“डा.केसीलार्इ काठमाडौ‌ं लैजाऊ”

“डा.केसीलार्इ काठमाडौ‌ं लैजाऊ”

सुर्खेत – जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै स्थानीयले उनलाई काठमाडौं लैजान आग्रह गरेका छन् । जिल्लामा आईसीयु र भेन्टिलेटर सुविधा उपलब्ध नहुँदा एघार दिनदेखि अनशनरत डा. केसीको उपचारमा समस्या भइरहेको छ ।डा. केसीले चिकित्सकले दिने अत्यावश्यक औषधिसमेत अस्वीकार गरेपछि स्थानीय बासिन्दाले उनको जीवन रक्षाको माग गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूले डा. केसीको सामान्य उपचारमा गरिरहेका छन् । प्रतिष्ठानमा विशेष उपकरण नभएको र जटिल उपचार पनि सम्भव नभएपछि डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको हो ।सरकारले मागको सुनुवाइ नगरेको र जुम्लामा डा. केसीको भरपर्दो उपचार हुन नसकेपछि स्थानीय बासिन्दाले डा.केसीलाई तत्काल काठमाडौं लगेर जीवनरक्षा गरिदिन माग गरेका हुन् । उनको जीवनरक्षाको माग गर्दै स्थानीय महिलाले मंगलबार सदरमुकाम खलंगामा प्रदर्शन समेत गरे । उनीहरूले तत्काल डा.केसीको जीवनरक्षाका लागि काठमाडौंमा लगेर उपचार गर्न माग गरेका छन् ।

‘केसीका सबै माग जायज छन्, सरकारले सम्बोधन गर्नुपर्छ’, स्थानीय महिला अगुवा हरि महतले भनिन्, ‘त्यसअघि राज्यले डा. केसीको जीवनरक्षा गर्नुपर्छ, उहाँलाई तत्काल काठमाडौं लगियोस् ।’दिनप्रतिदिन डा। केसीको स्वास्थ्य जटिल बन्दै गएपछि उनको उपचारमा संलग्न चिकित्सकहरूले समेत केसीलाई तत्काल काठमाडौं लैजान सुझाव दिएका छन् ।डा.केसीलाई संक्रमणबाट बचाउन हामीले विशेष कक्षमा राखेर उपचार गरेका छौं, तर हामीसँग आईसीयु र भेन्टिलेटरको सुविधा छैन’, केसीको उपचारमा संलग्न डाक्टर प्रवीणकुमार गिरीले भने, ‘कुनैबेला जे पनि हुनसक्छ, हामीले तत्काल काठमाडौंको अस्पतालमा लैजान सुझाव दिइसकेका छौं ।’

अनशनरत डा. केसीले आवश्यक औषधिसमेत अस्वीकार गरेकाले थप जटिलता पैदा भएको गिरीको भनाइ छ । दिनहुँ स्वास्थ्य जटिल बन्दै गएपछि चिकित्सकहरूले तत्काल काठमाडौं लगेर केसीको जीवन रक्षा गरिदिन आग्रह गरिरहेका छन् ।नागरिक समाज जुम्लाले पनि डा। केसीको जीवनरक्षाको माग गरेको छ । ‘केसीको स्वास्थ्य जटिल बन्दै गयो, अब उनको जीवन रक्षा गरौं,’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘हामी केसीको स्वास्थ्य अवस्थाप्रति चिन्तित बनेका छौं, उनलाई तत्काल काठमाडौं लगेर सरकारले जीवनरक्षा गर्नु पर्दछ ।’

चिकित्सकहरूले डा. केसीको हालसम्मको स्वास्थ्य अवस्थाबारे बुधबार रिपोर्ट जारी गर्ने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले चिकित्सकहरूको रिपोर्टका आधारमा डा. केसीको आकस्मिक उद्धार गरिने जनाएको छ । यसका लागि तयारी अवस्थामा रहेको स्थानीय प्रशासनको दाबी छ ।

प्रतिक्रिया