पहिरोको जोखिममा ‘नमुना बस्ती’

पहिरोको जोखिममा ‘नमुना बस्ती’

फोटो – बर्षेनी पहिरोको जोखिममा पर्दै आएको नमूना बस्ती ।

दैलेख असार २७ ।
२०७२ साउन ३० गते राती अविरल बर्षात संगै आएको पहिरोमा पुरिएर नमुना बस्तीका तिन जनाको ज्यान गयो । पहिरोमा पुरिएर एकै घरका दुई बालबालिका सहित तिन जनाले ज्यान गुमाएका थिए । पहिरोमा पुरिएर २१ बर्षिया रुपा बादी, अढाई वर्षकी सपना बादी र डेढ महिना मात्रै पुगेका जित वहादुर बादीले ज्यान गुमाएका थिए । दिपक बादी भने घाइते भएका थिए ।

एकै परिवारका तिन जनाको मृत्यु पछि रातह रकम लिएर बस्तीमा पुगेका सरोकारवाला निकायका प्रमुखहरुले बस्तीलाई सुरक्षित स्थानमा सार्ने आश्वासन दिइर फर्किए । त्यसयता बस्ती सुरक्षित स्थानमा सार्नका लागि बेला बेला खुवै चर्चाको विषय पनि बन्यो । तत्कालिन अवस्थामा बस्ती स्थानान्तरणको लागि थुप्रै योजनाहरु पनि बने ।
सुरक्षित बस्तीका लागि धेरै नक्साहरु कोरिए, तर कागजमा । त्यसयता तिन वटा निर्वाचनहरु भए, स्थानीय तह, प्रदेसभा र प्रतिनीधि सभा । निर्वाचनमा होमिएका दलहरु नमूना बस्तीमा प्रत्येक घरदैलोमा पुगेर भोट मागे । “सुरक्षित ठाउँमा बसोबास र लालपुर्जा” उनिहरुको चुनावी नारा नै बनेका थिए । निर्वाचनका बेला उम्मेदवारले स्थायी बास र जीविकोपार्जनको आश्वासन देखाए पनि अहिले फर्केर नहेरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । बस्तीमा पहिरोको त्रास बढ्दै गएपनि स्थानीय सरकार भने आँखा बन्द गरेर बसेको बस्तीका स्थानीय बासीले बताएका छन् ।
तत्कालिन द्धन्द्धका समयमा विस्थापित भएर दैलेख सदरमुकामको गणेशचोक नजिकै बसोबास गर्दै आएका नमूना बस्तिका बादी समुदाय हरेक बर्षातमा पहिरोको जोखिम झेल्दै आएका छन् । एकै घरका तिन जनाको ज्यान गएपछि त्रसित बनेका नमुना बस्तीका बादी समुदायले पटक–पटक नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पहिरोबाट बस्ती जोगाउन माग गरे पनि बेवास्ता हुँदै आएको गुनासो गरेका छन् ।

भिरालो स्थानमा बस्ती भएकाले बर्सेनि बादी समुदायलाई पहिरोको त्रास हुने गरेको छ । यस वर्ष पनि बस्तीको माथिल्लो भागबाट पहिरो जान सुरु भएपछि स्थानीय त्रसित बनेका छन् ।अस्थायी वासस्थान भएकाले सुरक्षित स्थानमा आफूहरूलाई स्थानान्तरण गर्नुपर्ने समुदायको माग छ । ‘पानी नपरेका दिन मात्र सुत्ने गरेका छौं,’ समुदायकी अगुवा पवा बादीले भनिन, ‘आकाशमा पानी पर्न लागे रातभर जाग्राम बस्छौ ।’ उनले आर्थिक अवस्था कमजोर भएकाले पक्की घर बनाउन नसकिएको बताइन् । उनले वर्षौंदेखि लालपुर्जा नपाएकाले अन्यत्र स्थानान्तरण गर्न सरकारसँग माग गरिन् ।
स्थानीय कमला बादीले द्वन्द्वको समयमा नमुना बस्तीमा आएर बसेको बताइन ।

‘वर्षौं बित्यो सरकारले न लालपुर्जा दियो, न सुरक्षित स्थानमा बस्न दियो,’ उनले भनिन्, ‘अहिले पहिरोको जोखिम बढ्दै गएको छ । सबै निकायलाई यसबारे जानकारी गरायौं तर कसैले वास्ता गरेनन ।’ नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेले तत्काल पहिरो रोकथाम गर्न पहल गरिने बताए । ‘तत्कालका लागि पहिरो रोक्न ग्याबिन तारजाली राखिनेछ,’ उनले भने, ‘आगामी वर्ष उनीहरूका लागि स्थायी वासस्थानको व्यवस्था गरिनेछ ।’ उनले अधिकांश घरधुरी विपन्न भएकाले वैकल्पिक व्यवस्था गर्न नसकेको बताए ।

वर्षा भर्खर सुरु भएकाले समयमै रोकथाम गर्न सके बस्ती सुरक्षित हुने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बादी समुदायलाई पहिरोको त्रासबाट जोगाउन आवश्यक पहल गरिने जनाए । ‘तत्काल पहिरोको त्रासबाट उनीहरूलाई मुक्त बनाइनेछ,’ उनले भने, ‘वर्षायाम सकिएपछि विभिन्न निकायको सहयोगमा उनीहरूलाई सुरक्षित बसोबासको व्यवस्था मिलाइनेछ ।’ नारायण नगारपालिकाका प्रमुख रत्नबहादुर खड्काले नमुना बस्तीको समस्या समाधानका लागि छलफल भइरहेको जनाए । बर्षेनी पहिरोको जोखिममा पर्दै आएका उक्त बादी समुदाय लामो समयदेखि लालपुर्जाविहीन जग्गामा बस्दै आएका छन् ।

 

प्रतिक्रिया