बेसहारा बनेकी रबिनाको प्रश्न, ‘महिला पुरुषको न्यानो ओछ्यान मात्रै हुन ?’

बेसहारा बनेकी रबिनाको प्रश्न, ‘महिला पुरुषको न्यानो ओछ्यान मात्रै हुन ?’

काठमाडौं – बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ ।
समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् ।

दलित, महिला र उत्पीडितहरुको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रबिनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छिन् ।
उनले भनिन्,‘हामीले सामाजिक सञ्जालमा रबिना बादीको दुखान्तपूर्ण भिडियो भेट्यौं, त्यसपछि उहाँको उद्धारमा जुटेका थियौं, नेपालको कानूनले पूर्ण रुपमा दोषी मानिएको छुवाछुतले अझैंपनि समाजमा ब्याप्त जरा गाढिरहेकै छ, राज्यले यस प्रकारको अत्याचारलाई निर्मुल गर्नको लागि कडा सजाय तोक्नुपर्छ ।’

उनले भनिन्,‘महिला पुरुषको न्यानो ओछ्यान मात्रै हुन ?

के शारिरिक सम्बन्धको लागि मात्रै हुन रु रबिनालाई सूरुमा परिवारको सल्लाहमै बिवाह गरेको र पछि बादीकै छोरी भएको कारण बर्दियाका श्यामलाल ओलीले घर निकाला गरेका छन्, उनलाई प्रहरी प्रशासनले तत्काल प्रक्राउ गरेर कानून बमोजिमको कारबाही गरोस् ।’

पत्रकार सम्मेलनमा पीडित रबिना बादीले श्रीमान श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्विकार गरोस् भन्ने ईच्छा प्रकट गरेकी छन् ।

उनले अघि थपिन्, ‘हिजोको दिनहरुमा हामीले सहमतिमै बिवाह गरेका हौं, आज घरपरिवार सबै मिलेर मलाई अन्यायमा पार्ने खोजियो, पाँच महिनाको छोरा छ, यस बाबुको के दोष छ र रु यसको भविष्य र मेरो जीवनको पूर्ण रुपमा जिम्मा श्यामलाल ओलीले नै लिनुपर्छ, त्यसको लागि सरकारले उनलाई कुन प्रकारको सजाय र जिम्मा दिने हो त्यो गर्नुपर्यो ।’

उनले अघि थपिन्,‘कामको सिलशिलामा नुवाकोट जाउँ भनेर मलाई नेपालगंज बसपार्कमा ल्याएर अपलपत्र पारे, उनी आफू भागेका छन्, कैलाली, बर्दिया र काठमाडौंको प्रशासनले कुनै प्रकारको न्याय दिन सकेन, पछिल्लो समय सरु दिदी लगायतको सहयोगमा म राजधानी आईपुगेकी छु, अब यतै बसेर न्यायको लागि लडाई लड्नेछु ।’

कार्यक्रममा समाजसेवी किशोर सुनुवार, मानवसेवा आश्रमका सुमन बर्तौला, महिला तथा बालबालिका सेवा हाउस कैलाली अध्यक्ष जानकी मरासिनि लगायतले पीडित रबिना बादी र उनका पाँच महिनाका छोराको भविष्य सुनिश्चत गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया