गरिब प्रदेशका मन्त्रीले भ्रमणमै उडाए पाँच महिनामा ६ लाख

गरिब प्रदेशका मन्त्रीले भ्रमणमै उडाए पाँच महिनामा ६ लाख

 सुर्खेत-  देशका सात प्रदेशमध्ये कर्णाली प्रदेश गरीब प्रदेश हो । विभिन्न सरकारी तथा विभिन्न गैरसरकारी निकायले समेत कर्णाली प्रदेशमा झण्डै ५२ प्रतिशत नागरिक गरिबी रहेको तथ्यांक समयसमयमा सार्वजनिक गर्दै आएका छन् ।

तर गरीब प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले शपथग्रहण भएको फागुन ६ गतेदेखि असार मसान्तसम्म ६ लाख रुपैयाँ भ्रमण भत्तामै खर्चेका छन् । प्रदेश सरकारका मन्त्रीहरूले नियुक्त भएको ६ महिनामा ६ लाख बढी रकम भ्रमण भत्ताका रूपमा बुझेको प्रमाण सार्वजनिक भएपछि प्रदेश सरकार आलोचित भएको छ ।

२०७४ फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बुझेका छन् जसमध्ये सबैभन्दा बढी कृषि मन्त्रीले बुझेकी छन् । तर भ्रमणभत्ता रकम भने सबैभन्दा कम सामाजिक विकास मन्त्रीले बुझेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले १ लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझेकी छन् भने सामाजिक विकास मन्त्री दल रावलले ४ हजार ५ सय रुपैयाँ बुझेका छन् ।

यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले १ लाख २९ हजार ३ सय रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय रुपैयाँ बुझेका छन् ।

तर आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५ रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढाले ७२ हजार ४ सय २५ रुपैयाँ र भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले ६४ हजार ७ सय २५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन्। सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता २५ सय र मन्त्रीहरूको २ हजार तोकेको छ ।

प्रतिक्रिया