बैवाहिक बलात्कार मुद्दाका आरोपीलाई आठ वर्ष कैद !

बैवाहिक बलात्कार मुद्दाका आरोपीलाई आठ वर्ष कैद !

दैलेख, असार २१ – चामुण्डाबिन्द्रासैनी नपा–४ चिमेगाउँका ४० वर्षीय पति सुर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

३६ वर्षीया श्रीमती डम्बरकुमारी रावतलाई बलात्कार र ज्यानमार्ने उद्योग समेत उद्योग मुद्दामा सो सजाय भएको अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज सो फैसला भएको हो । मुलुकी ऐन ज्यानमार्ने महलको १५ नम्वर अनुसार ५ वर्ष तथा सोही ऐन जवरजस्ती करणी महलको ३ (६) बमोजिम अप्राकृतिक चीज घुसाएको ठहर भएअनुसार ३ वर्ष समेत ८ वर्ष कैद र जवरजस्ती करणी महलको १० नम्वर बमोजिम पीडितलाई क्षतिपूर्ति दिनू भनी फैसलामा लेखिएको छ ।
गत चैत ७ गते बेहोस हुने गरी कुटपीटसंगै श्रीमतीको गुप्ताङ्गमा प्लाष्टिक पाइपले घोचेर घाऊ बनाएका आरोपमा प्रहरीले चैत ९ गते पक्राउ गरी अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत चैत २८ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।
घटनाको विषयमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकं) लगायतका निकायहरुले चासो राखेका थिए । राष्ट्रिय सञ्चार माध्यमले पनि यो घटनालाई महत्व दिएका थिए ।

सार्वजनिक चासोको विषय बनेपछि महिला तथा बालकालिका कार्यालय र सामाजिक सेवा केन्द्र (सोसेक)ले पीडित महिलाको उपचार र पुनर्स्थापनामा सहयोग गरेका थिए ।

प्रतिक्रिया