कर्णाली प्रदेशलाई अपाङ्गमैत्री बनाउँछौ

कर्णाली प्रदेशलाई अपाङ्गमैत्री बनाउँछौ

सुर्खेत जेठ ३० – कर्णाली प्रदेशसभा सदस्यहरुले प्रदेशलाई अपाङ्गमैत्री बनाउने उद्घोष गरेका छन् । अपाङ्गमैत्री व्यवहारका साथै कानुन तथा निती निर्माण गर्न कर्णालीका प्रदेशसभा सदस्यहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगरमा अपाङ्ग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र हाम्रो भुमिका विषयक कार्यक्रममा सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा बोल्दै उनीहरुले कर्णाली प्रदेशलाई अपाङ्गमैत्री बनाउनका लागि कानुनमा अपाङ्गताका सवालहरुलाई उठाउन आफ्नो तर्फबाट पहल गर्ने बताए ।कार्यक्रममा प्रदेशसभा सांसद धर्मराज रेग्मीले आगामी बजेट अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा पार्नका लागि सरकारलाई घच्घच्याउने बताए । सांसद गुलाबजंग शाहले हरेक व्यक्ति सोचले अपाङ्गता भएको भन्दै दृष्टिकोण बदल्न तर्फ सबैलाई सचेत गराउन आग्रह गरे । उनले कर्णाली प्रदेशलाई अपाङ्गमैत्री बनाउन लागि पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै सांसद पदमबहादुर रोकायाले कर्णाली प्रदेशका हरके अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि सधैँ आवाज उठाउने बताए । सांसद सीता नेपालीले कानुन निर्माण गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिका तर्फबाट सुझाव तथा सहभागिताको अपेक्षा गरिन् । सांसद हुँदा पनि,नहुँदा पनि आफुले अपाङ्गताको पक्षमा काम गर्दै आएको बताउदै सांसद नेपालीले सशक्तिकरणका लागि संयुक्त आवाज उठाउने बताइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तहमा पनि अपाङ्गताका सवालमा सम्बोधन गर्ने गरी निती निर्माणमा भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरे । कार्यक्रममा अपाङ्ग सशक्तिकरण केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गता भएका व्यक्ति विभेद, सिमीतता र अवरोधका कारण सधैँ पछाडि परेको उल्लेख गर्दै कानुन तथा बजेट निर्माणका समयमा अपाङ्गगा भएका व्यक्तिहरुलाई पनि सहभागी गराउन आग्रह गरे ।
कर्णाली प्रदेशको कुल जनसंख्याको २ दशमलव ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको जनाइएको छ । कार्यक्रममा प्रदेश सांसदहरु मिनासिंह रखाल, वीरबहादुर शाही, कृष्णा शाह, पद्मा खड्का, राजु गुईँदेल, विन्दमान विष्ट, ठम्मर विष्ट, गोपाल शर्मा, झुवा विक लगायतले कर्णाली प्रदेशलाई अपांगमैत्री बनाउने गरी निती निर्माणमा सहभागी बन्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया