राउटेलाई स्थायी बासिन्दाको प्रमाण !

राउटेलाई स्थायी बासिन्दाको प्रमाण !

दैलेख असार ३१ ।
राउटे जाती नेपालको कर्णाली र ७ नं. प्रदेशका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन् । फिरन्ते जाती राउटेको न स्थायी बास थियो, न त ठेगाना नै । स्थायी बास र ठेगाना विना फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेका छन् । जिल्लाको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरेको हो ।

फिरन्ते रुपमा जिवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिहरुलाई स्थायी ठेगाना भएको प्रमाण प्रदान गरिएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओली सहितको टोलीले संयुक्त रूपमा परिचयपत्र वितरण गरेका हुन् । गुराँस गाउँपालिका–८ पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो ।


दैलेखको गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र प्रदान गरेको हो । गाउँपालिकाको असार १५ गते बसेको गाउँकार्यपालिका बैठकले राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याई एकद्वार प्रर्णालीद्धारा भत्ता वितरण गर्ने र स्वास्थ्य तथा सुरक्षाका अन्य सुविधा प्रवाह गर्न परिचयपत्र दिने निर्णय गरको थियो । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेठ ३१ गते गाउँपालिकालाई परिचयपत्र वितरण गर्न परिपत्र गरेको थियो ।
गाउँपालिकाले अति लोपोन्मुख समुदायका लागि दिइने सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र वितरण गरेको हो । अबदेखि स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । गाउँपालिकाले प्रदान गरेको स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ । परिचयपत्र ग्रहण गर्ने पहिलो व्यक्ति महिनबहादुर शाही बनेका छन् । उनि समुदायका पूर्व मूखिया हुन् भने अहिले समुदायका संरक्षक छन् ।

‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याई, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । ‘परिचयपत्र वितरणपछि पहिलो पटक राउटे समुदायको विवरण समेत सूचीकृत भएको छ,’ गाउँपालिका अध्यक्ष ओलीले भने, । दैलेख सहित सुर्खेत, सल्यान, दाङ, अछाम, कालिकोट लगायतका जिल्लामा बसोबास गर्ने राउटे समुदायले अव गुराँस गाउँपालिका मार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । उनले राउटे समुदायलाई कालान्तरमा नागरिकता पनि प्रदान गरिने बताए ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले राउटे समुदायलाई परिचय पत्र वितरण संगै उनिहरुको यकिन तग्यांक सूचीकृत भएको बताए । यसले सामाजिक सुरक्षा भत्ता वितरणमा सहज हुनेछ, हामीले सके सम्म राउटे समुदायलाई गुराँस गाउँपालिका भित्र बसोबास गर्न आग्रह गर्नेछौ ।’ प्रजिअ न्यौपानेले भने ।
परिचयपत्र वितरणमा सहजीकरण गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले समुदायका बालबालिका देखि बृद्ध सम्म सबैको फोटा सहितको परिचय पत्र बनाउने बेला थुप्रै समस्याहरु झेलेको बताए । सरकारले नयाँ अभियान थालेकाले ढिलो, चाँडो सबै राउटेलाई परिचय पत्र वितरण गरि उनीहरूको जीवन–यापनमा सहज बनाइने संस्थापक अध्यक्ष थापाको भनाई छ ।
परिचय पत्र लिँदै राउटे समुदायका मुखिका सुर्यनारायण शाहीले परिचय पत्र राख्ने या नराख्ने भन्ने बारे अहिल्यै भन्न नसक्ने बताए । परिचय पत्र पाइसकेपनि गुराँस गाउँपालिका भित्र बस्ने की बाहिर जाने भन्ने संचारकर्मीहरुको पश्नमा राउटे मुखिका सुर्यनारायण शाहीले भने ‘यहि बस्ने की बाहिर जाने भन्ने विषयमा अहिल्यै नै भन्न सकिदैन्, ।’

मुखिया शाहीले सरकारले दिँदै आएको भत्ता समयमै उपलब्ध भएमा आफ्ना जनतालाई सजिलो हुने बताए । फिरन्ते जीवत बिताइरहेका राउटे समुदायको अहिलेको संख्या १ सय ४९ छ । गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका यो समुदायमा बालबालिकाको संख्या अधिक छ । राउटे समुदायमा सात वर्षसम्मका ४७ जना बालबालिका छन् । यस्तै १६ देखि ४० वर्षसम्मका ४४ छन् । ८ देखि १५ वर्षसम्मका २४ जना छन् भने ४१ देखि ६० वर्षसम्मका २० जना रहेका छन् । ६१ वर्षमाथिका १४ जना छन् । राउटे समुदायमा निकै हेला गरिने एकल महिलाको संख्या ११ जनाको रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् ।
‘राउटे परियोजना’
राउटे सुदायलाई पहिचान सहितको परिचय पत्र वितरण संगै समुदायमा स्वास्थ्य उपचारमा सहजता ल्याउन र उनिहरुको आनीबानीमा परिवर्तन ल्याउन ‘राउटे परियोजना’ संचालन हुने भएको छ । एईआईएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत राउटे परियोजना संचालन गर्न लागिएको छ ।
परियोजनाले सन २०१८ देखि तिन वर्षे अवधिमा १ करोड २७ लाख लगानी गर्न लागेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । परियोजना संचालनका लागि तिन जना कर्मचारी समेत नियुक्त गरिसकिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । ‘अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णाली मार्फत सञ्चालन गर्नका लागि तिन जना कर्मचारी पनि नियुक्त गरेका छौं, राउटे समुदाय जहाँ–जहाँ पुग्छ, गाउँपालिकाले नियुक्त गरेका कर्मचारी त्यहीँ, त्यहीँ पुग्नेछन् ।
तिन जना कर्मचारीमध्ये एकजना अहेवले राउटेको स्वास्थ्य क्षेत्र हेर्नेछन् भने अन्य दुई जनाको जोडी कर्मचारीले उनिहरुलाई आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गर्ने ओलीले बताए । कर्मचारीहरुले रातिमा प्रोजेक्ट मार्फत राउटे समुदायका बालबालिकालाई अक्षर चिन्ह सिकाउने, सन्देशमूलक भिडियोहरु देखाउने लगायतका काम गर्ने अध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया