सदरमुकामकाे फोहोरले गाउँ नै दुर्गन्धित

सदरमुकामकाे फोहोरले गाउँ नै दुर्गन्धित

वर्षातमा फोहोर बगेर खानेपानी मुहानमा

दैलेख — सदरमुकाम नारायण नगरपालिकाको फोहोरले कुसाडा गाउँ दुर्गन्धित बनेको छ । सदरमुकामको फोहोर नारायण नगरपालिका–२, कुसाडा बस्ती नजिकैको जंगल क्षेत्रमा फाल्ने गरिएको छ । गाउँ नजिकै फोहोर फालिएपछि स्थानीयबासी नाक थुनेर दैनिक कामकाज र आउजाउ गरेका छन् ।

फोहोरको दुर्गन्धले पैदल यात्रीलाई आउजाउमा समस्या भएको स्थानीय कल्पना केसीले बताइन् । उनका अनुसार वर्षात्मा त्यो फोहोर बगेर खानेपानीका मुहानमा जाने गर्छ । ‘नगरको लापरबाहीले बस्ती नै दुर्गन्धित बनेको छ,’ उनले भनिन्, ‘गाउँमा झाडापखालालगायतका प्रकोप फैलन सक्ने जोखिम छ ।’

बजारको फोहोर व्यवस्थापनका लागि स्थानीयवासी र नगरपालिकाबीच विभिन्न विकास योजना सञ्चालन गर्ने सहमति भएको थियो । ‘स्थानीयले सडकको स्तरोन्नति गर्ने र अन्य विकास योजना सञ्चालन गर्ने सहमति नगरपालिकाले बेवास्ता गरेको जनाएका छन् । ‘लामो समयदेखि नगरपालिकाले गाउँ नजिकै फोहोर फाल्दै आएको छ,’ स्थानीय कमल थापाले भने, ‘तर गाउँको विकासबारे नगरपालिकाले चासो दिएन ।’ सिसा तथा अन्य कच्चा पदार्थ फोहोरसँगै फालिने भएकाले ठूलो पानी परेको बेला बगाएर बस्तीमा पुर्याउने गरेको उनको भनाइ छ । स्थानीय तह निर्वाचनपछि ठूलो अपेक्षा भए पनि पूरा नभएको स्थानीयको गुनासो छ । ‘जनप्रतिनिधि आएपछि फोहोरको दीर्घकालीन व्यवस्थापन हुने र सहमति कार्यान्वयन हुने आशा थियो,’ केसीले भनिन्, ‘झन्झन् फोहोर अव्यवस्थित बनेको छ ।

निर्वाचनको बेला उम्मेदवारले गरेको वाचा पनि पूरा गरेनन् ।’ बजारमा भएको नालीको फोहोर समेत गाउँमा आउने गरेकाले स्थानीयले सास्ती भोग्नुपरेको छ । कुसाडा गाउँमा बजार आसपासको सबै फोहोर तल झर्ने गरेको स्थानीय बताउँछन् । नगरपालिकाले दिनमा एक पटक फोहोर उठाउँदै आएको दाबी गरेको छ, तर दैलेख बजारका आसपासका सडक तथा चोकमा जताततै फोहोरको डंगुर भेटिन्छ ।

अधिकांश स्थानमा सातादेखि थुपारिएको फोहोर नउठाइएको स्थानीयको गुनासो छ । बजार क्षेत्रमा डस्टबिनको व्यवस्था नहुँदा बटुवाले समेत जथाभावी फोहोर फालेका छन् । बजारवासीले घरअगाडि ल्याएर फोहोर थुपार्ने गरेका छन् । ‘जनप्रतिनिधि आएपछि सुरुसुरुमा नियमित सरसफाइ भयो,’ दैलेख बजारका अमर केसीले भने, ‘नगरपालिकाले अहिले अधिकांश हप्ताभरिको फोहोर पनि उठाउन सकेको छैन ।’ उनले एक सातासम्म फोहोर जम्मा हुन थालेपछि बजार क्षेत्रसमेत दुर्गन्धित बन्दै गएको बताए ।

नगरपालिकाले सम्झौता कार्यान्वयन गरेन : कुसाडावासी

फोहोर फाल्ने ठाउँ भरिए पनि नगरपालिकाले चासो नदिएको स्थानीयको गुनासो छ । किमुगाउँ, झुर्पेसाल र कुइकाना क्षेत्र फोहोरले भरिएपछि नगरपालिकाले सात वर्षदेखि कुसाडामा फोहोर फाल्ने गरेको छ । फोहोरका कारण कुसाडा वरपरको क्षेत्रमा खाली जग्गा भेटाउन मुस्किल हुन थालेको छ ।

जताततै फोहोर भरिए पनि नगरपालिकाले बेवास्ता गरिरहेको स्थानीयको आरोप छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत् बस्नेतले फोहोरका कारण बस्तीमा असर पर्न थालेपछि वैकल्पिक स्थानको खोजी भइरहेको बताए । उनले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि नगरपालिकाले योजना निर्माण गरिरहेको बताए ।

प्रतिक्रिया