एचआईभी संक्रमितको स्वास्थ्य जाँच गर्न अस्वीकार

एचआईभी संक्रमितको स्वास्थ्य जाँच गर्न अस्वीकार


पञ्चपुरी (सुर्खेत), २९ साउन ।

पञ्चपुरी नगरपालिका वडा नं। ६ का लुच्चो रोकाय गत बुधवार स्वास्थ्य परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पुगे । उनी एचआईभी संक्रमित हुन् । तर अस्पतालले एचआईभी संक्रमितको स्वास्थ्य जाँच गर्न अस्वीकार गर्दा उनी निराश बनेर फर्किनु प¥यो ।
स्वास्थ्य जाँचका लागि गएका रोकायलाई स्वास्थ्य केन्द्रको ल्याबका कर्मचारीले संक्रमितको स्वास्थ्य जाँच गर्दा आफूहरूलाई पनि जोखिम हुने भन्दै फिर्ता पठाएका हुन् । ल्याबका कर्मचारीले एचआईभी संक्रमितलाई जाँच गर्दा आफूलाई पनि जोखिम हुने बताएपछि रोकाय छाँगाबाट खसे जस्तै भए ।‘जाँच गर्दा आफूहरूलाई पनि जोखिम हुने र एचआईभी संक्रमितका लागि जाँच गर्न ल्याबमा सामग्री नभएको भन्दै मलाई फिर्ता पठाए’ उनले भने ।

रोकायले यसअघि सोही स्वास्थ्य केन्द्रबाटै गत बैशाखमा र पटक–पटक गरी उक्त केन्द्रबाटै पाँच पटक रगत जाँच, एक्सरे लगायतका अन्य उपचार सेवा लिइसकेका थिए । तर यसपटक ल्याबका कर्मचारीले आफूहरूलाई पनि एचआईभीको जोखिम हुने भन्दै जाँच गर्न अस्वीकार गरेपछि उनी जाँच नगराइ घर फर्किन बाध्य भएका छन् । रोकायले आफू एचआईभी संक्रमित भएकाले एआरटी सेवा लिइरहेको बताएपछि स्वास्थ्य केन्द्रका चिकित्सकले उनलाई परीक्षणका लागि ल्याबमा पठाएका थिए । तर ल्याबका कर्मचारीले जाँच गर्न अस्वीकार गरेको उनले बताए । स्वास्थ्य संस्थाबाटै एचआईभी संक्रमितलाई सेवा दिन अस्वीकार गरिनु अन्यायपूर्ण भएको उनी बताउँछन् । उनले भने, ‘हामी जस्ता अन्य बिरामीले कहाँ गएर उपचार गर्ने रु कि त सरकारले एचआईभी संक्रमितका लागि प्रत्येक स्थानीय तहमा छुट्टै अस्पतालको व्यवस्था गर्नुप¥यो होइन भने अरु नागरिक समान हामीलाई स्वास्थ्य सेवा पाउनुपर्छ ।’
स्वास्थ्य बिमा गरेका रोकायले ८० हजार रूपैयाँ बराबरको उपचार निःशुल्क पाउँछन् ।

तर सरकारी स्वास्थ्य संस्थाले स्वास्थ्य जाँच गर्नै अस्वीकार गरेपछि त्यहीँ जाँच बाबियाचौरको एउटा सामान्य मेडिकलमा चर्को रकम तिरेर गर्नुपरेको रोकायले बताए । विगत लामो समयदेखि एचआईभी संक्रमितहरूकै क्षेत्रमा सामुदायिक सहजकर्ताको रूपमा काम गर्दै आएका रोकायले स्वास्थ्यकर्मीहरूबाट संक्रमितहरूमाथि विभेद हुने गरेको गुनासो गरे । ‘पहिला नगद पैसा तिर्दा मैले सबै सेवा पाएँ, अहिले स्वास्थ्य बिमाबाट पैसा कट्ने भएर विविध समस्या देखाइ मलाई विभेद गरियो’ उनी भन्छन् ।
एचआईभी संक्रमित भएकै कारण प्राथमिक स्वास्थ्य केन्द्र सालकोटबाट सेवा नपाउने रोकाय एक्लो व्यक्ति भने होइनन् ।
गत जेठमा चौकुने गाउँपालिका २ लगामकी विष्णा बान्तोला पनि रगत जाँच गर्न स्वास्थ्य केन्द्र पुगेकी थिइन् । तर त्यहाँ जाँच नगरी दिएपछि उनी वीरेन्द्रनगर पुगेकी थिइन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डाक्टर सन्दिप महतले आफूले रगत जाँचका लागि ल्यावमा पठाएको तर ल्याबका कर्मचारीहरूले जोखिम हुन्छ भनेर जाँच गर्न अस्वीकार गरेको स्वीकार गरे । ‘सिस्टरहरूले जोखिम हुन्छ भन्नुहुन्छ’ उनले भने, ‘मैले धेरै प्रयास गरें तर ल्याव असिस्टेन्टले नमानेपछि मैले उहाँलाई क्षेत्रीय अस्पतालमा रिफर गरेको हुँ ।’ उनले स्वास्थ्य केन्द्रमा एआरटी केन्द्र नहुँदा पनि संक्रमितहरूको उपचारमा समस्या भएको बताए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सबैखाले बिरामीले सेवा पाउने गरी सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गरिने बताए ।

‘सबै खाले बिरामीले छिटो–छरितो र गुणस्तरीय स्वास्थ सेवा पाउनका लागि नगरपालिकाले २० शैयाको अस्पताल माग गरेको छ’ उनले भने ।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क, सशुल्क प्राप्त गर्ने हक र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने कुरा स्पष्ट उल्लेख गरिएको छ । तर पश्चिम सुर्खेतको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एचआईभी संक्रमित बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

प्रतिक्रिया