राउटे समुदायमा पहिलो पटक बाल दिवस, बालबालिकालाई कपडा वितरण

राउटे समुदायमा पहिलो पटक बाल दिवस, बालबालिकालाई कपडा वितरण

दैलेख भदाै २९ ।

कर्णालीको गहनाको रुपमा रहेको राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ । फिरन्ते जिवनयापन गर्दै आएका लोपोन्मुख राउटे बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको हो । यहाँको गुरासँ गाउँपालिका ८ को पाखापानीमा बसोबास गर्दै आएका समुदायको बस्तीमै बाल दिवस मनाइएको हो ।
जिल्ला बाल कल्याण समिति दैलेख, गुरासँ गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सयुक्त प्रयासमा राउटे बालबालिकाहरुले पहिलो पटक बाल दिवस मनाएका हुन् ।
बाल दिवसको अबसरमा आयोजित कार्यक्रममा जिल्ला बाल कल्याण समिति दैलेखका अध्यक्ष एंव दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले राउटे समुदायका बालबालिका र उनीहरुका अभिभावकहरुलाई कपडा वितरण गर्नुभएको छ ।

राउटे सयस राउटे समुदाय बस्दै आएको गुराँस गाउँपालिका–८ पाखापानीमा पुगेर सामाजिक सेवा केन्द्र (सोसेक) ले उपलब्ध गराएको लगाउने कपडा तथा ओछ्याउने म्याट दिइएको हो ।
समुदायका ३९ बालक र ३० बालिका गरि ६९ बालबालिकालाई कपडा वितरण गरिएको हो । यस्तै समुदायका ३७ जना महिलाहरुलाई पनि कपडा वितरण गरिएको छ ।
सोहि अबसरमा गुराँस गाउँपालिकाले राउटे समुदायका १ सय ५३ जनालाई प्रति व्यक्ति २ हजारका दरले भदौ महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष खेमराज ओलीले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभयो । गुरासँ गाउँपालिकाले गत साउन महिना देखि प्रत्येक महिना सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । यसअघि प्रत्येक चौमासिक अवधीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको थियो ।
राउटे समुदायका बालबालिकाकालाई कपडा वितरण गरेपछि दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले राउटे समुदायको स्वास्थ्य अवस्था सुधार गर्दै आवश्यक सहयोग गरेर जंगली जीवनबाट सामान्य जीवनयापनमा फर्काउनुपर्ने बताउनुभयो ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले दुई महिना अघि मात्र राउटे समुदायलाई हरेक व्यक्तिको फोटो सहित परिचयपत्र दिएर उनीहरुको तथ्यांक व्यवस्थापनबाट राउटेहरुको जीवनस्तर सुधारको काम सुरु भएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायका बाललिकाहरुको अवस्थालाई मध्यनजर गर्दै बाल दिवसको अबसर पारि कपडा वितरण गरिएको बताउनुभयो ।
गुराँस गाउँपालिकाले नागरिक रहने गरी परिचयपत्र दिएको र उनीहरु जहाँ गए पनि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा दिने जनाएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) मार्फत राउटे समुदायको स्वास्थ्य सेवा, सचेतना अभिबृद्धि लगायतका क्षेत्रमा काम गर्न राउटे परियोजना सञ्चालनमा छ । परियोजनाले राउटे समुदायमा उपचार, स्वास्थ्य तथा सरसफाईका साथै अनौपचारिक शिक्षाका कार्यक्रम संचालन गर्दै आएकोछ ।
वाल दिवशको अवसरमा राउटे समुदायका वालवालिकाले उनिहरुको सस्कृती झल्किने नाच देखाएका थिए ।

प्रतिक्रिया