सामाजिक तथा लैंगिक परिक्षणमा बाल विवाहकै चर्चा

सामाजिक तथा लैंगिक परिक्षणमा बाल विवाहकै चर्चा

दैलेख साउन १५ ।
जिल्लामा रहेका बाल विवाह, छाउपडि प्रथा, बालश्रम लगाएतका कु–संस्कार र कुरिति कहिले अन्य हुन्छ, भन्दै नारायण नगरपालिका दैलेखकी मनसरा अधिकारीले खुलेरै प्रश्न गरिन् । उनि जस्तै नारायण नगरपालिका ११ का माधव विष्टले बाल विवाह रोक्न स्थानीय सरकार किन प्रभावकारी बन्न सकेन भन्दै प्रश्न राखे । कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नं.१ का कल सार्कीले समाजमा रहेको जातिय छुवाछुत, महिला हिंसा, बाल विवाह कहिले रोकिन्छ, भन्दै प्रश्न गरे । मनसरा, माधव र कल जस्तै गुरासँ गाउँपालिकाकी रोशनी शाहीले बाल विवाह न्यूनिकरण गर्न स्थानीय सरकारहरुले अभियान चलाउन किन सकेनन् भन्दै पश्न गरिन् ।

उनिहरु जस्तै, कार्यक्रमका सहभागिहरुले जिल्लामा महिला तथा बाल बालिकाहरुका लागि सेल्टर (आपत्तकालिन गृह) बनाउने कार्य कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको ११ औँ संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रममा सहभागिले बाल विवाह किन रोकिएन भन्दै पश्न गरेका हुन् । भैरवी गाउँपालिका वडा नं. ६ की कृष्णाकुमारी वि.क.ले त गाउँपालिकाले विदेशिने युवाहरुलाई स्थानीय स्तरमै रोजगारी सृजना गर्न कुनै पनि योजना अघि नसारेको आरोप लगाइन् । नारायण नगरपालिकाका टिकादेवी जैसीले संस्थाको कार्यक्षेत्र नारायण नगरपालिका भित्र पनि बनाउनु आग्रह गरिन् । कार्यक्रममा भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी विष्टले स्थानीय सरकार जनतासंग घुलमिल अझै केहि समय लाग्ने बताउदै सामाजिक संघसंस्थाहरु बर्षौ देखि जनताको माझमा रहेकाले सामाजिक कुसंस्कार हटाउन गैरसरकारी संस्थाहरुको पहल महत्वपूर्ण रहने बताइनन् ।

गाउँपालिकामा युवाहरुको लागि स्वरोजगार सृजना गर्न लद्यु उद्यम संचालन गर्ने बताउदै उपाध्यक्ष विस्टले युवाहरुलाई उद्यम तर्फ लगाउन तालिमहरु संचालन गर्ने बताइन् । भैरवी गाउँपालिकाले युवाहरुको लागि गौरव गर्ने कार्यक्रमहरु अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरिन् । उपाध्यक्ष विष्टले संस्थालाई स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गरिन् । नारायण नगरपालिका दैलेखका सावित्री मल्लले जिल्लाका गैरसरकारी निकायहरुले स्थानीयतह संग सहकार्य गरेमा महिला तथा बालबालिकाहरुको क्षेत्रमा जस्ता सुकै कार्यक्रमहरु पनि संचालन गर्न तयार रहेको बताइन् । उनले बाल विवाह, छाउपडि जस्ता समाजिक कुसंस्कारहरुलाई अन्य गर्न कानुनको कार्यान्वयका ध्यान दिन जरुरी रहेको औल्याइन् ।

सोसेक नेपाल दैलेखकी अध्यक्ष मञ्जु कुमारी खड्काले संस्थाले दैलेख जिल्लाका ११ वटै स्थानीयतहहरुसंग समन्वय गरि बालविवाह, छाउपडि, जातिय विभेद, महिला हिंसा, बाल हिंसा जस्ता सामाजिक कुरिति र कुसंस्कारलाई न्यूनिकरण गर्न पहल गर्ने बताइन् । कानुनी व्यवस्थालाई कार्यान्वयनमा ध्यान दिनुपर्ने औल्याउदै अध्यक्ष खड्काले संस्थालाई सामाजिक सवालहरुमा काम गर्न थुप्रै अफ्ठ्याराहरु आइपरेको जानकारी गराइन् । संस्थाका निर्देशक बसन्त श्रेष्ठका अनुसार सोसेक नेपाल दैलेखको आर्थीक बर्ष २०७४÷२०७५ को कुल बजेट ६ करोड, ३३ लाख ४३ हजार ९ सय ३२ मध्ये ६ करोड ६० लाख ४३ हजार २ सय १ खर्च भएको छ ।

प्रतिक्रिया