विपन्न नागरिक स्वास्थ्य सेवाबाट बञ्चित

विपन्न नागरिक स्वास्थ्य सेवाबाट बञ्चित


दैलेख असार ६ ।
दैलेखको गुरासँ गाउँपालिकाका विपन्न नागरिकहरु स्वास्थ्य उपचारबाट बञ्चित भएको बताएका छन् । गुरासँ गाउँपालिका ४ घोडाबासमा गरिएको साझा सभा कार्यक्रममा स्थानीय नागरिकहरुले यस्तो बताएका हुन् । विपन्न तथा गरिव नागरिकहरुले नेपालमा उपचार गराउँदा ५० हजार र विदेशमा उपचार गराउदाँ १ लाख सम्म उपचार खर्च पाउने जानकारी सर्वसाधरण नागरिकहरुलाई जानकारीनै नभएको स्थानीयबासी विनोद गुरुङ्गले बताए । यस्तो व्यवस्था विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७३ को बुँदा नं. ३.१ मा गरिएको छ । यस्तै राष्ट्रिय स्वास्थ्य नितीमा उल्लेख गरिए अनुसारको स्वास्थ्य चौकीमा पाइने औषधी नभएको, औषधीको सूची सार्वजनिक नगरिएको गुनोसो स्थानीय नागरिकहरुले गरेका छन् ।

गाउँपालिका भित्रका विद्यालयहरुमा नियमित स्वास्थ्य परिक्षण नभएको सार्वजनिक विद्यालयहरुमा सामाजिक परिक्षण तोकिएको मापदण्डमा नभएको भन्दै स्थानीय नागरिकहरुले गुनासो पोखेका हुन् । गुनासो सुनुवाई कार्यविधिमा व्यवस्था भए अनुसार विद्यालयमा गुनासो सुनुवाई संयन्त्र नभएको पाइएको छ । गाउँपालिकाले प्रदान गर्ने मल विउ विरुवाहरु लक्षित वर्गले नपाएको पाइएको छ । गाउँपालिकाले लक्षित वर्गलाई मल, विउ तथा विरुवाहरु प्रदान गरिरहेको बारेमा स्थानीय नागरिकहरुलाई थाहा नै नभएको गुरुङ्गले बताए । उनले गाउँपालिकाले केहि महिना अघि गरेको विद्यालय समायोजनको बारेमा असन्तुष्ट व्यक्त गरे ।
स्थानीय नागरिकहरुले राखेका गुनासोहरुको जवाफ दिदै गाउँपालिका शिक्षा शाखा प्रमुख महेश केशर खनालले विद्यालयका विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परिक्षण गर्न नसकेपनि ६ महिनामा एक पटक सामान्य स्वास्थ्य परिक्षण गराउदै आएको बताए ।उनले आगामी बर्ष गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गरि नियमित स्वास्थ्य परिक्षणका लागि पहल थाल्ने बताए ।
गाउँपालिकाकाले कृषि तथा पशुपंक्षी विकासका लागि योजनागत रुपमा काम गर्ने पशुपंक्षी विकास शाखाका सुर्य विश्वकर्माले बताए । यस्तै गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाले समग्र शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषि, पशुको क्षेत्रमा काम गर्ने योजना बनाएको बताए । उनले कुनै पनि नागरिक गाउँपालिकाबाट प्रदान गर्ने सेवाबाट बञ्चित नहुनु भन्ने उदेश्य अनुरुप काम अघि बढाएको बताए । उनले गाउँपालिकामा शिक्षाको गुणस्तर बृद्धी गर्नका लागि शिक्षक सरुवा र विद्यालय समायोजन गरिएको भन्दै विद्यालय समायोजनमा कुनै पनि हालतमा नरोकिने बताए ।
कार्यक्रममा पुगेका जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले गरिबीको रेखामुनी रहेका नागरिक र विपन्न वर्गको आर्थीक, सामाजिक र साँस्कृतिक रुपमा परिवर्तन ल्याउने गरि काम गर्न गाउँपालिकालाई सुझाव दिएका छन् । पारस्परिक जवाफदेशिता परियोजनाले आयोजना गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसी, गैसस महासंघ दैलेखका कोषाध्यक्ष डिल कुमारी चन्द, स्ववियू सभापति रेखा थापा, गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरु र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया