निर्मला हत्या प्रकरण : चार दिनपछि दाहसंस्कार

निर्मला हत्या प्रकरण : चार दिनपछि दाहसंस्कार

कञ्चनपुर — गत शुक्रबार उखुबारीमा मृत भेटिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्तको शव सोमबार आफन्तले बुझेका छन् । महाकाली अञ्चल अस्पतालमा राखिएको शवको ४ दिन पछि आफन्तले दाहसंस्कार गरेका छन् । दोषीको पहिचान गरि कारवाही गरिनुपर्ने र घटनास्थल नजिक प्रहरी विट स्थापना हुनुपर्ने माग राख्दै आफन्त र स्थानीयले आन्दोलन गरेका थिए। उनीहरुले माग पुरा नहुँदासम्म अन्तिम संस्कार नगर्ने अडान लिएका थिए।

आइतबार पीडितका आमाबुवा अन्तिम संस्कार गर्न सहमत भएपनि स्थानीयले अवरोध गरेका थिए। सोमबार बिहानै अञ्चल अस्पतालबाट प्रहरी स्कर्टिङमा शवयात्रा गरिएको छ। ‘हाम्रो आन्दोलन यथावत रहने छ, प्रशासनसँग कुनै सहमति भएको छैन, अहिलेसम्म साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छौ,’ मृतक निर्मलाका काका भोजराजले भने, ‘४ दिनदेखि भोकै रकेका मृतकका आमा बुवालाई समेत अप्ठेरो हुन थालेपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका हौं।’ उनका अनुसार निर्मलाकी आमा दुर्गादेवी घटना भएको दिनदेखि भोकै भएका कारण स्लाइन दिनुपर्ने अवस्था आएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अन्तिम संस्कारका लागि सहयोग गर्न आग्रह गरेका थिए। उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही र पीडित परिवारलाई राहतका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

गत बिहीबार साथीको घर गएकी १३ वर्षीया निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ। घटनाको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरोको टोली समेत महेन्द्रनगर पुगेको छ।

प्रतिक्रिया