कृषि प्राविधिक पढेका युवा व्यवसायिक तरकारी खेतीमा

कृषि प्राविधिक पढेका युवा व्यवसायिक तरकारी खेतीमा

दैलेख – दुल्लु नगरपालिका १३ मालिकाका निम बहादुर भण्डारी कृषि जेटिए अध्ययन गरेका युवा हुन् । बर्दियामा रहेको गुरासँ उच्च माध्यामिक विद्यालयमा १५ महिने कृषि जेटिए पढेका भण्डारी केहि समय जागरिको खोजीमा भौतारिए । सरकारी होस या प्राइभेट भएपनि जागरिको खोजीमा रहँदा भण्डारीले दैलेखको सोसेक संस्थामा रहेर ओजेटि गरे ।

आजेटि गर्दा गर्दै उनलाई तरकारी खेती गर्ने रहर पलायो । कृषि जेटिए पढाई सकेका भण्डारी अहिले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । कतिपयले कृषिलाई तल्लोस्तरको व्यवसायको रूपमा हेर्ने गर्दछन् भण्डारीले भने त्यसको विपरीत कृषि व्यवसाय गर्न पाएकोमा गर्व गर्छन । उनले व्यवसायिक रुपमा आलु, टमाटर, सिमी, बन्दा, काउली, काक्रा लगाएतका तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी खेती गरेर राम्रो दाम आम्दानी गर्र्दै आएको भण्डारीले बताए । तरकारी खेती मार्फत घरपरिवार चलाउन सजिलो भएको छ, भण्डारीले भने “तरकारी खेती गरेरै छोरालाई बोडिङ्ग स्कुलमा पढाएको छु ।”

टमाटर, काउली, बन्दा, काँक्रा, सिमी खेतीमा लागेका भण्डारीले तरकारी खेतीबाट जीवनस्तर सुधार्न सक्ने बताए । व्यावसायिक तरकारी खेतीमा लागेका निम बहादुर भण्डारीले जिल्लामै सफल कृषकको रूपमा चिनिने उदेश्य राखेर व्यवसायीक तरकारी खेती गरिरहेको बताए । मैले तरकारी खेतीबाट राम्रै आम्दानी गरेको छु, तरकारी खतीमा श्रीमती, आमा बुबाले पनि सघाउदै आउनु भएको छ, भण्डारीले भने ।

भण्डारी जस्तै सोही गाउँका अन्य युवाहरुले समेत व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।
आफुले उत्पादन गरेको तरकारी खेती संकलन केन्द्र नभएको गुनासो गर्दै उत्पादित कृषि जन्य बस्तु नजिकै रहेको बैंक बजारमा विक्री वितरण गर्दै आएको भण्डारीले बताए ।

दैलेखमा संचालन भएको सुआहारा–२ कार्यक्रमले उनलाई सहयोग गर्दै आएको छ । सुआहारा २ कार्यक्रमले मौसमी तथा बेमौसमी तरकारीको विउ उपलब्ध गराएको भण्डारीले बताए । सडक सुविधा भएको ठाउँ र बजारको नजिक भएमा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उनले बताए ।

विभिन्न सूचकका आधारमा ग्रामिण नमूना कृषकको रुपमा भण्डारीलाई छनौट गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक संदेश भट्टराईले जानकारी दिएका छन् । कृषकहरुलाई तिन सिजनमा तरकारीको विउ उपलब्ध गराएका छौ, भट्टराईले भने । जिल्लामा साविकका १४ वटा गाउँविकास समितिमा १ सय २१ जना ग्रामिण नमूना कृषक छनौट गरिएको उनले जानकारी दिए । भट्टराईका अनुसार १ सय २१ जना मध्ये ५ जना स्थानीय स्रोत व्यक्ति रहेका छन् ।

स्थानीय स्रोत व्यक्तिहरुलाई कृषि र कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरेको सुआहारा कार्यक्रमका तथ्यांक अधिकृत हरिकला खड्काले जानकारी दिइन् । उनका अनुसार कृषि र कुखुरा पालनको तालिम पाएका स्थानीय स्रोत व्यक्तिहरुलाई तरकारी खेती र कुखुरा पालनमा सहयोग गर्दै आएको छ ।

जिल्लामा व्यावसायिक तरकारी खेती गरेर धेरैले जीवनस्तर उकास्न सकेको सुआहारा कार्यक्रम जिल्ला संयोजक रजनी चौधरीले बताइन् । जिल्लाका ११ वटै स्थानीय तहका काम गर्दै आएको बताउदै चौधरीले भनिन् “पोषण, स्वास्थ्य, कृषि र सुशासनको क्षेत्रमा काम गरेका छौ ।”
व्यवसायीक तरकारी खेतीमा होमिएका युवाको तरकारी खेतीको अनुगमनमा पुगेका दुल्लु नगरपालिकाका प्र्रमुख घनश्याम भण्डारीले कृषि संकलन केन्द्रका लागि पहल थाल्ने बताए । व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका युवाहरुलाई प्रोत्साहन दुल्लु नगरपालिको विभिन्न कार्यक्रमहरु संचलन गर्ने प्रमुख भण्डारीको भनाई छ ।

यस्तै जिल्ला समन्वय समिति दैलेखका सदस्य बालकृष्ण केसीले व्यवसायिक तरकारी खेती मार्फत नगर, जिल्ला संगै मुलुललाई नै आर्थीक समृद्धी तर्फ अगाडी बढाउन सकिने बताए । उनले नगरपालिका भित्र रहेका युवा कृषकहरुलाई सहयोग गर्न दुल्लु नगरपालिकालाई आग्रह समेत गरेका छन् ।

व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका युवा निम बहादुर भण्डारीले जागिरको खोजीमा भौतारिनु भन्दा व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्न अन्य युवाहरुलाई सुझाव दिए । पछिल्लो समय खाडी मुलुक जाने युवाहरुको संख्यामा बृद्धि भएको छ, उनले भने “खाडी मुलुक जानु भन्दा आफ्नै देशमा व्यवसाय संचालन गर्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

प्रतिक्रिया