राउटे जातीको पहिचान, अब स्थायी नागरिक

राउटे जातीको पहिचान, अब स्थायी नागरिक


दैलेख असार २६ ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् । कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन् । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन ।

फिरन्ते जाति राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदै सम्म प्रयास पनि गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन् । राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ । समुदायको महाशत्रु हुन, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफ्नो परम्परामा कडा देखिएतापनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको छ ।

स्थायी ठेगाना भएको परिचयपत्र

फिरन्ते रुपमा जिवनयापन गर्दै आएका यो राउटे समुदायका व्यक्तिहरुलाई अब स्थायी ठेगाना भएको परिचयपत्र दिइने भएको छ । दैलेखको गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिने भएको हो ।

२०७५ जेठ ३१ गते नेपाल सरकारको मन्त्री स्तरिय निणर्य अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नाम थर र ठेगाना खुल्ने गरि परिचयपत्र वितरण गर्न यहि असार ३ गते गरेको परिपत्र अनुसार अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका कायम हुने भएको छ । राउटेलाई दिइने परिचयपत्र छपाईको काम अन्तिम चरणमा पुगेको भन्दै नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र यहि असार ३० गते वितरण गर्ने तयारी गरिएको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनाए ।

‘राउटे परियोजना’ संचालन गरिने ।

एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत राउटे परियोजना संचालन गर्न लागिएको छ । परियोजनाले सन २०१८ देखि २०२० सम्म तिन वर्षे अवधिमा १ करोड २७ लाख लगानी गर्न लागेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।

राउटे परियोजना स्वीकृतिको लागि गुराँस गाउँपालिकाको पूर्व स्विकृती लिई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले समाज कल्याण परिषद्मा पेश गरेको संस्थापक अध्यक्ष थापाले जानकारी दिए ।
उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको सुरुवात यसै आर्थिक बर्षबाट गरिने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । त्यसका लागि तिन जना कर्मचारी समेत नियुक्त गरिसकिएको अध्यक्ष ओलीले जानकारी दिए ।
तिन जना कर्मचारीमध्ये एकजना अहेवले राउटेको स्वास्थ्य क्षेत्र हेर्नेछन् भने अन्य दुई जनाको जोडी कर्मचारीले उनिहरुलाई आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गर्नेछन् । राउटे समुदायलाई सामाजिक परिचालनको लागि कर्मचारी नियुक्ती गाउँपालिकाको समन्वय र एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले गरेको छ । ‘गाउँपालिकाको समन्वयमा सोसेक दैलेखले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ति कर्मचारीहरु बाटनै हुन्छ ।’ अध्यक्ष ओलीले भने ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनिहरुले गर्नेछन, भने रातीमा प्रोजेक्टरको माध्ययमबाट समुदायका बालबालिकालाई सन्देशमुलक भिडियोहरु देखाउने, तथा पढ्न सिकाउने छन् । ’

राउटे समुदायमा खुसी

स्थायी ठेगाना भएको परिचय पत्र पाउने भएसंगै समुदायका मुखियाहरु खुसी भएका छन् । राउटेका मुखिया सुर्यनारायण शाहीले भने ‘हामीलाई सरकारले दिन्या भत्ता लिन ठाउँ ठाउँ घुम्नु पढ्न्या थियो, अब हामलाई एकै ठाउँबाट भत्ता दिन्या भन्याको छ, मेरा जनता भोकै बस्नु पढ्न्या छैन् । भत्ता पनि ढिलो आउने ग¥या थ्यो, अब भत्ता समयमै आउछ भन्ने आशा लाग्या छ, उनले थपे ‘भत्ता छिटो आयो भन्या मेरा जनता भोकै मन्र्या छैनन्, चार्डवार्ड मान्न पनि सजिलो हुन्या छ, मेरा जनताले पाउन्या भत्ता सरकारले महिनावारी दिया राम्रो हुन्या छियो ।’ मुखिया शाहीले भने ।
राउटे समुदाय अहिले गुराँस गाउँपालिकाको वडा नम्बर ८ को गर्चे खोलामा बस्दै आएका छन् । विगत फागुन महिना देखि राउटे समुदाय गुराँस गाउँपालिकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए ।

 

 

प्रतिक्रिया