उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ

उपकुलपतिको गाडी तोडफोड, ६ जना विद्यार्थी पक्राउ

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाको गाडी तोडफोड भएको छ । विभिन्न माग सहित आन्दोलनरत इन्जिनियरिङ्ग संकायका विद्यार्थीले एमयूको केन्द्रिय परिषरमा राखिएके गाडी तोडफोड गरेका हुन् ।
विगत १२ दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले केन्द्रिय कार्यालयमा लगाएको ताला विश्वविद्यालय पदाधिकारीहरुले तोडेपछि सहमतिका लागि वार्ता बसाल्नुपर्ने माग राखेका थिए ।

विश्वविद्यालय पदाधिकारी र आन्दोलनरत विद्यार्थीबीच वार्ता बस्ने बारेमा सहमति हुन नसक्दा तोडफोड भएको हो । विश्वविद्यालय पदाधिकारीहरु आफ्ना मागप्रति जवाफदेही नभएको भन्दै विद्यार्थीहरुले एमयूको विस्तारित कार्यालयमा समेत ढुङ्गामुढा गरेका छन् ।
गाडी तोडफोड र विस्तारित कार्यालयमा ढुङ्गामुढा गर्ने ६ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टालिले पक्राउ गरेको छ । एमयूको केन्द्रिय क्याम्पस परिषरमा रिले अनसन शुरु गरेका विद्यार्थीहरुको आन्दोलनले उग्र बनेपछि विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार निकुञ्ज पाण्डे, न्यूटन वली, रामचन्द्र भण्डारी, केशव खड्का, निर्मल विसी र रामकुमार शाह पक्राउ परेका छन् ।
हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरू पूर्णरूपमा सञ्चालन गरिनुपर्ने र १० प्रतिशत विद्यार्र्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्ने लगायतका मागहरू विद्यार्थीले राखेका छन् । त्यस्तै लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै, इन्जिनियरिङ्ग संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने माग उनीहरुका छन् ।
इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्ग संघर्ष समितिले आन्दोलन थालेको हो । विभिन्न सात बँुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालय प्रशासन मौन देखिएकाले आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सदस्य विज्ञानराज कार्कीले    बताए ।
उनले विश्वविद्यालय पदाधिकारीहरुले विद्यार्थीका समस्या समाधान भन्दा पनि दादागिरी शैलीमा ताला तोडफोड गरेको आरोप लगाए । पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहाइ गर्नुपर्न माग गरे ।
यता, विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले वार्ताका लागि पदाधिकारी तयार रहेको बताए । उनले वार्ताको समय निर्धारण हुनु अगाडी नै विद्यार्थी आक्रोशित भएर ढुङ्गामुढा र तोडफोड गरेको बताए ।

प्रतिक्रिया