महिला हिंसा रोकथाम अभियानकर्ता कुटिइन्

महिला हिंसा रोकथाम अभियानकर्ता कुटिइन्

दैलेख, जेठ २६ – महिला तथा बालिका माथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतना निम्ति घरदैलो गर्दै हिंडेका नौमूले गाउँपालिका–४ कालिकामा गठित उत्तेसेनी सामुदायिक छलफल केन्द्रका अभियानकर्ता महिलाहरुले कुटाई खाएका छन् ।
बढ्दो बालविवाह रोकथाम र घरेलु हिंसा बिरुद्ध महिला सशक्तिकरणको विषयमा घरदैलोमै भेटघाट कार्यक्रम लिएर गएका उत्तेसेनी सामुदायिक छलफल केन्द्रका सदस्यहरु मोतीकला ढेंगा, नर्जिता पुन लगायतका अभियानकर्ता महिलाहरु माथि उत्तेसेनीकी हरिकला बस्नेतले कपाल लुछ्नुसंगै मुक्का हानेकी क्रेटिङ्गस्पेस परियोजनाकी सहजकर्ता निशा सलामीले जानकारी दिनुभयो ।
घटना बारे आफूलाई जानकारी आएको वडा कार्यालयमा लिखित निवेदन दिन आफूले भनिसकेको नौमूले गाउँपालिका–४ का वडाध्यक्ष गजबहादुर ढेंगाले जानकारी दिनुभयो । उजूरी प्राप्त भएपछि वडामा छलफल गर्ने र मिल्न नसकेमा गाउँपालिका उपाध्यक्ष संयोजक रहेको न्यायिक समिति वा प्रहरीमा पठाइने वडाध्यक्ष ढेंगाले बताउनुभयो ।
अक्सफामको साझेदारीमा एभरेष्ट क्लवले सञ्चालन गरेको क्रेटिङ्गस्पेस परियोजना अन्तरगत उत्तेसेनी सामुदायिक छलफल केन्द्र गठन भएको हो ।
परियोजनाले नौमूले गाउँपालिका वडा नं. ३ द्वारी, ४ को कालिका, वडा नं. ५ को नौमूले, आठबीस नगरपालिकाको वटा नं. ४ पिपलकोट र वडा नं. ५ सिंहासैनमा महिला तथा बालिका माथि हुने हिंसा रोकथाम क्रियाकलाप गर्न ४५ वटा छलफल केन्द्र सञ्चालन गरेको छ ।

प्रतिक्रिया