जुम्लाका ९ हजार नागरिक गरिबीको रेखामुनि

जुम्लाका ९ हजार नागरिक गरिबीको रेखामुनि

जुम्ला — जिल्लामा ९ हजार एक सय ४७ जना गरिबीको रेखामुनि भएको पाइएको छ । यहाँका आठ स्थानीय तहमा गरिएको सर्वेक्षणका क्रममा अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी तीन समूहमा विभाजन गरिएको छ ।

सार्वजनिक तथ्यांकमा चार हजार दुई सय ८६ अति गरिब, दुई हजार सात सय ७७ मध्यम गरिब र दुई हजार ८८ जना सामान्य गरिब रहेको पाइएको हो । २०६८ सालको जनगणनाअनुसार जुम्लाको जनसंख्या एक लाख २० हजार छ ।

साउनको पहिलो साताबाट परिचयपत्र वितरण गर्ने गरी जिल्ला समन्वय समितिले तथ्यांक सार्वजनिक गरे पनि धेरै गाउँपालिकाले परिचयपत्र वितरण गर्न सकेका छैनन् । परिचयपत्र वितरणअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडासचिव र कार्यालय सहयोगीलाई प्रशिक्षण दिइएको जिससका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढथापाले बताए ।

गरिबीका कारण स्थानीयवासी आधारभूत आवश्यकताबाट वञ्चित रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । ‘राज्यले निस्शुल्क वितरण गर्दै आएका सुविधाबाट समेत स्थानीयवासी वञ्चित भएका छन्,’ उनले भने, ‘अधिकांश स्थानीयवासी आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित हुँदै आइरहेका छन् ।’

राज्यले गरिब घरपरिवार पहिचान गरी विभिन्न सेवा सुविधा दिने व्यवस्था गरेको भए पनि अझै वञ्चित रहेको उनको भनाइ छ । परिचयपत्र वितरणले विपन्नलाई सहयोग हुने उनले जनाए । तातोपानी गाउँपालिकाले आफ्नो पालिकाभित्रका वडाबाट गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरिसकेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले एक साताभित्र गाउँपालिकाका सबै विपन्नले परिचयपत्र पाउने जानकारी दिए । उनका अनुसार वडा नं। १ का ६० जनाले परिचयपत्र पाइसकेका छन् ।

साविकको जिविसका सामाजिक परिचालकले विपन्नको तथ्यांक लिँदा धेरै सम्पत्ति भएकासमेत गरिबको सूचीमा परेको आरोप लगाएका छन् । केही गाउँपालिकाका अति विपन्नसमेत गरिबीको तथ्यांकमा नसमेटिएको स्थानीयको गुनासो छ ।

कनकासुन्दरीमा एक हजार दुई सय ६७, सिँजामा एक हजार एक सय ५५ र हिमा गाउँपालिकामा एक हजार दुई सय १९ जना गरिबीको रेखामुनि रहेको पाइएको छ । तिलामा एक हजार तीन सय ८८, तातोपानीमा एक हजार दुई सय ९०, गुठीचौरमा एक हजार ७२ जना र पातारासी गाउँपालिकामा सात सय २७ जना विपन्नको सूचीमा परेका छन् । चन्दननाथ नगरपालिकामा एक हजार ९२ जना घरपरिवार विपन्न रहेको जिससले जनाएको छ ।

प्रतिक्रिया