रोपाई जात्रा मार्फत महिला अधिकारको खोजी (फोटोफिचर)

रोपाई जात्रा मार्फत महिला अधिकारको खोजी (फोटोफिचर)

दैलेख १२ भदौ :
पछिल्लो समय मुलुकका विभिन्न भेगमा बलात्कारका घटनाहरु बढ्दै गएको र राज्यले बलात्कारीहरु माथि कारवार्ही गर्न नसकेको भन्दै दैलेखका युवाहरुले रोपाइ जात्रा मार्फत प्रर्दशन गरेका छन् । जिल्लामा युवाहरुले दुई सय बर्ष पुरानो संस्कृतिको रुपमा रहेको एक महिना लामो बर्षे मेलालाई निरन्तरता दिदै रोपाई जात्रा मार्फत महिला अधिकार र न्यायको खोजी गरेका हुन् ।

मंगलवार दैलेखमा मनाइएको रोपाई जात्रामा जिल्लाका युवाहरुले नांगो शरिरमा “बलात्कारिलाई फासी दे, महिला हाम्रा सम्मान हुन” जस्ता नाराहरु लेखेर प्रर्दशन गरेका हुन् ।जिल्लाका युवाहरुले बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न जात्रा मार्फत सचेतनामुलक कार्यक्रम गरेको स्थानीय मनोज भण्डारीले जानकारी दिनुभयो ।

दैलेख सहित देशभरी बलात्कार र महिला हिंसाका घटनाहरु बढ्दै गएको छ, भण्डारीले भन्नु भयो “यस्ता घटनाहरुलाई न्यूनिकरण गर्न जात्राको माध्ययमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न खोजेका हौ ।”महिला अधिकार र न्यायको खोजी गर्दै दैलेख जिल्लाका स्थानीय बासीहरुले विगतको भन्दा फरक शैलीबाट रोपाई जात्रा मनाएका छन् । महिला अधिकार र न्यायको खोजी संगै जात्रामा मान्छे नै गोरु जस्तै भएर जुवामा नारिएर सडकमा देखिदाँ असारको रोपाईको झ–झल्को देख्न सकिन्थ्यो ।

बाजा गाजा र रोपार, बाउसे संगै असारे भाकामा स्थानीयले रोपाई जात्रा मनाएका छन् । केही मानिस बोरा लगाएर सडकमा आए भने कोही विदेशी नागरिक जस्तै भेषमा सजिएका थिए । जात्रामा सरदार सरदारनी बनेर जात्रालाई रोमाञ्चक बनाइएको थियो । कला र सस्कृतिले भरिपूर्ण दैलेख सदरमुकाममा वर्षेमेलाले अझै रौनक बढाएको छ । यस वर्षपनि विभिन्न क्लबहरुको अगुवाईमा रोपाई जात्रा मनाइएको हो ।

प्रतिक्रिया