मानव अधिकार हननका घटना बढे

मानव अधिकार हननका घटना बढे


दैलेख, असार १३
गत पुष १७ गते भगवतीमाई गाउँपालिका २ बेस्तडाकी २६ बर्षिया अम्बा बादीलाई सोहि गाउँपालिका ५ का प्रकाश सिंह, झलक सिंह लगाएतले कुटपिट गर्दा उनको ६ महिनाका गर्भ तुहियो । कुटपिट पछि क्षेत्रिय अस्पताल सुर्खेतमा उपचार चलिरहेका बेला गत पुष १८ गते जुम्ल्या छोरा मृत जन्मिएका थिए । पिडित पक्षले गर्भ तुहिएको विषयमा पिडकलाई कार्बाहीको लागि प्रहरीमा जाहेरी दिएपनि पिडकलाई समेत चोट लागेका कारण उक्त घटना मिलापत्रमै टुंगियो । चामुण्डाविन्द्रासैनी नगरपालिका ४ का खगेन्द्र बहादुर वि.क.लाई सोही ठाउँका ३४ बर्षिया पदम बहादुर शाहीले मरणासन्न हुनेगरि कुटपिट गर्दा उनको हात भाँच्चियो ।यस्तै दुल्लु नगरपालिका १३ विनायक बस्ने २७ बर्षिया जमरा भण्डारीलाई सोहि नगरपलिका ११ कालभैरबका अमृता भण्डारीले बोक्सीको आरोप लगाउदै निर्घात कुटपिट गरिन् । यि तिन घटना प्रतिनीधि मात्र हुन् ।
जिल्लामा गत ६ महिनामा ३५ वटा मानवअधिकार हनन्का घटना घटेका छन् । गत ६ महिनामा ६ वटा अमानवीय कुटपीट, बालबालिका हत्या २ वटा, बलात्कारका ४ वटा, घरेलु हिंसा ४, बहुविवाह ७ वटा, बालविवाह ५, बोक्सी आरोप २ र जातीयविभेदका घटना ४ गरि ३५ वटा घटना घटेका छन् । ति मध्ये अधिकांश घटनामा मिलापत्र भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार बर्ष पुस्तक २०१८ का लागि दैलेखमा संकलित मानव अधिकार हनन्का घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रममा प्रस्तुत गरिएका घटना विवरण अनुसार अघिल्लो बर्ष भन्दा यस बर्ष मानव अधिकार हनन्का घटना बढेको पाइएको छ । सन २०१७ को एक बर्षे अवधीमा ३८ वटा मानवअधिकार अनन्का घटना घटेका थिए, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले भने । तर सन २०१८ को (जनवरी देखि जुन सम्म) ६ महिनाको अवधीमा मात्रै ३५ वटा घटना घटेका छन् ।
अर्धबार्षिक समिक्षा कार्यक्रममा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानले मानवअधिकार हनन्का घटना सार्वजनिक गर्ने क्रमसंगै अपराध दुरुत्साहन गर्ने काममा समेत सहयोग पुगेको बताए । इन्सेकको नेपाल मानवअधिकार वर्ष पुस्तक २५ वर्षको इतिहासले हरेक जिल्लाको मानवअधिकार अवस्था बुझ्न श्रोत सामग्रीको रुपमा बिश्वास कायम भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई छ । जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसीले मानवअधिकार हनन्को अवस्थामा सुधार ल्याउन स्थानीय तहसंग इन्सेकले समन्वय गर्नुपर्ने आवश्यकता दर्शाए ।
दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले संकलित घटनाहरु मध्ये शुद्ध मानवअधिकार हनन्का घटनाको प्रकाशन गर्न सुझाव दिए । नेपाल बार एशोसिसनका जिल्ला सचिव प्रेमबहादुर थापाले कतिपय मुद्दामा आरोपितले सफाई पाउन सक्ने अवस्थाका कारण अदालतबाट फैसला भइसकेका घटनाहरु मात्र नेपाल मानवअधिकार वर्ष पुस्तकमा समेटिनुपर्ने धारणा राखे । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर नेपालीले मानवअधिकार सचेतना कार्यक्रम ग्रामीण इलाका अझैं बढी आवश्यकता रहेको बताए । सामाजिक सेवा केन्द्रको महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले बालविवाह समस्या रोकथाममा स्थानीय तह र सरोकारवालावीच सहकार्य हुन नसकेको टिप्पणी गरिन् ।

प्रतिक्रिया