शैक्षिक सामग्री र पोषाक पाएपछि सुस्तश्रवण तथा बहिरा श्रोत कक्षामा खुसीयाली

शैक्षिक सामग्री र पोषाक पाएपछि सुस्तश्रवण तथा बहिरा श्रोत कक्षामा खुसीयाली

दैलेख – यहाँको नारायण नगरपालिका वडा नं. ६ मा रहेको रेडक्रस माध्यामिक विद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा श्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित विद्यालय पोषाक प्रदान गरिएको छ ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा परियोजनाले विद्यालय पोषाक र शैक्षिक सामग्री प्रदान गरेको हो । परियोजनाले सुस्त श्रवण तथा बहिरा श्रोत कक्षामा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरेको हो ।

परियोजनाले प्रत्येक बालबालिकालाई विद्यालय पोषाक, झोला, कापी, कलम, ज्यामिती बक्स लगाएतका सामग्री प्रदान गरेको परियोजनाका शिक्षा अधिकृत मोहन पौडेलले जानकारी दिए । विद्यालय पोषाक र शैक्षिक सामग्री पाएपछि सांकेतिक भाषामा आफुहरु खुसी भएको बालबालिकाहरुले प्रतिक्रिया दिएका थिए ।

विद्यालयका स्रोत शिक्षक लक्ष्मी प्रसाद रेग्मीले श्रवण तथा बहिरा बालबालिकाहरुलाई शैक्षिक सामग्री र विद्यालय पोषाक उपलब्ध गराइदिने सोसेक नेपाललाई धन्यवाद दिए । बालबालिकाहरुलाई पोषाक र शैक्षिक सामग्री लिएर परियोजनाका शिक्षा अधिकृत मोहन पौडेल, पत्रकार हिक्मत नेपाली र परियोाजनाका अपांगता स्रोत व्यक्ति रुपा खड्का पुगेका थिए ।

प्रतिक्रिया