नेपालमा यस्तो छ कुपोषणको अवस्था

नेपालमा यस्तो छ कुपोषणको अवस्था

–ज्ञानु पंगेनी–
नवलपरासी । नेपालमा बालबालिकामा हुने कुपोषणको अवस्था अझै नाजुक छ । बालबालिकामा हुने कुपोषणको दर विगतका वर्षका तुलनामा क्रमश घट्दै गएको तथ्याङ्कले देखाएको छ । तर अवस्था भने नाजुक नै छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार कुपोषणको दर घट्दै गएको देखिएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा कडाखालको कुपोषण हुने बालबालिकाको संख्या १० प्रतिशत छ । सन् २००६ मा १३ प्रतिशत र सन् २०११ मा ११ प्रतिशत थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यदि १० देखि १४ प्रतिशत बालबालिका शीघ्र (कडा खालको) कुपोषणको अवस्थामा छन् भने त्यसलाई नाजुक अवस्था भनिन्छ । यस अनुसार नेपालमा शीघ्र कुपोषणको अवस्था १० प्रतिशत रहेकोले कुपोषणको अवस्था नाजुक रहेको एक्शन अगेनेष्ट हंगरका सिनियर प्रोग्राम अफिसर रञ्जन कपालीले बताए ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार नेपालमा सन् २०१६ सम्म दीर्घ कुपोषण भएका बालबालिकाको संख्या ३६ प्रतिशत रहेको छ । यो प्रतिशत सन् २००६ मा ४६ र २०११ मा ४१ प्रतिशत रहेको थियो ।

यस्तै कम तौलका कुपोषण भएका बालबालिकाको संख्या सन् २०१६ मा २७ प्रतिशत छ । कम तौल हुने कुपोषणको अवस्था सन् २००६ मा भने ३९ प्रतिशत थियो ।

पछिल्लो २० वर्षयता सार्वजनिक भएका तथ्याङ्कले नेपालमा बालबालिकामा हुने कुपोषणको अवस्थामा सुधार भइरहेको देखिन्छ ।

वृद्धी अनुगमन, खोप कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी गराउन पुग्नु, स्वास्थ्य संस्थामा सर्वसाधारणको पहुँच वृद्धि हुनु, सरकारी तथा गैरसरकारी संस्थाले कुपोषण विरुद्धका कार्यक्रमलाई प्राथमिकतामा पारेर संचालन गर्नु जस्ता कारणले कुपोषणको अवस्थामा सुधार हुँदै गएको पाईएको सिनियर प्रोग्राम अफिसर रञ्जन कपालीले बताए । नेपालका २२ जिल्लामा अझै पनि कुपोषणको अवस्था नाजुक रहेको समेत उनको भनाइ छ ।

कुन प्रदेशमा कति कुपोषण

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार प्रदेश नम्बर २ मा शीघ्र कुपोषणको अवस्था सबैभन्दा नाजुक छ ।
तथ्याङ्क अनुसार प्रदेश २ मा शीघ्र कुपोषण हुने बालबालिकाको संख्या १४ दशमलब ४ प्रतिशत छ । यहाँ दीर्घ कुपोषणको अवस्था भने ३७ प्रतिशत बालबालिकामा देखिएको छ ।

प्रदेश २ पछि प्रदेश १ मा शीघ्र कुपोषण हुने बालबालिकाको संख्या बढी छ । जहाँ ११ दशमलब ८ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ ।

यस्तै क्रमश प्रदेश ३ मा ४ दशमलब २ प्रतिशत, प्रदेश ४ मा ५ दशमलब ८ प्रतिशत, प्रदेश ५ मा ७ दशमलब ६ प्रतिशत, प्रदेश ६ मा ७ दशमलब ५ प्रतिशत र प्रदेश ७ मा ९ दशमलब ३ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण भएको तथ्याङ्कले देखाएको छ ।

दीर्घ खालको कुपोषण हुने बालबालिकाको संख्या प्रदेश नम्बर ६ मा सबैभन्दा धेरै छ । यहाँ ५७ दशमलब ५ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण छ । दीर्घ कुपोषण सबै भन्दा कम प्रदेश ४ मा २८ दशमल ९ प्रतिशत बालबालिकामा छ ।

पोषिलोखानेकुरा नपुग्नु, खाना अपुग हुनु र रोगको संक्रमणका कारण बालबालिकामा शीघ्र कुपोषण हुन्छ । यस खालको कुपोषणमा अचानक बच्चाको तौल घट्दै जाने जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख अरुण कुमार महत्तोले बताए ।

नवलपरासीको अवस्था

एक्शन अगेष्ट हङ्गर र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीको सहकार्यमा जिल्लामा संचालित शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रम मार्फत ४ सय २४ जना शीघ्र कुपोषण भएका बालबालिका भेटिएको एक्शन हंगर नवलपरासीका क्षेत्र प्रबन्धक दिल बहादुर खड्काले बताए ।

२०७४ भदौदेखि २०७५ बैशाखसम्मको तथ्याङ्क अनुसार पूर्वी नवलपरासीमा १ सय ८८ र पश्चिम नवलपरासीमा २ सय ३६ बालबालिका कडाखालको कुपोषण भएको पाईएको छ ।

जसमध्ये ८६ जनाको उपचारपछि सामान्य अवस्थामा आएको क्षेत्र प्रबन्धक खड्काले बताए । नवलपरासीमा पाँच वर्ष मुनिका झण्डै ६४ हजार बालबालिका छन् । करिब ५० प्रतिशत बालबालिकालाई पहिलो चरणमा कुपोषणको अवस्था परीक्षण गर्दा यस्तो अवस्था पाईएको हो । मधेशी समुदायको बाहुल्यता रहेको दक्षिणी क्षेत्रमा कडा खालको कुपोषण हुने बालबालिकाको संख्या सबै भन्दा धेरै छ । महिला खबर ।

 

प्रतिक्रिया