विपन्न परिवारलाई ‘बाख्रा वितरण ’

विपन्न परिवारलाई ‘बाख्रा  वितरण ’

 दैलेख (दुल्लु), २ भदौ –
दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिका र प्रदेश ७ अन्तरगतको पंचदेवल विनायक नगरपालिका अछामका विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । आठवीस नगरपालिका र पंचदेवल विनायक नगरपालिकाको समन्वय र डिसिएको सहयोग तथा सोसेक दैलेखद्धारा संचालित उत्थानशिल जिविकोपार्जनका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धि परियोजना (साकार) ले विपन्न परिवारलाई बाख्रा पैंचो कार्यक्रम संचालन गरि बाख्रा वितरण गरेको हो ।
प्रदेश ७ अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नं. ४ र ५ का ११ जना तथा दैलेखको आठवीस नगरपालिकाको वडा नं. ७, ८ र ९ का ३० जना स्थानीय विपन्न परिवारलाई बाख्रा वितरण गरिएको हो ।
आठवीस नगरपालिका र पंचदेवल विनायक नगरपालिकाका गरि कुल ४१ घर परिवारलाई बाख्रा वितरण गरिएको हो । अहिले बाख्रा लिएका कृषकको बाख्रावाट नयाँ पाठी भएपछि अर्को परिवारलाई हस्तान्तरण गर्ने गरि बाख्रा उपहार दिइएको परियोजना संयोजक माधव भट्टराईले जानकारी दिए । बाख्रा पालन समूह मार्फत विपन्न परिवार छनौट गरि ४१ घर परिवारलाई बाख्रा वितरण गरिएको भट्टराईले जानकारी दिए । उनका अनुसार प्रति परिवार ३ वटाका दरले बाख्रा वितरण गरिएको छ । विपन्न परिवारको आय स्तर उकास्ने उदेश्यले बाख्रा वितरण गरिएको बताउदै अपनत्व हुन जरुरी रहेको भट्टराईको भनाई छ । उनले प्रतिफल निकाल्ने गरि व्यवसाय संचालन गर्न कृषकहरुलाई आग्रह गरे ।


आठवीस नगरपालिकाको राकमकर्णालीमा आयोजित बाख्रा वितरण कार्यक्रममा बोल्दै आठवीस नगरपालिकाका उप–प्रमुख दिपा बोहोराले विपन्न समुदायको आर्थीक अवस्थामा सुधार गर्ने उदेश्य राखेर वितरण गरिएको बाख्रा व्यवसायीक रुपमा संचालन गर्न कृषकहरुलाई आग्रह गरिन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराईले बाख्रा उपहार पाएका कृषकहरुले रोजगारीको अबसरको रुपमा लिन सके आत्मनिर्भर हुनुका साथै आर्थीक स्रोत बृद्धि हुने धारणा राखे ।
यस्तै पंचदेवल विनायक नगरपालिकाका ४ का वडा सदस्य मान बहादुर वडुवालले व्यवसायिक रुपमा बाख्रा पालन गर्न कृषकहरुलाई आग्रह गरे । उनले बाख्रा पालनका लागि व्यवस्थीत खोर निर्माण गर्न आग्रह गर्दै बाख्रा पालन व्यवसाय विपन्न परिवारको जिविकोपार्जनको माध्ययम बन्न सक्ने धारणा राखे ।
आठवीस नगरपालिका ८ का वडा अध्यक्ष मुक्ती उपाध्यायले बाख्रा पालन आयआर्जनमुलक व्यवसाय भएको बताउदै व्यवसायिक बाख्रा पालन गरि आम्दानीको स्रोत बृद्धि गर्न कृषकहरुलाई आग्रह गरेका छन् ।
आठवीस र पंचदेवल विनायक नगरपालिकाको समन्वयमा परियोजनाले बाख्रा दिएपछि खुसी हुँदै पंचदेवल विनायक नगरपालिका ४ का स्थानीय कृषक नानी शाहीले भनिन् “अब बाख्रा पालनबाट मनग्य आम्दानी गर्ने बाटो खुलेको छ ।” सोहि ठाउँकी कृषक विष्णा भुलले बाख्रा पालन समूहका आफु जस्तै अन्य विपन्न परिवारको आर्थिक स्तिथि सुधार गर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । विपन्न परिवारलाई प्रदान गरिएको बाख्राको विमा समेत गरिएको छ । कुनै कारणले बाख्रा मरेमा कृषकहरुले बाख्राको विमा रकम पाउनेछन् ।

प्रतिक्रिया