कुसंस्कार र कुरिति विरुद्ध ‘गाउँ अभियान’

कुसंस्कार र कुरिति विरुद्ध ‘गाउँ अभियान’

दैलेख जेठ ३१,

२०७४ जेठमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ की २४ बर्षिया लालसरा विकको छाउगोठ बसेकै बेला ज्यान गयो । त्यसको दुई महिना नवित्दै सोही नगरपालिकाकी तुल्सी शाहीको पनि छाउगोठमै ज्यान गयो । चामुण्डाविन्द्रासैनी नगरपालिका ४ लैनचौरकी तुल्सी शाहीको छाउगोठमा बस्दा सर्पले डसेर ज्यान गएको थियो । यी दैलेखमै घटेका घटनाहरु हुन् ।
गत शनिवार मात्रै दैलेखसंग सिमाना जोडिएको अछाममा महिनावारी बार्न छाउगोठ बसेकी एक किशोरीको सर्पले डसेर ज्यान गयो । तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएको थियो ।
त्यसको लगत्तै दाङमा जग्गा नबेचेको सामान्य निहुँमा एक महिला निर्घात कुटिइन् । सोहि दिन कालिकोटमा कुटपटि पछि एक दलित महिलाको ज्यान गयो । तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट ज्यान गएको हो । त्यसको लगत्तै महिला तथा बालिका माथि हुने हिंसा रोकथामको अभियान लिएर सचेतनाका निम्ति घरदैलो गर्दै हिंडेकी दैलेख नौमूले गाउँपालिका–४ कालिकामा अभियानकर्ता नै महिलाद्धारा कुटिए । बढ्दो बालविवाह रोकथाम र घरेलु हिंसा बिरुद्ध महिला सशक्तिकरणको विषयमा घरदैलोमै भेटघाट कार्यक्रम लिएर गएका मोतीकला ढेंगा, नर्जिता पुन स्थानीय महिलाद्धारा कुटिएका थिए । शनिवार मात्रै आफ्नै श्रीमानबाट भारतमा बेचिएकी महिला (उनको छोरा सहित) उद्धार गरिएको थियो ।


दैलेख लगाएत विभिन्न जिल्लामा दलित, महिला तथा बालबालिका माथी घट्दै गएका घटनाहरुलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्लामा कार्यरत सामाजिक संघ संस्थाहरुले कुसंस्कार र कुरिति विरुद्ध गाउँ अभियान संचालन गरेका छन् । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतसंगै सिमाना जोडिएको गुरासँ गाउँपालिकाका विभिन्न वडाहरुमा यस्तो अभियानको थालनी गरिएको हो ।
सामाजिक रुपमा कुसंस्कार र कुरितिको रुपमा लिइएको जातिय विभेद, महिला हिंसा, बाल विवाह, छाउपडि प्रर्था, यौन दुव्र्यवहार, जर्बरजस्ती करणी, मानव बेचखिन तथा ओसारपसार, लागु औषध दुव्र्यसनि, समूहमा हुने रुपान्तरित विकृती लगाएतका विषयमा समुदायलाई सचेत बनाउने उदेश्यले जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुले सयुक्त रुपमा यस्तो अभियानको थालनी गरेका हुन् । दैलेख संगै विभिन्न जिल्लामा कुरिति, कुसंस्कार तथा आपराधिक क्रियाकलापहरु नदोहोरिउन भन्ने उदेश्यले यस्तो अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय दैलेख महिला सेलका प्रहरी हवल्दार नर्जन शाहीले बताए ।
दैलेखको गुरासँ गाउँपालिकामा निर्वाचित जनप्रतिनीधि, स्थानीय दलित, महिला, बालबालिका, युवा युवती, शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै कुसंस्कार र कुरिति विरुद्धको अभियान चलाइएको छ । अभियान अन्तरगत गुरासँ गाउँपालिका ८ धरमपोखरामा एक दिने सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको सोसेक दैलेखका मनोविमर्शकर्ता निर्मला विसीले जानकारी दिइन् ।


अभियान अन्तरगत गुरासँ गाउँपालिका ३ पालिकान्ला र तल्लोडुङ्गेश्वरमा एक दिने सचेतिकरण कार्यक्रम गरिने विसीले जानकारी दिइन् । गाउँ अभियानमा पुग्दा स्थानीय महिलाहरुको सक्रियता पाएका छौ, स्थानीय महिलाहरुनै जातिय विभेद, बाल विवाह, छाउपडि प्रर्थाजस्ता कुप्रर्था र कुरिति विरुद्ध लाग्ने प्रतिबद्धता जनाएका छन्, विसीले भनिन् । अभियानका क्रममा स्थानीय महिलाहरुले आमा सचेतिकरण कार्यक्रम संचालन गर्न माग गरेको उनले बताइन् । बाल विवाहमा आमाहरुको बढी भूमिका हुने गरेको भन्दै स्थानीयले यस्तो कार्यक्रम गर्न माग गरेका हुन् । गुरासँ गाउँपालिकामा संचालन गरिएको अभियान जिल्ला प्रहरी कार्यालय दैलेख, गुरासँ गाउँपालिका, जिल्ला बाल कल्याण समिति, बाल हेल्पलाइन दैलेख, सोसेक दैलेखले सयुक्त रुपमा आयोजना गरेका हुन् । जिल्लामा भएका यस्ता कुरिति र कुसंस्कारलाई न्यूनिकरण गर्न दैलेखका ११ वटै स्थानीय तहहरुले पनि अभियान संचालन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया