एकै वडाबाट ५ करोडको तरकारी

एकै वडाबाट ५ करोडको तरकारी

दैलख, मुगु — दैलेखको नारायण नगरपालिका– २, जाहारकोटका कृषक सर्वराज भण्डारीले १८ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । उनले तरकारी खेतीबाटै वार्षिक ९ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्छन् । शिक्षण पेसाबाट अवकाश पाएका स्थानीय गणेश थापाले पनि व्यावसायिक तरकारी खेती गरिरहेका छन् । ६ रोपनी जग्गामा तरकारी खेती गरेर यस वर्ष चार लाख आम्दानी गरेको उनले बताए ।

उनीहरू मात्र होइन, जाहारकोटमा सबै घरधुरीले व्यावसायिक तरकारी खेती गरेका छन् । सरकारी र अन्य कार्यालयमा कार्यरत कर्मचारीले बिहान–बेलुकाको समय तरकारी उत्पादनमा लगाएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जाहारकोटमा वर्षमा ५ करोड बढीको तरकारी उत्पादन हुने गरेको छ ।

भण्डारीले उत्पादन गरेको तरकारी नेपालगन्जसम्म पुग्ने गरेको छ । आफूसँगै परिवारका १२ सदस्यलाई तरकारी खेतीमा संलग्न गराएको उनले बताए । ‘तरकारीमा यति राम्रो आम्दानी छ, किन अरू व्यवसाय गर्ने रु’ उनले भने, ‘प्राकृतिक प्रकोप नभए वर्षको १२ लाखसम्म आम्दानी गर्ने गरेको छु । वार्षिक ९ लाख आम्दानी कहिल्यै घटेको छैन ।’ पाँच वर्षअघि भाडामा जग्गा लिएर तरकारी उत्पादन सुरु गरेका भण्डारीले तरकारी लगाएको सबै जग्गा आफ्नो नाममा खरिद गरिसकेका छन् ।

तरकारी बेचेरै सुर्खेतमा जग्गा खरिद गरेको उनी बताउँछन् । ३६ वर्षसम्म शिक्षण पेशामा हुँदा नदिएको खुसी आफूलाई तरकारी उत्पादनले दिएको थापाको भनाइ छ । ‘शिक्षण पेसामा हुँदा पनि तरकारी खेति गर्दै आएको थिए,’ उनले भने, ‘अहिले पूरै समय तरकारी खेतीलाई दिएको छ । खेतीलाई व्यावसायिक बनाएको छु ।’

विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा असर पर्ने भन्दै किसानले अर्गानिक तरकारी खेतीमा जोड दिएका छन् । स्थानीय किसानले आईपीएम कृषक पाठशाला मार्फत जैविक विषादीको प्रयोग गरी रोग–कीरा नियन्त्रण गर्न थालेका छन् । जाहारकोटलाई नमुना तरकारी उत्पादन केन्द्रको रूपमा विकास गर्ने नारायण नगरपालिकाको योजना छ । नगरप्रमुख रत्नबहादुर खड्काले वडा नं। २ र ११ लाई तरकारीको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने योजना रहेको बताए । ‘त्यसका लागि नगरपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ नगरप्रमुख खड्काले भने ।

तरकारीबाट आत्मनिर्भर
मुगको छायानाथ रारा नगरपालिका–५ का बालचन्द्र कार्की जिल्लामा व्यावसायिक तरकारी खेतीका नमुना कृषक हुन् । धान रोप्ने खेतमा उनले आधुनिक प्रविधिबाट टमाटर र अन्य तरकारी खेती गरिरहेका छन् । स्नातक तह दोस्रो वर्षमा अध्ययरत उनले दुई रोपनीमा टमाटर र तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

खेतको भित्री भागमा टमाटर र बाहिरी भागमा बन्दा, काउली, खुर्सानी, लसुन, गाजर, भान्टालगायतका तरकारी लगाएको बताए । माघमा एक हजार दुई सय टमाटरका बोट रोपेका उनले पाक्दै गरेका टमाटर देख्दा गरेको दुस्ख भुल्दै गएको बताए । उनी र उनकी पत्नी विष्णुमाया रावल दिनभरजसो बारीमै व्यस्त हुने गरेका छन् । बिहान एक डोको र बेलुका एक डोको टमाटर सदरमुकाम गमगढीमा बिक्री गर्ने गरेको उनको भनाइ छ । दैनिक ७० किलो टमाटर बिक्री गर्दै आइरहेको उनले जनाए ।

सदरमुकाममा अहिले ८० रुपैयाँ प्रतिकिलोमा टमाटर बिक्री भइरहेको छ । दैनिक दुई हजार ८ सय रुपैयाँ आम्दानी भइरहेको उनले बताए । महिनामा करिब ८५ हजारसम्म कमाइ हुने कार्कीले जनाए । बारीमा लगाएको अन्य तरकारीभन्दा टमाटरले धेरै आम्दानी दिन थालेको उनी बताउँछन् । ‘कृषिमा पनि राम्रै कमाई छ भन्ने उदाहरण दिन र आत्मनिर्भर बन्न तरकारी खेती गरिरहेको छु,’ उनले भने, ‘राम्रो कमाइ गर्न विदेश जानु र जागिर खानुपर्छ भन्ने नै छैन । आफ्नै घरमा बसेर राम्रो कमाइ गर्न थालेपछि धेरैले प्रशंशा गर्न थालेका छन् ।’

टमाटर टिप्ने, सिँचाइ गर्ने, गोडमेल गर्नेलगायतका काममा कार्की दम्पती व्यस्त हुन्छन् । विष्णुमायाले समेत जेटीए उत्तीर्ण गरेकी छन् । ‘जागिरको पछि नलागेर कृषिमै मैले राम्रो प्रगति देखें,’ उनले भनिन्, ‘मिहिनेतअनुसार कमाइ छ ।’ उनले बजारको पनि समस्या नभएकाले आम्दानी राम्रो रहेको जानकारी दिइन् ।

इन्टरनेटमा हेरेर टमाटर खेती गर्ने जाँगर पलाएको कार्कीले बताए । वरिपरिको अरू जग्गासमेत भाडामा लिएर तरकारी खेतीलाई विस्तार गर्ने योजना रहेको उनले जनाए । ‘एक प्लटमा डोरी हालेर टमाटर फलाएको छु, अर्को प्लटमा स्थानीय प्रविधिमै टमाटर उत्पादन गरिरहेको छु,’ उनले भने, ‘कम्पनीकै रूपमा दर्ता गरेर जिल्लाकै ठूलो र नमुना तरकारी फर्म बनाउने योजना छ ।’

प्रतिक्रिया