पर्यटन क्षेत्रका श्रमिकले गरे आन्दोलनको घोषणा

पर्यटन क्षेत्रका श्रमिकले गरे आन्दोलनको घोषणा

काठमाडौं, ११ असोज ।
सरकारले ३९ औं विश्व पर्यटन दिवस धुमधामका साथ मनाई मनाईरहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । विहिवार प्रेस विज्ञप्ति निकालेर यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रमा रहेको सिण्डिकेटको विरुद्धमा आन्दोलनको घोषणा गरेका हुन् ।

अन्नपूर्ण तथा मनाश्लु क्षेत्रमा होटल व्यवसायीको अगुवाईमा विभिन्न स्थानीय क्लब लगायत स्थानीय सरकार समेतको मिलेमतोमा सिन्डिकेट लागु गरी श्रमिक माथि अन्याय पार्ने काम भएको यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुली र अखिल नेपाल पर्यटन मजदुर संघका अध्यक्ष रामचन्द्र ढुंगाना द्धारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पर्यटन श्रमिकहरु माथि भएको अन्यायलाई मुखदर्शक भएर हेरेर बस्न नसकिने भन्दै पर्यटन मजदुर संगठनहरुले उक्त चेतावनी दिएका हुन् ।

पर्यटन मजदुरहरुले केही होटल संचालकले केही ब्यक्ति राखेर अन्नपूर्ण र मनाश्लु पदमार्गमा श्रमिकले खाना खाए पनि वान खाए पनि २ सय रुपैंया लिएर श्रमिक माथि ठगी गर्ने र सिन्डिकेट लगाउने कार्य भईरहेको भन्दै संयुक्त रुपमा विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटन मजदुर संगठनहरुले यस विषयमा चासो दिई सिण्डिकेट लागु गर्न उदृत व्यवसायी एवं सरोकार पक्षलाई तुरुन्तै कारबाही गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा वन तथा वातावरण मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकार बीच आपसी समन्वय गरी श्रमिक संगठन बीच वार्ता र सम्वाद मार्फत यथासिघ्र समस्या समाधान गरियोस् भनी माग गरिएको छ । तत्काल समस्याको समाधान नभएमा १४ गतेदेखि आन्दोलन थाल्ने र असोज २२ गते सम्ममा पनि माग पुरा नभएमा ट्रेकिङ पदमार्ग बन्द गर्ने र विदेशी एजेन्सिमा पत्रचार गरी पर्यटन व्यवसायीका संगठनहरु टान, एक्याप, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन कार्यालय लगायत सरोकार क्षेत्रका कार्यालयमा धर्नाका साथै तालाबन्दी गरिदिने उनीहरुको चेतावनी रहेको छ ।

प्रतिक्रिया