दैलेखका ब्राह्मणले भने-‘यो वर्ष रक्षाबन्धन कसैलाई बाँध्दैनौ’

दैलेखका ब्राह्मणले भने-‘यो वर्ष रक्षाबन्धन कसैलाई बाँध्दैनौ’

हिक्मत /अमर 
दैलेख ८ भदौ :
२०६५ मा रक्षा बन्धनको धागो बाध्न इन्कार गरिएको भगवतीमाई गाउँपालिका रुमको घटना होस् या छोराले अन्तरजातीय विवाह गर्दा २०६८ सालमा नौमूले गाउँपालिकाको तोलीका सेते दमाईको हत्या भएको वा २०६६ मा अन्तरजातीय विवाह गर्दा जगन्नाथको अमृत बिक माथि कुटपिट तथा साठी हजार जरिवाना गरिएका घटनामा अदालतले छुवाछूत ठहर गर्दै दलितहरुलाई न्याय दिलाएको थियो । त्यतिबेला यी घटनाहरुमा जातीय विभेद मान्न नसकिने भनी कतिपय गैरदलित सामाजिक अगुवाहरुले बिश्लेषण गरेका थिए ।
त्यस यता एक पछि अर्को गर्दै निरन्तर जातिय विभेदका घटनाहरु घटे । २०७४ माघ १० गते गुन्द्री छोएको निहँुमा महाबु गाउँपालिका–२ डुंग्रीका ५५ वर्षीय पहलबहादुर कामी मरणासन्न हुनेगरि कुटपिटमा परे । त्यसको लगत्तै दुल्लू नपा–१० गमौडीकी ३५ वर्षीया बालकुमारी नेपाली माथि सोही ठाउँका २८ वर्षीय जीतबहादुर सिंह र २८ वर्षकै उपेन्द्र बहादुर सिंहले विभेद गरे । त्यस पछि पुःन चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौं भन्दै विद्यार्थीले तालाबन्दी गरे ।
देशभर जातिय छुवाछुतको विषयमा चर्को बहस भइरहेका बेला दैलेखमा भने एक पछि अर्को गर्दै जातिय छुवाछुतका घटना घटेका छन् । पछिल्लो समय जातिय विभेदका घटनाहरु सामान्य रुपमा कम भइरहेका बेला बिहिवार अप्रत्याशित घटना दोहोरियो । दैलेखमा रहेको स्थानीय रेडियो धु्रवतारा एफ.एम.बाट प्रशारित सूचनाले एक पटक सबैलाई अचम्म पा¥यो । त्यस अघि दिइएको एक अन्तरवार्ताले दैलेखमा नागरिकहरुलाई हलचल नै मच्चायो ।
यस्तो छ – रेडियोमा प्राशारित सूचना :
हालै लागु भएको नयाँ मुलुकी ऐनमा ब्राह्मणहरुको स्वतन्त्रता माथी कुनै पनि कुरा उल्लेख नगरिएकोले परम्परामा आँच आउने सम्भावना देखिएकाले भाद्र ७ गते बाट कुनै पनि शुभ–अशुभ कर्मकाण्डको काममा कुनै पनि एजमानहरुको घरमा ब्रामणहरु नजाने कुरा सर्वसम्मत निणर्य गरिएको छ । – ब्राह्मण समाज दैलेख ।
कसैले जातीय विभेद गरेमा २५ हजार रुपैंयाँसम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ ले व्यवस्था गरेको छ । उक्त कानूनले कुनै सेवा वा बस्तु प्रयोग तथा उपयोग गर्न सार्वजनिक वा निजी स्थानमा समेत रोक्न वा प्रतिबन्ध लगाउन नपाइने उल्लेख गरेको छ । कानूनमा त्यस्ता व्यवस्था भए पनि दैलेखमा भने ब्राम्हण समाज नामक संस्थाले दलितहरुलाई समेत रक्षाबन्धनको धागो बाँध्न पर्ने अवस्थामा यो वर्ष कसैलाई रक्षाबन्धन नबाँध्ने भनी रेडियोबाट सार्वजनिक सूचना प्रसारण गरेको छ ।
सुचना प्रशारण हुनु भन्दा अगावै सोहि रेडियोमा अन्तरवार्ता दिदै ब्राह्मण समाजका क्षेत्रिय सदस्य आत्माप्रसाद उपाध्यायले राज्य अपहेलित गरेका कारण आफुहरुले दैलेखमा जुनसुकै ठाउँमा हुने शुभ–अशुभ कर्मकाण्डमा सहभागि नहुने निणर्य गरिएको सुनाउनुभयो । उहाँले भन्नु भयो “राज्यले गर्नुुपर्ने सुविधा केहि पनि छैन्, धर्मको रक्षा गर्न कर्मकाण्ड गरिरहेका थियौ, विगतको बर्षमा दलितलाई रक्षाबन्धन नबाध्दाँ ब्राह्मणहरु दण्डित भएका छन्, रक्षाबन्धन नजिकिएको, हामी कसैलाई पनि रक्षा बन्धन बाँध्दैनौ ।”
परम्परागत रुपमा आफ्ना ऐजमानहरुलाई बाध्ने गरेका बताउदै उपाध्यायले अरुलाई नबाध्ने बताउनुभयो । “यहाँ सड्यन्त्र गरि हामीले रक्षाबन्धन नबाध्ने व्यक्तिहरुलाई रक्षा बन्धन बाध्नुपर्ने बाध्य गराउन लागिएको छ, उहाँले भन्नु भयो । दलित, जनजातीहरुलाई रक्षाबन्धन बाध्न समस्या हो ? भन्ने पश्नमा उहाँले भन्नु भयो “पहिला देखि नै नबाध्ने गरेकाहरुलाई मात्रै बाध्थ्यौ, परापुर्वकाल देखि हाम्रा निश्चित यजमानहरु छन्, उनिहरुको घरमा गएर रक्षा बन्धन बाध्छौ, अरुलाई बाध्दैनौ ।” उहाँले नारायण नगरपालिका र महावु गाउँपालिकाका ब्राह्मणहरु भेला भएर यस्तो निणर्य गरिएको बताउनुभयो । आफ्ना यजमानहरुले राज्यसंग ब्राह्मणहरुको माग राखिदिनुपर्ने उहाँको भनाई छ ।
