दैलेख अदालतको प्रगति ७५ प्रतिशत

दैलेख अदालतको प्रगति ७५ प्रतिशत

दैलेख, असार ३२ –

दैलेख जिल्ला अदालतले चालू आर्थिक वर्षमा परेका मुद्दा मध्ये ७५ प्रतिशत् प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको जिम्मेवारीमा सरेको ५१ र यो वर्ष परेका १ सय ५९ समेत २ सय १० मध्ये १ सय ५८ मुद्दा फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिएका छन् । यो संख्या ७५ दशमलव २५ प्रतिशत हो ।
अदालतका डिट्ठा धर्मराज न्यौपानेका अनुसार अघिल्लो आर्थिक वर्षको जिम्मेवारीबाट ६ वटा सरकारवादी फौजदारी र ४५ वटा दुनियावादी मुद्दा सरेर आएका थिए भने चालू आर्थिक वर्षमा ५१ सरकारवादी र १ सय ८ वटा दुनियावादी नयाँ मुद्दा परेका थिए । यो वर्ष परेका मुद्दागत विवरण तयार भइरहेको जानकारी दिंदै न्यौपानेले कुल मुद्दाको झण्डै एक तिहाई अर्थात ६० भन्दा बढी मुद्दा सम्वन्ध बिच्छेदका रहेको बताए ।
संसदीय निर्वाचनमा निर्वाचन अधिकृतको जिम्मेवारी बहन गर्नुपर्दा अढाई महिना लागेको, नयाँ मुलुकी सहिंता ऐनको अभिमुखीकरण लगायतका पटक–पटक न्यायिक कार्यशालामा सहभागी हुँदा झण्डै डेढ महिना खर्च भएको अवस्थामा पनि यो प्रगति सन्तोषजनक रहेको जिल्ला न्यायधीश सनतचन्द्र लवटले बताए ।
सर्वोच्च अदालतले जारी गरेको तेश्रो पञ्चवर्षीय रणनीतिक योजनाले २ सय भन्दा कम मुद्दा हुने जिल्ला अदालतले ८० प्रतिशत्, २ सयदेखि ३ सय मुद्दा परेकाहरु भए ७५ प्रतिशत्, ३ सयदेखि ५ सयसम्म मुद्दा परेका जिल्लाले कम्तीमा ७० प्रतिशत् र ५ सय भन्दा माथि मुद्दा भए ६५ प्रतिशत् मुद्दा फैसला गरी सक्नुपर्ने लक्ष्य तोकेको छ ।
मुद्दाको चापको हिसावले न्यायाधीशको दरबन्दी निर्धारण गर्दा दैलेखमा जिल्ला अदालत स्थापनाको सुरु २०२३ सालदेखि नै १ जना मात्र जिल्ला न्यायाधीशको दरबन्दी छ ।

प्रतिक्रिया