निजी भन्दा सरकारी विद्यालय अब्बल !

निजी भन्दा सरकारी विद्यालय अब्बल !

फोटो – गुराँस गाउँपालिका ८ लालीकाँडाको खनारामा रहेको जनसहयोग नेपाल राष्ट्रिय आधारभुत विद्यालय ।

दैलेख असार २८ ।
पछिल्लो समय ग्रामिण भू–भाग होस् या सहरका अधिकाँश अभिभावकले आफ्ना छोरा छोरीलाई सरकारी विद्यालय छोडेर निजी विद्यालयमा अध्यापनका लागि पठाउछँन्, कारण सरकारी भन्दा निजी विद्यालयमा पढाईको गुणस्तर राम्रो हुन्छ भनेर । तर गुराँस गाउँपालिका ८ लालीकाँडाको खनारा बस्तीका स्थानीय अभिभावकहरुले आफ्ना छोरा छोरीहरुका लागि सरकारी विद्यालयनै छनौट गर्ने गरेका छन् । उनिहरुले आफ्ना बालबच्चालाई नजिकै रहेको निजी विद्यालयमा नपठाएर सरकारी विद्यालयमा अध्यापन गर्न पठाउँछन् ।
जनसंख्याको हिसावले कम रहेको खनारा बस्तीका २४ जना बालबालिका खनारामा रहेको जनसहयोग नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययन गर्दै आएका छन् । उक्त विद्यालय निजी भन्दा अब्बल छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुको अथक प्रयास पछि विद्यालयमा परिवर्तन आएको विद्यालयका अभिभावकहरु बताउँछन् । कक्षा ३ सम्म पठन–पाठन हुँदै आएको उक्त विद्यालयको सबै कक्षा कोठामा पि–फर्म र कार्पेटको व्यवस्था गरिएको शिक्षिका चित्रा कुमारी वलीले जानकारी दिइन् ।

गुणस्तरीय सिकाई वातावरणका सबै सूचकहरु विद्यालयले पुरा गरेको छ । विद्यालयमा पुस्तकालयको उचित व्यवस्थापन गरिएको छ । जहाँ बाल सिकाई सामाग्रीहरु राखिएको छ । शिक्षकले विद्यार्थीलाई कहिल्यै पढ्नका लागि दवाव दिनु पर्दैन, उनीहरु आफै मन लाएर पढ्ने गरेका छन् । विद्यालयका शिक्षकहरुले शैक्षिक सामग्री निर्माण तथा विषयगत तालिम पाएको विद्यालयका प्रधानाध्यापक भरत कुमार वलीले जानकारी दिए । मौखिक रुपमा गुनासोहरु राख्न नसक्ने बालबालिकाहरुका लागि उजुरी पेटिका मार्फत गुनासो राख्न सहज बनाइएको प्रअ वलीले बताए । बस्तीमा जनसंख्या कम भएकाले विद्यालयमा बालबालिकाहरुको संख्या कम भएको हो, प्रअ वलीले भने, “कक्षा ५ सम्म संचालन भइरहेको भएपनि विद्यालयमा विद्यार्थीको संख्या कम भएपछि गाउँपालिकाले विद्यालय मर्ज गरेको थियो ।”
विद्यालयका जोखिममा बालबालिकाहरुले प्रत्येक बर्ष छात्रबृति पाउदै आएका छन् । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा संचालित सहयात्रा परियोजनाले जोखिममा परेका बालबालिकाहरुलाई छात्रबृति (शैक्षिक सामग्री) प्रदान गर्दै आएको सहयात्रा परियोजनाका बाल संरक्षण अधिकृत निर्मल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया