राउटे समुदाय अब गुराँस गाउँपालिकाको स्थायी नागरिक

राउटे समुदाय अब गुराँस गाउँपालिकाको स्थायी नागरिक

दैलेख, २६ असार ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बस्दै आएका राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदै सम्म प्रयास गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न मानिरहेका छैनन् । राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गर्ने गरेको छ । फिरन्ते रुपमा बस्दै आएको यो समुदायका व्यक्तीहरुको अब स्थायी ठेगाना भएको परिचयपत्र दिइने भएको छ ।
दैलेख गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिने भएको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनिहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका दैलेख कायम हुने भएको छ ।
उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि सुरुवात यसै आर्थिक बर्षबाट गरिने गाउँपालिकाले जनाएको छ । जसको लागि दुइजना कर्मचारी समेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
दुइैजना कर्मचारी मध्ये एकजनाले राउटेको स्वास्थ्य हेर्ने एचए लेवलका छन् भने अर्का एकजनाले उनिहरुलाई शिक्षाको क्षेत्र सिकाउने छन् । अध्यक्ष ओलीले दिएको जानकारी अनुसार  राउटे समुदायलाई सामाजिक परिचालनको लागि एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले गर्नेछ । नियुक्त गरिएका कर्मचारीहरू गाउँपालिकाकाे समन्वयमा सामाजिक सेवा केन्द्र (साेसेक) नेपालका कर्मचारी हुनेछन् ।

एईआईएन लक्जेम्वर्गले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत राउटे परियोजनाका लागि सन २०१८ देखि २०२० सम्म तिन वर्षको अवधिमा १ करोड २७ लाख लगानी गर्ने कुरा अाेलीले वताए । यसको लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले राउटे परियोजना स्वीकृतिको लागि समाज कल्याण परिषदमा पेश गरेको उनले जानकारी दिए ।

‘गाउँपालिकाकाे समन्वयमा सामाजिक सेवा केन्द्र (साेसेक) नेपालले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ति कर्मचारीहरुबाट नै हुन्छ ।’ उनले थपे ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनिहरुले गर्नेछन्, भने रातीमा प्रोजेक्टबाट उनिहरुको बालबालिकालाई सिकाउने, सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलाप नियुक्त भएका कर्मचारीहरुले गर्नेछन् ।’ उनले भने ।
उनले राउटेलाई दिइने परिचयपत्र छपाईको काम भइसकेको भन्दै अबको केही दिनमा नाम,थर र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र मिति ः २०७५ असार ३० गते वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।
राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई भत्ता लिन ठाउँ ठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए ।
उनले भने, ‘अहिलेसम्म भत्ता ढिलो गरी आउने गरेको थियो, अब भत्ता समयमै आउछ भन्ने लागेको छ, उनले थपे ‘भत्ता छिटो आयो भने मेरा जनता भोकै बस्ने समस्या कम हुन्छ, दशै, तिहार मनाउन पनि सजिलो हुने थियो ।’ अहिले राउटे गुराँस गाउँपालिकाको वडा नम्बर ८ मा को गर्चे खोलामा बस्दै आएका छन् । विगत फागुनदेखि गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा बसेका छन् ।

प्रतिक्रिया