कान्छो जिल्लामा दश महिनामा ३ हजार नागरिकता वितरण

कान्छो जिल्लामा दश महिनामा ३ हजार नागरिकता वितरण

रुकुम- मूलुक संघिय शाषण प्रणालीमा गएसंगै नेपालको कान्छो जिल्लाको रुपमा चिनिने रुकुम पूर्वमा तीन हजार बढिले नागरिकता लिएका छन् । नयाँ जिल्ला बनेसंगै दश महिनाको अवधि भित्र ३ हजार तीन सय ६६ जनाले नागरिकता लिएका हुन् ।

जसअन्र्तगत २ हजार पाँच सय १४ सक्कल र ८ सय ५२ प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । तीन स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका मिलेर नयाँ जिल्ला बनेको रुकुम पूर्वको जनसंख्या करिब ५७ हजार रहेको छ । हाल अस्थाई सदरमुकाम रुकुमकोटबाट सक्कल र प्रतिलिपी गरेर दिनहुँ ३० देखी ४० जनाले नागरिकता लिने गरेका छन् । तर राहदानीका विषयमा भने धेरैजसो सेवाग्राही काठमाडौं जाने भएकाले जिल्लामा राहदानी फारामको मात्र प्रमाणित गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।

नयाँ जिल्ला रुकुम पूर्वलाई हालसम्म नयाँ कोड समेत प्राप्त नभईसकेकाले डिजिटल नागरिकताको सट्टा हस्तलिखित नागरिकता प्रदान गर्नुपरेको छ । तर नयाँ कोडका लागि केन्द्रमा पहल गरिएकाले छिट्टै नयाँ कोड प्राप्त हुने र त्यसलगत्तै डिजिटल नागरिकता प्रदान गरिने प्रमुख जिल्ला अधिकारीको भनाई छ । नयाँ जिल्लाको रुपमा विकसित हुँदै गरेको रुकुम पूर्वमा प्रयाप्त जनशक्ति र भवन अभावको समस्या भएपनि सेवाग्राहीलाई भने छिटो छरितो ढंगले सेवा दिईएको प्रशासनको भनाई छ ।

रुकुम पूर्वलाई गत वर्षको असोज १९ गते नयाँ जिल्लाको रुपमा घोषणा गरिएसंगै सोही दिनदेखी केही सरकारी कार्यालयको स्थापना भई सरकारी कामकाजको थालनी गरिएको थियो । सदरमुकामको विषयले नागरिकमा अन्योलता छाईरहेको रुकुम पूर्वमा हाल अस्थाई सदरमुकाम रुकुमकोटबाट सरकारी कामकाजहरु संचालन भईरहेका छन् ।

प्रतिक्रिया