एक सिजनमा साढे ५ करोडको मकै बिक्री

एक सिजनमा साढे ५ करोडको मकै बिक्री

रुकुम पश्चिम — यहाँको एउटै गाउँबाट एक सिजनमा मात्रै साढे पाँच करोड बढीको मकै बिक्री भएको छ । मकै भित्र्याएकोदेखि चैत महिनासम्म पाँच करोड ६० लाख रुपैयाँको मकै बिक्री भएको स्थानीयले बताए । आठबिसकोट नगरपालिकाको ४, ५ र ६ नम्बर वडा गोतामकोटबाट गत सिजनमा भित्र्याइएको मकै डोल्पामा बिक्री गरिएको छ ।

स्थानीय व्यापारीले प्रतिपाथी एक सय रुपैयाँमा गाउँलेबाट खरिद गरेको मकै डोल्पाको खदाङ पुर्याएर प्रतिपाथी एक सय दसमा बिक्री गरेका छन् । स्थानीय व्यापारी पृथ्वीबहादुर विष्टले गत सिजनमा उत्पादन भएको २ हजार ८ सय क्विन्टल बढी मकै डोल्पामा बिक्री भएको बताए ।

आठबिसकोट नगरपालिकाका ४, ५ र ६ अर्थात साबिकको गोतामकोटका विभिन्न गाउँबाट सबै व्यापारीहरूले ७०ट्याक्टर बढी मकै डोल्पामा बिक्री गरेको विष्टको भनाइ छ । ‘गत सिजनमा उत्पादन भएको मकै गाउँलेले ५ करोड ६० लाख आसपासमा बिक्री गरेको अनुमान हामीले गरेका छौं,’ विष्टले भने, ‘सबै जना व्यापारीले खरिद गरी डोल्पा बिक्री गरेको हिसाब गर्दा ७०ट्याक्टर बढी मकै बिक्री भएको देखिन्छ ।’ त्यसअघिका सिजनमा झन् त्यो भन्दा बढी मूल्यको मकै बिक्री गरेको अनुभव व्यापारीहरूसँग छ ।

खच्चडको दानाका रूपमा मकै बिक्री हुने गरेको हो । सुरु–सुरुका वर्षमा गोतामकोट, जाजरकोटको तल्लु, चौखालगायतका क्षेत्रमा मकै बिक्री हुने गरेको भए पनि पछिल्ला केही वर्षदेखि सबै मकै डोल्पामै बिक्री हुने गरेको छ । सडक निर्माण हुँदै जाँदा खच्चड व्यवसाय पनि माथि–माथि जाने भएकाले मकै बिक्री पनि डोल्पातिरै हुने गरेको व्यापारीहरू बताउँछन् । खच्चडको राम्रो दानामा मकै र धान पर्ने भए पनि धान नपाइने हुनाले त्यस क्षेत्रका सबै खच्चडलाई मकैको दाना खुवाइने गरेको छ ।

झन्डै दस वर्षअघिदेखि हरेक सिजनको मकै यसरी नै बिक्री वितरण हुँदै आएको छ । सुरुका केही वर्ष थोरै मकै बिक्री भए पनि पछिल्ला ६ वर्ष धेरै मकै बिक्री भएको व्यापारीको भनाइ छ । गोतामकोटको मकैले मात्रै नपुगेर स्यालाखदी र जाजरकोटबाट समेत मकै ल्याएर डोल्पामा बिक्री गरेको विष्टले बताए । व्यापारीहरूले मकै लगाएदेखि नै किसानलाई त्यसको मूल्य दिन थाल्छन् । ‘मकै उत्पादन हुने पूर्वअनुमान गरेर पेस्कीस्वरूप बारीबाटै मकै किन्ने चलन छ,’ स्थानीय विष्णाकुमारी विष्टले भनिन्, ‘मकै भित्र्याएपछि बाँकी पैसा बुझाएर व्यापारीहरूले लैजाने गरेका छन् ।’

पछिल्लो समय उक्त क्षेत्रका अधिकांश किसानले आफूले उत्पादन गरेको मकै बीउ मात्रै राखेर बिक्री गर्ने गरेका छन् । घरनजिकै सडक पुगेपछि बजारबाट आएको चामल खाने र आफूले उत्पादन गरेको मकै बिक्री गर्ने चलन रहेको ४ नम्बर वडाध्यक्ष बाबुराम विष्टले बताए ।

प्रतिक्रिया