जनप्रतिनिधिकै घरमा छाउगोठ

जनप्रतिनिधिकै घरमा छाउगोठ

भदौ ८, सुर्खेत – सुर्खेत जिल्लामा केही वर्ष पहिले छाउगोठ भत्काउने, उनीहरूलाई घरमा बस्न लगाउने अभियान नै चल्यो । उतिबेला केही महिला घरमा पनि बसे । विभिन्न एनजीओले आफूहरूले छाउगोठमुक्त अभियानमा सफलता पाएको भनेर विभिन्न विवरण सार्वजनिक पनि गरे । तर, अहिले फेरि उही अवस्थामा पश्चिम सुर्खेतका स्थानीयहरू फर्केका छन् । अर्थात् हरेकका घरमा छाउगोठ बनाइएका छन् । छाउगोठ नबनाएकाले पनि घरको भूइँतला ९जहाँ गाईवस्तु राति बाँधेर राखिन्छ० मा छाउ बार्न थालेको पाइएको हो ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको घरमा अलग्गै छाउगोठ बनाइएको छ । उनीहरूले अन्य जनतालाई छाउगोठ नबनाउन सुझाव दिनुपर्नेमा जनप्रतिनिधि नै छाउगोठ बनाउन अग्रसर भएपछि त्यही पाठ अरु स्थानीयले सिक्न थालेका हुन् ।

पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारीले घरमा छाउगोठ निर्माण गरेका छन् । उनी निर्वाचित वडा सदस्य हुन् । सामाजिक विकृति र कुरीति अन्त्यका लागि अगुवाइ गर्नुपर्ने वडा सदस्य भण्डारीकै घरमा छाउ बार्ने परम्परा कायमै रहेको छ ।

स्थानीय सरकार गठन भएपछि गत वर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको भएपनि समाजमा रुढीवादी सोच फेरि हावी हुँदै गएको वडा सदस्य भण्डारीको भनाई छ । गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साँटो झन्झन् बढ्दै गएको देखिन्छ ।

‘हामीले छाउगोठमा बस्दा ज्यानको खतरा हुन्छ, बलात्कारको पीडामा पर्न सकिन्छ भनेर नगरको तर्फबाट अभियान नचलाएका पनि होइनौं,’ उनले भने, ‘तर, समाजका अघि ती अभियान सबै निरीह भए । छाउगोठ घट्नुको साटो झन् बढ्न थाले ।’

२०७१ सालमा साविकको तातापानी गाविसलाई छाउपडीमुक्त घोषणा गरिएको थियो । छाउपडीमुक्त घोषणा गर्नुअघि गाउँभरिका १ सय ९२ छाउगोठ भत्काइए । अहिले साविकको तातापानी गाविस पुरानै अवस्थामा फर्केको छ ।

कार्यवाहक वडाध्यक्ष नयनसिंह विकले २०७१ सालमा सबै छाउगोठ भत्काएपनि फेरि बनाउने क्रम शुरू भएको बताए । उनले लोकान्तरसँग भने, ‘देउता रिसाउने डरले अघिल्लो पुस्ता घरमा बस्न मान्दैन् ।’ विकले घरमा छाउगोठ बनाएका छैनन् । तर, महिनावारी भएको बेला उनका घरमा महिला सदस्य अर्काको छाउगोठमा जान्छन् । उनले अधिकांश जनप्रतिनिधिका घरमै छाउगोठ रहेको बताए ।

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापाले नगरले छाउपडी अन्त्य गर्न विभिन्न अभियान चलाएपनि देउता रिसाउने डरले महिलाहरू छाउगोठमा बस्ने गरेको बताए । ‘धार्मिक कारणले मात्रै मानिस छाउगोठमा बस्न बाध्य भएका छन् । उनीहरूको धारणामा परिवर्तन ल्याउन सकिएको छैन,’ उनले भने, ‘त्यसैले किशोरी र महिलालाई महिनावारी भएको बेला घरमै बसाल्नका लागि धामीझाँक्रीलाई अघाडि सारेका हौं ।’

नगरपालिकाले टोल र वडास्तरबाट छाउपडीमुक्त अभियानको पनि शुरूवात गरेको छ । ‘नगरपालिकालाई छाउपडी र छुवाछुतमुक्त बनाउन टोल र वडास्तरबाटै अभियानको थालनी गर्दैछौं,’ उनले भने, ‘१ वर्षभित्र पञ्चपुरी नगरपालिकालाई छाउपडी र छुवाछुतमुक्त बनाउने लक्ष्य लिएका छौं ।’ मेयर थापाले नीति तथा कार्यक्रम बनाएर बजेट विनियोजन गरिएको बताए ।

प्रतिक्रिया