खुलेआम धर्म प्रचार, स्थानीय प्रशासन मौन

खुलेआम धर्म प्रचार, स्थानीय प्रशासन मौन

दैलेख असार १५ ।
दैलेखमा खुलेआम धर्म परिवर्तन गराउने गिरोह सक्रिय बनेको छ । क्रिश्चियन धर्मका प्रचारकहरु धर्म परिवर्तन गराउन प्रचार सामाग्रीहरु सहित घरघर पुगिरहेको स्थानीय नागरिकहरुले बताएका छन् । उनीहरुले अन्य धर्म मान्नेहरुलाई बिभिन्न किसिमका प्रलोभन देखाएर क्रिश्चियन धर्मावलम्वी बन्न प्रेरित गरिरहेको स्थानीय बासिन्दाको भनाई छ । धर्म प्रचारकहरु घरघरमा प्रचार सामाग्री सहित आएर धर्म परिवर्तनका लागी आग्रह गर्ने गरेको नारायण नगरपालिका २ का बखत बहादुर नेपालीले बताए । “विपन्न समुदायहरुमा रहेको कमजोरीको फाइदा उठाउँदै उनीहरुले धर्म परिवर्तन गर्न खाजेका छन्” उनले भने त्यसले भविष्यमा ठुलै समस्या सृजना गर्न सक्छ । यसरी धर्मको प्रचारप्रसार र परिवर्तन गर्ने गिरोहका कारण समाजमा साम्प्रदायिकता भड्किन सक्ने र सामाजिक सद्भाव खलबलिन सक्ने खतरा बढेको उनको बुझाई छ ।
धर्म प्रचारकहरुले मनोबैज्ञानिक शैलीमा स्थानीय बासीलाई धर्म परिवर्तन गराउन खोजेको नारायण नगरपालिका १ का मनोज थापाले वताए । उनले भने “अन्धविश्वासलाई आधार बनाएर धर्म परिवर्तन गराउन खोजिएको छ, त्यस प्रति सरकारका विभिन्न निकायले यसवारेमा सोच्नु पर्ने वेला आएको छ ।” उनले अगाडी भने “त्यसबारे नबुझ्ने बेला सम्म राम्रै मानेको हुन सक्छ, भविष्यमा यसले नकारात्मक असर पर्न सक्ने खतरा देखिन्छ कित सरकारले यस्तो गतिविधी रोक्नु पर्छ हैन भने हिन्दुवादीहरु अतिवादी भएर निस्कीनु पर्छ यसको विकल्प छैन ।”
क्रिश्चियन धर्मका प्रचारकहरुले दैलेखका आर्थिक अवस्था कमजोर रहेका वर्गहरुलाई निशाना बनाएका छन् । यहाँका दलित लगायत बिपन्न बस्तीमा पुगेर क्रिश्चियन बने बिभिन्न रोगहरु निको हुने लगायतका आश्वासन बाँडेर धर्म परिवर्तन गराउने कार्य भइरहेको छ । यसरी धर्म परिवर्तन गराउँदै हिड्नेहरुलाई निगरानी गर्न स्थानीय वासिन्दाले स्थानीय प्रशासन सँग माग गरेका छन् । धर्म प्रचारकहरु खुलेआम धर्म परिवर्तन गराउन हिँडिरहे पनि स्थानिय प्रशासनले कसैलाई रोकटोक नगरेको भन्दै स्थानीयले गुनासो समेत गर्दै आएका छन् ।
विशेष गरि दलित, जनजाती र विपन्न वर्गलाई निशाना बनाएको नारायण नगरपालिका ७ का नमराज थापाको वुझाई छ । उनले भने “आफु यसको कडा विरोधी भएको भन्दै आफुले प्रचार प्रसार भैरहेको देखेँ भने कडा रुपमा प्रस्तुत हुने गरेको छु ।” उनले विदेशीहरु आफ्नो देशमा काम नपाएर ठगि खाने मेसो गर्न नेपाल आएको उनले आरोप लगाए ।
यसबारे दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले धर्म प्रचार भइरहेको भन्ने विषयमा विभिन्न कोणबाट आवाज उठिरहेको बताउँदै यसको निगरानी गर्ने बताए । यस्तै प्रहरी प्रमुख सरोज पौडेलले शंकाष्पद व्यक्तिलाई निगरानी गरिरहेको बताउँदै कुनै व्यक्तिले आफुलाई धर्म परिवर्तन गराउन खोजेको भनी प्रहरीलाई खबर गरेमा धर्म परिवर्तन गराउन खोज्नेलाई कारवाहिको दायरामा ल्याउने बताए ।
नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यको दफा २६ उपदफा ३ मा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ भनिएको छ ।
धर्म परिवर्तनमा संलग्न भएको पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँ सम्मको जरिवाना गरिने व्यवस्था कानुनले गरेको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न भएको पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने कानुनमा उल्लेख छ । नेपालको संविधान धारा २६ ले पनि धर्म परिवर्तनलाई निषेध गरेको छ ।

प्रतिक्रिया