, नगर सभाका कानुन निर्माणसम्बन्धी बनेको विधेयक सम्बन्धित संसदीय  विषयगत समितिमा सर्वसम्मत रुपमा पठाएको छ। शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले कालिकोट नरहरीनाथ गाउँपालिकाकी वडा सदस्य मना सार्कीका हत्यारालाई कारवाही गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। अर्को बैठक भोलि शनिवार दिउँसो १ बजे बस्ने छ।

प्रतिक्रिया