महिला विकास तर्फका कार्यक्रमलाई निरन्तरता दिन पहल गरिने

महिला विकास तर्फका कार्यक्रमलाई  निरन्तरता दिन पहल गरिने

दैलेख असार ३२ ।
दैलेख जिल्लामा महिला तथा बालबालिका कार्यालय द्धारा संचालन भइरहेका महिला विकास तर्फका कार्यक्रमहरुलाई स्थानीय तह मार्फत निरन्तरता दिन पहल थालिने भएको छ । जिल्ला समन्वय समिति दैलेखमा बसेको लैङ्गिक मूलप्रवाहिकरण जिल्ला समन्वय समितिको बैठकले यस्तो निणर्य गरेको हो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले महिला तथा बालबालिका कार्यालय दैलेखले आर्थीक बर्ष २०७४/०७५ मा संचालन गरेका गतिविधीहरुको बारेमा समिक्षा गर्दैै आगामी आर्थीक बर्षमा महिला विकास तर्फका कार्यक्रमहरुलाई निरन्तरता दिन पहल गर्ने निणर्य गरेको छ ।
बैठकले महिला विकास तर्फका छाउपडी प्रथा, बाल विवाह न्यूनिकरण अभियान, किशोरी विकास कार्यक्रम, समूह गठन तथा पुर्नगठन, महिलाहरुको नेतृत्व विकास तथा संस्थागत विकास तालिमहरुलाई निरन्तरता दिन दैलेखका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गर्ने निणर्य गरेको हो । महिला शसक्तिकरण सम्बन्धि विभिन्न कार्यक्रहरुलाई निरन्तरता दिनका लागि जिल्लाका ११ वटै स्थानीय तहमा खटिएका महिला तथा बालबालिका कार्यालय दैलेखका कर्मचारीहरु मार्फत पहल गरिनेछ । साथै महिला विकास तर्फका कार्यक्रहरुमा बजेट विनियोजन गर्नका लागि सबै स्थानीय तहरुलाई अनुरोध गरिनेछ । बैठकले गरेका निणर्यहरुलाई जिल्ला समन्वय समिति दैलेख मार्फत जिल्लाका ११ वटै स्थानीय तहमा पठाइने भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्लामा बाल विवाह र छाउपडी प्रथाको अवस्था दर्दनाक रहेको भन्दै बाल विवाह र छाउपडी प्रथा न्यूनिकरणका लागि जिल्लाका सबै स्थानीय तहहरुले ठोस कार्यक्रम बनाएर पहल थाल्नुपर्ने धारणा राखे । महिला तथा बालबालिका कार्यालय दैलेखबाट संचालन हुँदै आएका महत्वपूर्ण कार्यक्रहरुलाई स्थानीय तहहरुले छुटाउनु हुँदैन, थापाले भने “महिला तथा बालबालिका कार्यालयले गरेका कार्यक्रमहरु संचालन तथा बजेट विनियोजन गर्न स्थानीय तहहरुलाई सघाउनुपर्छ ।”
नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले महिला शसक्तिकरणका लागि महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुले स्थानीय तहहरुलाई सहजिकरणमा सहयोग गर्न आग्रह गरे । स्थानीय तह र महिला तथा बालबालिका कार्यालयको समन्वयमा कमी भएको औल्याउदै खड्काले महिला शसक्तिकरणका कार्यक्रहरु संचालन गर्न बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानले महिलाहरुको क्षमता विकास र शसक्तिकरणको क्षेत्रमा बजेट विनियोजन गर्न स्थानीय तहहरुलाई समस्या नभएको बताए । महिला समूह र सहकारीलाई सक्रिय बनाउनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउदै प्रजिअ न्यौपानेले महिला विकास तर्फका कार्यक्रमहरु बनाउन र बजेट विनियोजन गर्न महिला तथा बालबालिका कार्यालयले सहजिकरण गर्नुपर्ने धारणा राखे । उनले थोरै लगानीमा संचालन भएका महिला सहभागिता र शसक्तिकरणका कार्यक्रहरुलाई स्थानीय तहको निती तथा कार्यक्रममा समावेश गर्न स्थानीय तहलाई सुझाव दिए ।

बैठकमा महिला तथा बालबालिका कार्यालयले आर्थीक बर्ष २०७४/०७५ मा सम्पन्न गरेका बार्षिक कार्यक्रमहरुको बारेमा महिला तथा बालबालिका कार्यालय दैलेखका निमित्त महिला विकास अधिकृत माधुरी न्यौपानेले जानकारी गराएकी थिइन् । उनले महिला तथा बालबालिका कार्यालय दैलेखले आर्थीक बर्ष २०७४÷०७५ को बार्षिक कार्यक्रम अन्तरगत कुल १९ लाख ८२ हजार खर्च भएको जानकारी दिइन् ।

प्रतिक्रिया