राउटे बस्तीमा शुद्ध खानेपानी

राउटे बस्तीमा शुद्ध खानेपानी

 

दैलेख साउन ८ ।
फिरन्ते जाती राउटे समुदाय जिल्लाको गुराँस गाउँपालिका वडा नं. ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका छन् । राउटे समुदायका बालबालिका खोला किनारमै खेलेर दिन बिताउछँन् । आफ्ना अभिभावकको देखासिकीमा काठका भाँडा बनाउने गरेका राउटे बालबालिका दिनभर खोला किनारमै खेल्छन् ।

सोमवार विहान पनि राउटे बालबालिका खोलामा खेल्नमै व्यस्त थिए । राउटे बस्तीमा को आयो, को गयो उनिहरुलाई कुनै वास्ता थिएन् । शरिरमा एकसरो कपडाको भरमा राउटे बालबालिकाको एक हुल खोला झर्दै थिए भने केहि बालबालिका पानी भरिएका भाँडा बोकेर बस्ती भएतिर उकालो चढ्दै थिए । एकै छिनमा राउटे परियोजनाका कर्मचारी बस्तीमा पुगे ।
राउटे बालबालिका र महिलाहरुलाई खानेपानी लिन उकालो–ओरालो चढ्नु पर्ने बाध्यतालाई हटाउन केहि दिन अघि देखि नै बस्तीमा अस्थायी रुपमा खानेपानीको व्यवस्थापनका गर्न काम थालिएको थियो । पानी बोकेका बालबालिका बस्तीमा नपुग्दै परियोजनाका कर्मचारी र शुद्ध खानेपानी पु¥याउन खटिएका कामदारले पाइप मार्फत पानी आएको बस्तीका मुखियालाई जानकारी गराए । मुखियाले बस्तीका बालकालिका र महिलाहरुलाई खबर पु¥याए । राउटे बस्तीमा अस्थायी रुपमा ल्याइएको पानीको धारा नजिकै राउटे महिला र बालबालिका भेला भए, राउटे बालबालिका निकै खुसी हुँदै पानीमा खेल्न थाले, महिलाहरु खानेपानी भर्न थाले ।

फाेटाे : बस्तीमा खानेपानी पुगेपछि खुसी हुँदै राउटे बालबालिका ।

राउटे समुदाय बसोबास गर्दै आएको बस्ती नजिकैको पातलेखोलाको दुषित पानी खान बाध्य राउटे समुदायलाई शुद्ध खानेपानीको व्यवस्थापन गरेसंगै उनिहरुमा खुसीयाली छायो । बर्षातको समयमा दुषित र धमिलो पानीको प्रयोग गदैै आएका राउटे समुदायले अब भने शुद्ध खानेपानी पिउने भएका छन् । गर्चा पातलेखोलामा बसोबास गर्दै आएका राउटे बस्तीमा पहिलो पटक अस्थायी रुपमा शुद्ध खानेपानी पु¥याइएको हो ।
दुषित पानीको प्रयोगका कारण राउटे समुदायका विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेपछि शुद्ध खानेपानीको व्यवस्था गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनाए । नेपालको प्रदेश नं. ५, ७ र कर्णालीका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई पहिलो पटक अस्थायी रुपमा भएपनि शुद्ध खानेपानीको व्यवस्थापन गरिएको हो । राउटे समुदाय बसोबास गरिरहेका स्थानमा पहिलो पटक शुद्ध खानेपानी पुगेपछि फोहोर पानी खाने समस्या हटेर जानुका साथैै महिला र बालबालिकाहरु खुसी भएका छन् ।

१ सिय ४९ जनाको जनसंख्या रहेको बस्तीमा करिब ४ सय मिटर टाढाबाट पाइप मार्फत पहिलो पटक शुद्ध खानेपानी पु¥याइएको राउटे परियोजनाका जोडि समूहका कर्मचारी लाल बहादुर खत्रीले बताए । अहिले राउटे बस्तीमा एउटा अस्थायी धारा जडान गरिएको खत्रीले जानकारी दिए ।
राउटे समुदायमा स्वास्थ्य उपचारमा सहजता ल्याउन र उनिहरुको आनीबानीमा परिवर्तन ल्याउन संचालन भएको ‘राउटे परियोजना’ को पहलमा राउटे बस्तीमा शुद्ध खानेपानी ल्याइएको हो । गुराँस गाउँपालिकाको सहयोग तथा जिल्लाको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालन भएको राउटे परियोजनाले बस्तीमा खानेपानीको व्यवस्थापन गरेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिएका छन् । घुमन्ते जाती भएका कारण स्थायी रुपमा पानी संचालन गर्न नसकेपनि अस्थायी रुपमा शुद्ध खानेपानीको व्यवस्थापन गरिएको थापाको भनाई छ । राउटे बस्तीमा खानेपानी पु¥याउन बस्ती नजिकै अलैची खेती गर्दै आएका भुपेन्द्र खड्काले सहयोग गरेका छन् ।

प्रतिक्रिया