सूचनामा नयाँ ऐनमा ब्राम्हणहरुको अधिकार उल्लेख नगरेको कारण यो वर्ष भोली आइतबार परेको रक्षाबन्धन जिल्लाभर कसैलाई नबाँध्ने, मृत्यु वा विवाहवारी, पूजाआजा समेत सबै धार्मिक कार्य शुक्रवारदेखि रोकिएको जनाइएको छ ।
तागाधारीलाई जनै लगाई दिने र रक्षाबन्धनको धागो बाँध्ने गरेकोमा दलित समुदायबाट समेत हिन्दू भएर पनि आफूहरुलाई दैलेखका पण्डितहरुले विभेद गरेको भनी सार्वजनिक छलफलको विषय बनाएको सन्दर्भलाई लिएर पण्डितहरुले धार्मिक कार्य रोकेका हुन् ।
रक्षाबन्धनको धागो बाँध्दै जाने क्रममा बाटोमा दलितहरुले समेत हामीलाई पनि बाँधी दिनुस भनी आग्रह गर्न सक्छन र नबाँध्ने हो भने मुद्दा खेप्नुपर्ने सम्भावना देखिएको कारण यो वर्ष रक्षाबन्धन नबाँध्ने, मृत्यु वा विवाहवारी, आजापूजा समेत सबै धार्मिक कार्य रोकिएको ब्राम्हण समाजका क्षेत्रीय सदस्य उपाध्यायले टिप्पणी गर्नुभयो । उपाध्यायले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हरेक दिन बिहान मन्दिरमा पूजाअर्चना गर्दै आएका पण्डितले समेत पूजाअर्चना रोक लगाएको बताउनुभयो । स्थानीय रेडियोमा अन्तरवार्ता दिँदै उपाध्यायले ‘हामीले सबै धार्मिक कार्य रोकेका छौँ, क्षेत्रीयहरुले आन्दोलन गर्नुपर्छ’ भनी उक्साउनुभएको छ ।
यस्तो थियो कारण
एक महिना अघि दैलेखमा सरुवा भई आउनु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटासंग दैलेखमा क्रियाशित दलित अगुवाहरुले भेटघाट गरि जिल्लामा पण्डितहरुले दलितहरुलाई रक्षाबन्दनको धागो नबाध्ने गरेको जानकारी गराएका थिए । त्यसैगरि दलित अगुवाहरुले दलितको घरमा नाग नटास्ने गरेको समस्या दर्शाएको विषयमा केही दिन अघि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले दलितहरुलाई विभेदजन्य गरे मुद्दा चल्न सक्ने भनी पण्डितहरुलाई सुझाव दिनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारीको सुझावपछि पण्डितहरुको ब्राम्हण समाज नामको संस्थाले निर्णय गरी क्षेत्री बाहुनको घरमा समेत विवाह वा मान्छे मर्दा समेत गरिने कर्मकाण्डमा सहभागी नहुने भनी रेडियोबाट सार्वजनिक सूचना जारी गरेको छ ।
छोराले अन्तरजातीय विवाह गर्दा सेते दमाई मारिएको घटना, अमृत बिकले ठकुरीकी छोरीसंग अन्तरजातीय विवाह गर्दा केटीलाई खोसेर ठकुरी थरकै अर्को केटासंग विवाह गराएका र अमृत बिकबाट २ वटा खसी र ६० हजार जरिवाना गराएको अघिल्ला घटनाहरुले पनि दलित समुदाय माथि दैलेखमा अत्यन्तै विभेद छ भन्ने पुष्टी गरी सकेको दलित अगगुवा अमर सुनार बताउनुहुन्छ ।
यो पटक ब्राम्हण समाजले रेडियोबाट सार्वजनिक सूचना प्रसार गरेर जातीय विभेद गर्न पाऊ भनी कानूनलाई चुनौती दिन खोजेको दैलेखका दलित अगुवा बखत बहादुर नेपालीले बताउनु भयो । दलितहरुले आफू हिन्दू भएर पनि आत्मसम्मान नपाएको भन्ने विषयले सिर्जना भएको पछिल्लो घटनाले दलित अगुवाहरुले असुरक्षा महसुस गरेको दलित अधिकारको क्षेत्रमा काम गर्नै आइका प्रेम भुर्तेलले बताउनुभयो ।
यस घटनाबारे दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा दैलेखमा पण्डित ब्राह्मणहरुलाई यस अघि नै बोलाएर जातिय विभेद गर्न मिल्दैन र जातिय विभेद गरेको पाइएमा पिडितको मुद्धा दिन सक्छ, न्यायिक निकायहरुले कार्बाही गर्न सक्छ भन्ने कुराहरु जानकारी गराइसकेको बताउनुभयो । उहाँले पण्डित ब्राह्मणहरु कानुनी विषयमा पनि जानकारी गराएको बताउदै यस्तो समस्या समाधानका लागि जिल्लामा राजनितिक दल, नागरिक समाज, निर्वाचित जनप्रतिनीधिहरुसंग छलफल गरि समस्या समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया