कर्णाली प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल

कर्णाली प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल

सुर्खेत– संघीय सरकारले कर्णाली प्रदेशमा पनि क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तरगत कर्णाली प्रदेशमा पनि क्षेत्रीयस्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले भौगोलिक कठिनाइ भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।
मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए । उनले ३ वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिए ।
मन्त्री अधिकारीले ३ वर्षभित्र सम्पदाहरूको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको पनि बताए । उनले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गदै आगामी दिनमा सांसदहरूको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतले कर्णालीका अन्य जिल्ला भन्दा सुर्खेत उपयुक्त भएको बताए । उनले कर्णालीको विकासका लागि सरकारले जतिसक्दो छिटो विमानस्थल निर्माण गर्नुपर्ने बताए ।
‘हुम्ला र डोल्पामा अझैपनि सडक पुग्न सकेको छैन् । यातायातका साधन पुग्न नसक्दा प्रदेश राजधानी आउँन प्रदेश नम्बर ५ को भरपर्नुपर्ने बाध्यता छ ।’ उनले भने, ‘समग्र कर्णालीको विकास र समृद्धिका लागि विमानस्थल समयमा निर्माण हुनुपर्छ ।’
प्रचुर सम्भावना रहेको कर्णालीमा नियमित हवाई सेवा विस्तार गर्न सके परनिर्भरताको अन्त्य हुने उनको भनाई छ ।

प्रतिक्रिया