ग्रामिण सडकमा मनपरी गाडी भाडा

ग्रामिण सडकमा मनपरी गाडी भाडा

साउन १६, दैलेख

स्थानीय सडकमा व्यवसायीले मनपरी गाडी भाडा उठाएका छन् । निजी सवारी साधनले रिजर्वमा मात्र गाडी सञ्चालन गर्न थालेपछि यात्रुलाई सास्ती भएको हो । कुनै ठाउँमा रिजर्वमा गएका गाडीले फर्कंदा प्रतिव्यक्ति महँगो भाडा लिएर यात्रा गराउने गरेका छन् ।

गाउँबाट आउजाउ गर्दा प्रतिव्यक्ति महँगो भाडा तिरेर रिजर्वमा जानुपर्ने यात्रुको गुनासो छ । भैरवी गाउँपालिकास्थित कासीकाधकी लक्ष्मी सिंहले यातायात व्यवसायीको मनपरीले स्थानीयवासी मारमा परेको बताइन् । उनले गाउँबाट सदरमुकाम आउँदा निजी जिपमा ५ सय ५० रुपैयाँ एकतर्फी भाडा तिर्नुपर्ने बाध्यता भएको छ । कतिपय यात्रु सामान राख्ने ठाउँमा समेत बस्नुपर्ने बाध्यता रहेको उनले बताइन् । उनले ग्रामीण क्षेत्रका अधिकांश यात्रुको आर्थिक स्तर कमजोर भएकाले मारमा परेको बताइन् ।

अधिकांश गाउँमा सडक सुविधा भए पनि पर्याप्त सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा स्थानीयवासी चर्को भाडा तिर्न बाध्य छन् । सदरमुकामबाट अधिकांश स्थानमा गाडी नचल्दा यात्रुहरू घण्टौं हिँड्नुपर्ने बाध्यतासमेत छ । सदरमुकामबाट ग्रामीण क्षेत्रका लागि दैनिक ६० वटासम्म जिजी गाडी सञ्चालन भए पनि भाडा महँगो छ । मध्यपहाडी राजमार्ग छिचोल्दै जाने रावकोट सडकखण्ड ७ किलोमिटर दूरीको छ तर स्थानीयवासी दुई सय ५० देखि तीन सय रुपैयाँ भाडा तिर्न बाध्य छन् । अधिकांश गाउँमा निजी बोलेरो गाडी र पिकअप भ्यान सञ्चालन हुँदै आएका छन् ।

चामुन्डाविन्द्रासैनी नगरपालिकाकी तुलसी शाहीले बढी रकम तिर्न खोज्ने यात्रुले मात्र आउजाउ गर्न पाउने गरेको बताइन् । ‘गाडी व्यवसासीले बार्गेनिङ गर्छन्,’ उनले भनिन्, ‘जसले बढी रकम दिन्छ उसले गाडी चढ्न पाउँछ । व्यवसायीले जति भन्यो त्यति नै रकम तिर्नुपर्ने बाध्यता छ ।’ दुई दिन लगाएर पैदल सदरमुकाम आउनुपर्ने बाध्यता भएकाले व्यवसायीले भने जति नै रकम तिर्नुपर्ने बाध्यता रहेको उनले जनाइन् ।

देवती–नागरिक, ज्वाला यातायातलगायतले ग्रामीण क्षेत्रका लागि नियमित गाडी सञ्चालन गर्दै आएको बताए पनि पर्याप्त नहुँदा यात्रु निजी गाडीमा यात्रा गर्न बाध्य छन् । देउती नागरिकका प्रतिनिधि तेजेन्द्र थापाले भने गाडीको संख्या कम भएकाले दैनिक धेरै गाडी छोड्न नसकिएको बताए । उनले किलोमिटरका हिसाबले आफूहरूले भाडा उठाउने गरेको जनाए । नियमित सञ्चालन हुने गाडीमा दुई सय ५० सम्म भाडा छ । तर निजी गाडीले ६ सय रुपैयाँसम्म लिने गरेका छन् ।

महँगो मूल्य तिरेर गाडी खरिद गरेका कारण सार्वजनिक सवारीजस्तो दरमा यात्रा गराउन नसकिएको चालक सूर्य विकले बताए । सार्वजनिक यातायात सञ्चालन गरेका संस्थाले पर्याप्त गाडी पुर्याउन नसकेको उनले जनाए । दुल्लु, राकम, तोलीजैसी, कुसापानी, डाडापराजुल, रानीबन, बिन्दाबासिनी, रावतकोट, नौमुले, कालिका, चौराठा, चामुन्डा कासिकाध लगायतका स्थानमा सदरमुकामबाट दैनिक सार्वजनिक गाडी सञ्चालन भइरहेका छन् । अधिकांश स्थानमा दैनिक एकर दुईवटा मात्र सार्वजनिक गाडी सञ्चालन भइरहेका छन् ।

निजी गाडीका कारण सदरमुकामका सडकमा जथाभावी पाकिङ हुने गरेको छ । सदरमुकामका दुई बसपार्क मर्मत तथा व्यवस्थापनका लागि एक करोड ११ लाख रकम खर्च भए पनि व्यववस्थित हुन सकेको छैन । काडाचौर बसपार्क निर्माणका लागि अहिलेसम्म ८० लाख रकम खर्च भइसकेको नारायण नगरपालिकाका इन्जिनियर हिक्मत रोकायले बताए । त्यस्तै पुरानो बसपार्कमा ३१ लाख ५० हजार रकम खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

जति रकम खर्चे पनि बसपार्क व्यवस्थित नहुँदा समस्या भएको जिसस प्रमुख प्रेम थापाले बताए । ‘यात्रुको मागअनुसार सार्वजनिक सवारी साधनको संख्या बढाइए चर्को भाडा असुल्ने क्रम बन्द हुन्थ्यो,’ उनले भने, ‘सबैजसो गाउँमा सडक पुगेका छन्, तर गाडी नियमित नचल्दा यात्रुले सास्ती पाइरहेका छन् ।’ उनले स्थानीय तहले गाडी भाडा तोके स्थानीयवासीलाई सहज हुने बताए ।

प्रतिक्रिया