मालिका मन्दिरमा मेला : बर मागे,मनोकामना पुरा हुने धार्मिक बिश्वास

मालिका मन्दिरमा मेला : बर मागे,मनोकामना पुरा हुने धार्मिक बिश्वास

दुल्लु, दैलेख ९ भदौ (ज्वाला संदेश ) :
जिल्लाको दुल्लु नगरपालिका १३ स्थित मालिका मन्दिरमा मेला सुरु भएको छ । उक्त मन्दिरमा विगतका बर्षहरुमा समेत मेला लाग्दै आएको थियो । प्रत्येक बर्ष मालिके चतुदर्शि अर्थात जनै पुर्णिमाको अघिल्लो दिन लाग्ने मेला यस बर्ष लाग्ने भएको हो । मेलामा दैलेख, अछाम लगाएतका जिल्लाका भक्तजनहरु आउने गर्दछन् । प्रत्येक वर्ष निरन्तर लाग्ने मेलामा त्रयोदशीको दिन श्रीस्थानबाट माई मालिका मन्दिरमा लगिने र त्यसको भोलीपल्ट मालिका मन्दिरमा राख्ने गरिन्छ ।

चतुदर्शीको दिनमा पुजापाठ सकिए लगतै मेलामा जनै पूर्णिमाको दिन विहान सम्म रातभर देउडा खेल, भजनकिर्तन, नाचगान गरेर रात बिताउने चलन छ । दिन भर वर्त बसेर मन्दिरमा पूजापाठ गरेमा मनोकाँक्षा पूरा हुने धार्मीक विश्वास रहदै आएको छ ।
त्रयोदशीको रातभर भक्तजनहरुले भजन किर्तन गाउँदै रात बिताउने गर्दछन् । आफुले स्वच्छ मन बनाएर बर मागेमा मनको इक्षा पुरा हुने धार्मिक बिश्वास रहेको छ । जनैपूर्णीमाको चतुरदर्शी देखि पुर्णीमाको दिनसम्म भव्य मेला लाग्नुको साथै पुजा आरधना गरिने मालिका मन्दीरमा निसन्तानहरुले सन्तानको बर माग्ने पुरानो चलन रही आएको छ ।मालिका मन्दीरमा पुगेर भाकल गरेपछि सन्तान प्राप्ती हुनुको साथै,धनसम्पती, शिक्षा, दीक्षा प्राप्ती हुने जनबिश्वास रहेको मन्दिरका पुजारी पदम बहादुर शाहीले बताउनुभयो ।
मालिका मनिदरमा पुजा पाठ गर्नको लागि ब्राह्मणहरुको आवश्यक पर्ने भएकाले अरु ब्राह्मणहरुले पुजा गरेमा मृत्यु हुने र स्थानीय रनुखाना भन्ने स्थानबाट छारे मर्छक भनेर लाटो छारेलाई पुजा पाठ गर्न पठाएको र लाटो ब्राह्मणले त्यँहा बेद पढेको धार्मिक बिश्वास रहेको छ । त्यसको फलस्वरुप मालिका मन्दिरको पुजा रनुखानाका रिजाल परिवारका ब्राह्मणहरुले गर्ने गर्दछन् । मेला भर्न जाने भक्तजनहरुले आफ्नो बारीको नयाँ बालीहरु मकै, अम्बा,अमिलो, सुन्तला, दुध, घिउ लिएर चढाउने गर्दछन । जिल्लाको पञ्चकोशी क्षेत्रको तिर्थ आउने तिर्थालुले मालिका मन्दिरमा गएर दर्शन नगरेमा तिर्थ पुरा नहुने धार्मिक बिश्वास छ । मालिका मन्दिर देखी पञ्चकोशी क्षेत्रहरुमा पादुका, श्रीस्थान, धुलेश्वर, तल्लो डुङ्गेश्वर र नाविस्थानको दुरि बराबर रहेको पुजारी शाहीले बताउनुभयो ।
दुल्लू नगरपालिकाका धार्मीक, पुरातात्विक, सास्कृतिक एंव ऐतिहासिक सम्भावना बोकेको क्षेत्र मध्ये मालिका मन्दिर महत्वपूर्ण धार्मिक र पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएकोले दुल्लू नगरपालिकाले यसको संरक्षण्का लागि कुनै कसर बाँकी नराख्ने दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । मालिका मन्दिरको डिपआर को रिर्पाेट तयार भइसकेकोले यसको विकासको काम तत्काल अघि बढ्ने प्रमुख भण्डारीले बताए । मालिका मन्दिरको दर्शन गर्न जाने भक्तजनहरुलाई सहज होस भन्ने उदेश्यले यसै वर्ष मात्र दुल्लू नगरपालिकाले मालिका मन्दिरमा खाने पानी र शौचालयको निर्माण गरेको प्रमुख भण्डारीको भनाई छ ।

प्रतिक्रिया